स्वामी आनन्द अरुण : ओशोको धारणा छ– जसरी आफ्नै गोत्रमा विवाह गर्न वर्जित छ, त्यस्तै आफ्नो जाति र क्षेत्रमा पनि विवाहलाई सीमित राख्नुहुन्न । अन्तरजातीय र अन्तर्देशीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ । जब एकै परिवारमा विभिन्न देश र जातिका मानिसहरू एकसाथ बस्न थाल्छन्, तब मात्र हामी क्षूद्र जातीयता र राष्ट्रियताको संकीर्णताबाट बाहिर निस्कन सक्छौं ।
आफ्नै गोत्रका बीच विवाह नचलाउनुका पछाडि वैज्ञानिक कारण छ । वैज्ञानिकहरू भन्छन्– जिनहरू जति टाढाका हुन्छन्, त्यसले त्यति नै फरक किसिमका अनुभवहरू आफूभित्र सँगालेको हुन्छ । त्यसकारण भौगोलिक तथा सांस्कृतिक रूपले भिन्न परिस्थितिबाट आएका आमा र बुबाबाट पैदा भएका सन्तानमा आउने जिनमा समाहित विविध अनुभवका कारण ती सन्तानहरू प्रतिभाशाली हुन्छन् र फरक तथा विषम सामाजिक परिस्थितिमा बाँच्न बढी सक्षम हुन्छन् ।
अहिले संसारभर नै जुन धार्मिक, जातीय उन्माद र हिंसा, क्षेत्रीय र भाषागत पृथकतावादी आगो सल्किन थालेको छ, त्यसलाई प्रेमपूर्वक विसर्जन गर्ने एक उपाय अन्तरजातीय विवाह पनि हो । बीसौं शताब्दीका अर्का क्रान्तिकारी द्रष्टा कृष्णमूर्तिको विवाहप्रतिको धारणा पनि ओशोको जस्तै छ । जति म बुद्धपुरुषहरूको अध्ययन गरिरहेको छु, के भेटाउँछु भने उनीहरूको धारणामा एक प्रकारको आन्तरिक सामञ्जस्य हुन्छ र एउटै अन्तर्धारा बहिरहेको हुन्छ । यस्तो किन हुन्छ भने बुद्धपुरुषहरूको यस्ता अभिव्यक्ति अमनी स्थिति (नो माइन्ड) बाट पैदा हुन्छ । अमनी स्थिति सामूहिक अतिचेतनको अवस्था हो । यस्तो स्थितिमा ईश्वरीय धारणाको अवतरण हुन्छ, व्यक्तिगत हुँदैन । त्यसकारण गहिरो रूपमा हेर्यो भने बुद्ध, कृष्ण,जिसस, ओशो, कृष्णमूर्ति, रमण र शिवपुरी बाबाजस्ता ईश्वरीय चेतनामा पुगेका व्यक्तिको धारणामा एक आन्तरिक समरूपता पाइन्छ । यस विपरीत बुद्धिबाट मात्रै विश्लेषण गर्ने विचारकहरूको विचारमा व्यक्तिवादिता र अहंभाव प्रबल हुन्छ किनभने त्यो नितान्त द्वन्द्वग्रस्त मनबाट उब्जिएको हुन्छ ।
मनबाट पैदा भएका एउटै व्यक्तिका विचार पनि विभिन्न परस्थितिमा भिन्न भिन्न हुन्छन् । त्यसकारण मनको सीमामा रहेर गरिएका विचारका कारणले नै संसारमा यत्रो अशान्ति छ, हिंसा र द्वन्द्व छ । त्यसकारण मलाई अब यो स्पष्ट हुँदै आइरहेको छ कि व्यक्तिगत बुद्धिवादबाट पैदा भएका सिद्धान्तलाई लिएर जस्तोसुकै क्रान्ति हामी गरौं, त्यो असफल नै भइरहन्छ । प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ र प्रत्येक परिवर्तनले नयाँ–नयाँ विवाद र द्वन्द्व उब्जाउँछ । यसको समाधान के त ? जो मनको सीमाको पार गइसके, जबसम्म हामी उनीहरूलाई सुन्दैनौं र स्वयंलाई व्यक्तिगत पूर्वाग्रहहरूबाट मुक्त गर्दैनौं, तबसम्म संसारमा हिंसा र द्वन्द्व रोकिँदैन, कुनै न कुनै रूपमा यो चलिरहन्छ । तबसम्म सामाजिक न्याय, शान्ति, स्थिरता र शोषणरहित समाजको परिकल्पना बडो मनमोहक धारणा त हुनसक्छ, यथार्थमा परिणत हुन सक्दैन ।
विवाहसम्बन्धी जे. कृष्णमूर्तिका धारणाहरू पनि ओशोका जतिकै रोचक छन् । ‘२०–२५ वर्षका सर्वथा एक–अर्काप्रति अपरिचित र भिन्न रुचि भएका युवायुवतीलाई ल्याएर अब जीवनन्तसम्म सँगै बस, एउटै खाटमा सुत भनी जब हामी बाध्य पारिदिन्छौं भने यो अस्वाभाविक प्रक्रिया हुन जान्छ ।’
युवावस्थामा कामवासनाको वेग प्रबल हुन्छ । त्यसलाई नियमित र अनुशासित गर्नलाई विवाहको संस्था खडा भएको हो । विवाहमा कामका लागि यौन सदा आपूर्ति भइरहन्छ र त्यो एउटा आदत बन्न जान्छ । कृष्णमूर्ति भन्छन्, ‘प्रत्येक आदतले बुद्धिलाई विखण्डन गर्छ र प्रज्ञालाई मार्छ । त्यसकारण जुन वर्गको सुनिश्चित आय हुन्छ, त्यहाँ प्रखर प्रतिभा पैदा हुँदैन । त्यसैगरी जब सुनिश्चित यौन हुन्छ र एक नियमित प्रक्रिया हुन जान्छ र त्यसले पनि दिक्कलाग्दो परिवेश पैदा गर्छ ।’
तर अहिले जुन सामाजिक व्यवस्था छ त्यसमा विवाहको कुनै विकल्प देखिँदैन । विवाहको एक प्रयोग अतीतमा हामीले गर्यौं । दुई अन्जान व्यक्तिलाई धार्मिक, सामाजिक र आर्थिक त्रास र प्रलोभन देखाई सँगै बस्न बाध्य पारिदियौं । यस व्यवस्थाको आफ्नै उपयोगिता रह्यो । तर यसबाट प्रेम भने पैदा हुन सकेन । केटाकेटीको परिवारको सामाजिक र आर्थिक हैसियत साथै चिनाटिप्पन हेरेर लगन मिलाउने ज्योतिषले पनि यो परम्परामा ठूलो भूमिका खेल्छन् । तर जीवनपर्यन्तसँगै बस्नुपर्ने व्यक्तिको इच्छा, अभिरुचि र रुझानको कुनै चिन्ता गरिँदैन ।
विवाहपछि सँगैको सहवास र विशेष रूपले यौनतृप्तिको अनुग्रह स्वरुप एक प्रकारको मोह पैदा हुन्छ जसलाई सामाजिक भाषामा प्रेम भनिन्छ । तर यो प्रेम होइन, मोह हो । यही सहवासको मोहबाट जन्मियो – ईर्ष्या, एकाधिकारको भावना, शोषण र पाखण्डपूर्ण सामाजिक व्यवहार ।
मूलतः काम तृप्तिमा हुने यस व्यवस्थाले पूरै सामाजिक व्यवहारलाई नै कामुक बनाइदियो । यसको प्रतिक्रिया स्वरूप पश्चिममा खुल्लापन देखियो र त्यस्तो उन्मुक्त परिवेशमा प्रेमविवाहको जन्म भयो । युवायुवतीले अरू कुराको चिन्ता नगरी आपसी आकर्षणको आधारमा विवाह गर्न थाले । तर यसको आफ्नै पीडा छ ।
प्रेमविवाहसँगै पारपाचुके पनि सुरु भयो । सामान्यतः युवायुवती जब स्वतन्त्र परिवेशमा भेट्छन्, उनीहरूबीच एक तीव्र जैविक आकर्षण पैदा हुन्छ र त्यो आकर्षणले बुद्धि विवेकलाई अन्धो पारिदिन्छ र त्यस्तो विवेक धमिलिएको तुफानी आकर्षणलाई त्यस क्षणमा प्रेम ठानिन्छ । तर त्यस्तो आकर्षण शारीरिक मिलनको निरन्तरतासँगै क्षीण हुन थाल्छ र केही समयपछि नै त्यस्ता युवायुवती आफूलाई ठगिएको अनुभव गर्छन् र ठूलो सम्मोहनको स्वप्नबाट सुरु भएको यस्तो आकर्षणको अन्त यथार्थको धरातलमा विषादपूर्ण हुन्छ । त्यसकारण पश्चिममा प्रेमविवाहको आयु छोट्टिइरहेको छ र सामान्तयतया ३–४ वर्षभित्रै यस्ता विवाह पारपाचुकेमा टुंगिन्छन् ।
प्रेम एक अज्ञात, अबुझ अनुभूति हो, कहिले कहाँ अवतरण हुन्छ र कहिले हराउँछ, त्यो भन्न सकिन्न । प्रेममा एक दैवी आकर्षण र पूर्ण समर्पणको भाव हुन्छ र एक आत्मिक परितृप्ति पनि । प्रेम शारीरिक कम, मानसिक र आध्यात्मिक घटना बढी हो । त्यसकारण प्रेमका लागि एक मानसिक र आध्यात्मिक परिपक्वता पनि चाहिन्छ ।
प्रेम निःसर्त दान हो । प्रेममा दिनु नै पाउनु हो । सामान्यतया अहंकारी व्यक्तिले प्रेम गर्न सक्दैन । अहंकार जति दह्रो हुन्छ, कामवासना त्यति नै प्रबल हुन्छ । किनभने कामवासनाको चरम शिखरमा हामी क्षणभरका लागि अहंकारबाट मुक्त हुन्छौं र त्यस क्षणमा हाम्रो क्षुद्र व्यक्तिगत परिचय हराउँछ । त्यसकारण अहंकारी व्यक्ति कामको आकर्षण रोक्न सक्दैन । त्यो उसले जानेको एक मात्र सुख हो, तर प्रेमीको अहंकार प्रेममै विसर्जित हुन्छ । जब हामी अहंकारबाट मुक्त हुन्छौं तब हामी परमात्मास्वरुप नै हुन्छौं । त्यसैकारण प्रेमलाई सबै धर्मले परमात्मा भनेका हुन् ।