Logo

कथा : ‘टेन्सन छ ब्रो टेन्सन !’



उषा शेरचन: भिन्नभिन्न गाउँबाट आएका तीनजना युवाहरू हाउजिङभित्र रहेको अपार्टमेन्टको आठौं तलामा एउटै फ्ल्याट लिएर बसेका छन् । जसमा तीन कोठा, एउटा हल, एउटा किचेन र एउटा बाथरुम भएको हुँदा तीनजनालाई एउटा एउटा बेग्लाबेग्लै बेडरुम भएको हुनाले पनि सजिलो भएको छ । खाना त प्रायःजसो पकाउँदै पकाउन्नन् । बाहिर बाहिरै खाएर आउँछन् । कहिलेकाहीँ चिया कफी पिउने, अण्डा, पाउरोटी खाने वा चाउचाउ उमाल्ने आदि भने गर्छन् नाइँ ।

तीनैजना बिहानको क्याम्पसमा पढ्छन् । दिनभर कता कता जान्छन् जान्छन् ! साँझ परेपछि आउँछन् । होमवर्क छ भने होमवर्क आदि गर्छन् । र, कहिलेकाहीँ समय मिलेको खण्डमा र तीनैजना सँगसँगै फर्केको बेलामा भने हलमा बसेर गपशप पनि गर्ने गर्छन् । नत्र भने आआफ्नै कोठामा जान्छन् । मोबाइलमा मस्त भएर बस्छन् ।

सबैसँग आआफ्नै छुट्टाछुट्टै चाबी भएको हुनाले कसैलाई कसैले ढोका खोल्नु पर्दैन । आआफ्नो समयमा आफू आफैँ आउँछन् चाबी खोल्छन् । मन लागे हलमा राखेको एलसिडी टिभीमा मन परेको च्यानल हेर्छन् । मन नपरे सिधै आफ्नो कोठाको ढोका खोल्छन् र बस्छन् आआफ्नै पाराले ।

खान भने आफूलाई मन परेको आफैं लिएर आउने आफैं बनाउने र खाने गर्छन् भने घरभाडा पानी बिजुली र वाइ-फाइको भने भाडा र बिल बमोजिम तीनैजना मिलेर दामाशाही हिसाबले तिर्ने गर्छन् ।
हेर्दा खाइलाग्दो जिउदाल हिरो वा मोडल नभए पनि होलाजस्तो अनि ठाँटबाँट हेर्दा पनि गाउँबाट आएकाजस्ता पनि देखिन्नन् । शहरका त्यो पनि धनीमानीका छोराहरूजस्ता देखिन्छन् । लवाइ खवाइ पनि उस्तै । सबैसँग एप्पल ल्यापटप अनि आइफोन छ हात हातमा ! नाडीमा सलमान खान स्टाइलको चाँदीको ब्रेसलेट समेत लगाउने गर्छन् ।

क्याम्पसको महङ्गो फिस अनि फ्ल्याट भाडा पानी बिजुलीबाहेक मोबाइल रिचार्ज घरमा पो वाइफाइ छ बाहिर जाँदा त डाटाबेस पनि चाहियो । अनि अहिलेको महङ्गीमा खानामा पनि कम पैसा खर्च हुन्न ! तर केटाहरूले सबै पुर्‍याइरहेकै छन् । त्यतिमात्र कहाँ हो र ! सबैसँग एक एक वटा पल्सर बाइक पनि छ । अनि पेट्रोल खर्च बेग्लै । सबै सबै पुर्‍याएर बसेकै छन् ।

धनी बाबुका छोराहरू पनि होइनन् फेरि । अन्य जागिर पनि केही खाएका छैनन् तर काठमाडौंको ठाउँमा ठाँटसँग बसेका छन् । कलेज पनि गएका छन् !
आज भने शनिबार परेको हुनाले तीनजनै घरमा छन् । एक-एक गर्दै नुहाउँछन् । आआफ्नो कपडा वासिङ मेसिनमा राखेर धुन्छन् र आआफूले किनेर ल्याएको सामान निकाल्छन् र ब्रेकफाष्ट बनाएर खाइसकेपछि ठूलठूलो मगमा कफी बोकेर डाइनिङ टेवलमा बस्छन् र गफ्फिन थाल्छन् ।

“केछ ब्रो तेरो खबर ?”

“के हुनु नि ? उही हो । तेरो नि ?”

“मेरो पनि खास केही त छैन । तर अलि टेन्सनमा छु ब्रो !”

“मस्तले पैसा कमाइरहेकै छस् । पढिरहेकै छस् र अझै घरमा समेत पैसा पठाउने गर्छस् । हामीलाई भन्दा तँलाई मोज छ अनि जसलाई बढी मोज उसैलाई टेन्सन रे ! क्या दिन्छ ब्रोले पनि बेलाबेलामा ।”

“हो त नि यार अलिअलि हो र फेरि हजार भोल्टकै झट्का नि यार ।”

“नकरा । तिमीहरूलाई झन् मलाई भन्दा बढी मोज छ । कहिले यो डालीमा उड्यो कहिले त्यो डालीमा । आजाद पन्छीझैँ । आफू त सुनको पिजडामा कैद सुगा न परियो ।”

“अनि पैसा चाहिँ कसले बढी कमाउँछ ? महङ्गो घडी, घाँटीमा सुनको दाम्लोजस्तो मोटो चेन अनि अर्को नाडीमा चाँदीको ब्रेसलेट नभई असली युँ राखेको ह्वाइट गोल्डको । त्यो युँ कति महङ्गो छ भनेर थाहै छ तँलाई । अनि औँलामा हीराको औँठी ।”

“त्यही त यार ब्रोले मान्छे पनि हीरै भेटेको नि हगि ?”

“हीरा बुढी अर्थात् सुड्डी !” अर्काले प्याट्टै भने !
“नकरा न ब्रो । आज यसकै कुरा सुनौँ । ल भन तेरो सुन हीरा बुढीका बारेमा हामीले पनि सुनौँ न त तेरो राम कहानी ब्रो !”

“तेरो टेन्सनका बारेमा पनि ! आजका शाम साथीके नाम भन्छन् । हाम्रो चाहिँ बिहान भनौँ । ल ब्रो तेरै नाम भो ।” भन्न थाले साथीहरू दुवैले ।

“अरू के हुनु र ? बाउआमालाई मज्जाले ढाँटेको छु । राम्रो प्राइभेट कम्पनीमा काम गर्छु दिउँसो दिउँसो । बिहान भने कलेज जान्छु र पढाइ पनि सुचारू रुपमा चलाइरहेको छु भनेर ।”

“हो त आधा झुठ भए पनि आधा साँचो त हो नै ब्रो ! यसमा टेन्सन कहाँ घुस्न आयो त नि ब्रो फेरि ?”

“यति झुठ के बोलेको थिएँ । बाबुआमालाई त काण्ड पुगिगो नि। अनि गाउँभरि हामीले त हाम्रा छोरालाई फुटेको कौडी पठाउनु पर्दैन । बिहान बिहान कलेज पढ्छ, दिउँसो दिउँसो जागिर खान्छ । हामीले पठाउनुको साटो उसैले उल्टै हामीलाई पठाउँछ ।”

“अनि गाउँलेले पनि गरिबै भए पनि असल छोरा हुनुपर्छ ऊ फलानोका छोराजस्तो । यति सानै उमेरदेखि कलेज नि जाने पैसा नि कमाउनी भएन भने घरमा नि पठाउने ! कस्ता छोरा पाएका बाबै तिनले ! हेर्दाहेर्दै खरको झुपडी पक्की घर टिनका छानो हालिसके ! एउटी दिदीलाई पढ्न नपाए पनि तिनले नै गतिलो केटो खोजेर बिहेदान पनि गराइदिए, सानो घरजग्गा पनि किनिदिए, फेन्सी स्टोर पनि राखिदिए । दिदी-भेना मिलेर मज्जाले कमाएका छन् । खाएका छन् । आनन्दले घरजम गरेर बसेका छन् भन्दिँदा रहेछन् । अनि त भुइँमा खुट्टै नहुने गरी खुसी हुँदा रहेछन् !”

“बाबुआमा, दिदी-भेनालाई काठमाडौँ झिकाएर होटलमा राखेर मोटरमा पुरै घुमाइदिएको त झन् के चाहियो अब ?”
“अँ साँच्चै अस्ति नै को कुरा होइन त्यो ? तँलाई त मोज छ ब्रो । त्यो मोटर पनि तिनै तेरो हीरा सुड्डीले दिएकी त होलिन् !”

“हो नि नत्र मैले कहाँबाट सक्नु र ?”

“काठमाडौंबाट गाउँ पुगेपछि केटी दिनेको ताँती लागेछन् । उताबाट पनि यताबाट पनि कुरो आएर हैरान पारेपछि बाउआमाको किचकिच मतिर शुरु नि यार !”

“अनि बिहे गर भन्दैमा के भो त नि । उमेर त पुगेकै छस् ।”

“त्यही त टेन्सन छ त यार ! काठमाडौँ आएदेखि उनैलाई चिनियो । उनैसँग बसियो । भलै मभन्दा पाको उमेरका छन् उनी । तर मलाई पनि आफ्नो उमेर वा आफूभन्दा कम उमेरका कुनै पनि युवतीमाथि मन जाँदै जाँदैन ! त्यसैले उनीसँग मात्रै बसियो !”

“तँ त यार बडो भाग्यमानी ब्रो । एकजनालाई चित्त बुझाएपछि दिन बन्यो ।”

“हो नि यार । ब्रो त वन्ली वान ह्यान्ड मायालु पार्टनर भइहाल्यो । हामीजस्तो धेरैलाई चित्त बुझाउँदै वा दिनदिनै ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता छैन !”
“त्यो त छैन । तर त्यही भएर उनले ‘बिहान बिहानै उठेर व्यायाम गर वा जिम जाऊ’ भन्छिन् । शरीरलाई फिट राख्न काजु, बदाम, अण्डा, फलफूल, दूध वा जुस पिऊ । राम्रोसँग ब्रेकफास्ट लिऊ भनेर त्यसका लागि छुट्टै पैसा दिन्छिन् । ‘तिमीलाई चाहिनेभन्दा पनि बढी पकेटखर्च मैले दिई त राखेकी छु’ भन्छिन् । राम्रो र महङ्गो कपडा, घडी, मोबाइल, ल्यापटप, सेन्ट, जुत्ता आदि आफैंले किनेर दिन्छिन् । अनि त्यसको बदलामा ‘मसँगबाहेक अरू कसैसँग शारीरिक सम्पर्क नराख’ भन्छिन् ।”

उसको कुरा नसक्दै अर्काले भन्यो-
“आफ्नो त ब्रो करिबकरिब आधा दर्जन जति सुड्डीहरू छन् । सबैलाई मस्तले यौन सन्तुष्टि दिइन्छ । आफूले पनि बेग्लाबेग्लै सुड्डी सुन्दरीहरूसँग मज्जाले भरपूर आनन्द उठाइन्छ । आनन्द दिए बापत पैसा पकेटमा हालिन्छ अनि हिँडिन्छ ब्रो । त्यसैबाट भनेजस्तै आम्दानी हुने भएको कारण भनेजस्तै लाएर, खाएर, मोटरसाइकल चढेर, आइफोन बोकेर, कलेज पढेर, गाउँमा घरखर्च समेत पठाएर पनि भविष्यका लागि केही रकम सेभ गरेको छु ब्रो । नत्र त यो कङ्क्रिटको जङ्गलमा यस्तो महङ्गीलाई धानेर यसरी बाँच्न कहाँ सकिन्थ्यो यार ? बेवारिसे मरिन्थ्यो ब्रो उहिल्यै । गाउँका किसान बाउआमालाई आफैंलाई पेट पाल्न धौधौ छ । मलाई काठमाडौं खर्च पठाइपठाइ कहाँ पढाउन सक्थे ? यार ! आफ्नो शारीरिक भोक पनि मेटाउन पाउने, त्यसको बदलामा उल्टै पैसा पनि पाउने ! खासाकै धन्दा हो ब्रो यो पनि । त्यसैले मेरा लागि त सुड्डीहरू सबै भगवान् हुन् यार !”

“आफ्नो त अरूसँग सम्पर्क राखेको थाहा पाउँदा एकदमै रिसाउँछिन् -‘तिमीलाई थप खर्च कति चाहिन्छ भन ? तर अरूसँग यौनसम्पर्क नगर भन्छिन् ।’ अरूसँग गए थप कमाइ त हुन्थ्यो तर भलपानीझैँ हुन्छ फेरि । ह्वात्तै आउने ह्वात्तै सुक्ने । उनी त अविरल बग्ने गण्डकी । त्यसैले पनि कतै जान्नँ म त ब्रो ।”
अर्कोले भन्यो – “हा…हा..हा…. ! हाम्रो ब्रो त एक नारी ब्रह्मचारी भइहाल्यो । आफ्नो त तिमीहरूको भन्दा बेग्लै छ कथा र व्यथा छ यार !”

“अब पालो ब्रोकै हो यार । लौ सुनौँ हाम्रो ब्रोको पनि राम कहानी अब ।” भन्यो उसले ।

“के हुनु ब्रो ? तिमीहरूको जस्तो पर्मानेन्ट ग्राहक छैन यार मेरो । यी यो मोबाइल जिन्दावाद ! महिला यौन व्यवसायीमार्फत पुरुष यौन व्यवसायी खोज्ने ठाउँबाट फोन आएपछि नुहाइधुवाइ गरेर चट्ट तयार भएर तोकिएको ठाउँमा जाने हो । सेवा दिने हो । अनि यौन सन्तुष्टि दिलाएबापत ग्राहकको स्तर हेरीकन दस हजारदेखि पच्चीस, तीस र त्यस्तै परे चालीस-पचास हजारसम्म हान्ने हो । मजाले पकेटमा राख्ने हो अनि हिँड्ने हो । मेरा ग्राहक भनेकै श्रीमान् विदेशमा गएका महिलाहरू, आर्थिक रूपमा सम्पन्न तर लोग्नेबाट सन्तुष्टि नपाएका महिलाहरू, समलिङ्गी पुरुषका श्रीमतीहरू, एकल महिलाहरू, काममा अति नै व्यस्त हुने व्यक्तिका श्रीमतीहरू, लोग्नेसँग सम्बन्धविच्छेद गरेका महिलाहरू, स्वतन्त्र जीवन जिउन चाहने महिलाहरू र कोहीकोही विदेशी पर्यटकहरू पनि हुने गर्छन् । यौन सन्तुष्टि पूरा गरिदिएबापत पाउने रकम त भइहाल्यो । त्यसबाहेक फेरि बढी सन्तुष्टि दिन सकेको खण्डमा बक्सिस पनि दिन्छन् ।” पुनः उनैले थपे कुरा – “यसकारण कहिले भने भ्याइनभ्याई हुन्छ र थकाइले लखतरान परिन्छ । कहिले भने फेरि सुख्खा राम भएर हाई काढ्नु पर्ने हुन्छ ! यसरी बाउले घर बनाउँदा र दिदीहरूका बिहेमा लिएका ऋणहरू तिरिरहेको छु । र, बाउआमालाई घरखर्च समेत पठाइरहेको छु । धेरै बाँकी छैन ऋण पनि अब करिबकरिब तिरिसकियो । बाँकी ऋण पनि यो वर्षभित्र तिरिसक्छु होला सायद । आमाबाबु दुवै रोगी छन् । औषधिमुलो खर्च पनि उतिकै छ फेरि । बुहारी भित्र्याउनु पर्यो । हामी रोगी बुढाबुढीको प्राण जतिखेर पनि जानसक्छ । भएको एउटो छोरोको बिहे पनि हेर्ने पाउने हो होइन ? भन्ने गनगन बेग्लै छ । यी आफ्नो ताल भने यस्तो छ ब्रो ! घरमा भन्ने कुरो आएन !”

“हो नि ब्रो हामीले बिहे गर्नु भनेको स्वास्नीप्रति
विश्वासघात गर्नु हो । त्यही भएर त टेन्सन भएको नि मलाई !”

“अँ त ब्रोको टेन्सन बारे कुरा हुँदै थियो । हाम्रो पनि मिसियो हगि ?”

“मेरो त पहिलो ग्राहक नै उनी । कहिलेकाहीँ फाट्टफुट्ट कतै गएँ हुँला नत्र त तिनकै मात्रै भएर सेवा दिइरहेको छु । उसको लोग्ने मरेको हुनाले यौन सन्तुष्टि दिने काम मात्रै हो मेरो । तर लामो सहवासपछि आफ्नै श्रीमतीजस्तै लाग्दो रहेछ । माया पनि बस्दो रहेछ । अनि तिनलाई छोडेर अन्य केटीसँग बिहे गर्ने कुरा सोच्न समेत कठिन पर्दोरहेछ । अहिले घरबाट बिहेको दबाब बढी नै आएपछि लाष्टै टेन्सनमा छु ब्रो । के गर्नु गर्नु ?”

“त्यो त हो बा ब्रो ! बिहे नै गरेर ल्याएपछि लोग्ने भनेको शारीरिक भोक मेटाउने साधन मात्रै त होइन नि ? विवाह संस्थाको पनि आफ्नै नियम कानुन, मूल्य मान्यता र धर्महरू हुन्छन् । कुनै पनि स्वास्नीमान्छेले आफ्नो लोग्नेबाट शारीरिक भोक मेटाउने साधनभन्दा पनि भावनात्मक संरक्षण दिने अर्थात् माया र छत्रछाया दिने लोग्नेमान्छे चाहेका हुन्छन् । जुन कुरा हामीले श्रीमतीलाई दिन सक्तैनौँ ।
आम्दानीको स्रोत अरू केही छैन । हामीले जानेको यही मात्रै काम हो ! अन्य जागिर वा व्यापार व्यवसाय केही छैन । पढ्ने कसरी ? बाउआमालाई पाल्ने कसरी ? अनि बिहे गरेर श्रीमती छोराछोरीलाई पाल्ने कसरी ?
टेन्सन छ ब्रो टेन्सन !”

“हो त ब्रो ! ब्रोको टेन्सन बेग्लै । हाम्रो टेन्सन फेरि बेग्लै ।”
ठेगान र नाम बिनाको अनिश्चित सम्बन्धले तिनका भविष्यलाई कता पुर्‍याउने हो ? आधुनिकताले निम्त्याएको यसप्रकारको विसङ्गतिले समाजलाई कहाँ डोर्‍याउने हो ? अचम्मैको जीवन शैली निर्माण भइरहेको सुनेर रनभुल्लमा परेँ उल्टै !

 

 



प्रतिक्रिया दिनुहोस्