काठमाडौं, असार २७ । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।
प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।
नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शøयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउन्छन् । उनले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शैया बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको बताए ।
वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए । उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महत्वपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए ।
डा चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताएका छन् । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्नुुहुँदै डा चौधरीले भने, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ ।” कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।