Logo

आज सहमतिपत्र बाहिर ल्याउँछौं, माधव नेपालहरुले हस्ताक्षर फिर्ता लिनुहुन्छ : शेरबहादुर तामाङ (भिडिओसहित)



नेकपा (एमाले) का प्रभावशाली नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीभित्रको विवाद समाधान भएको दाबी गरेका छन् । र, आजै सहमतिपत्र बाहिर ल्याउने उनको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाललगायत उनी पक्षधर सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि अदालतमा पेश गरिएको रिट निवेदनमा गरेको हस्ताक्षरसमेत फिर्ता लिने दाबी गरे । प्रस्तुत छ नेता तामाङसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आज सहमति पत्रमा हस्ताक्षर हँुदैछ होईन ? माधवकुमार नेपाल र केपी शर्मा ओलीको बीचमा कुरा मिलेको हो ?

हाम्रो पार्टीभित्रको आन्तरिक समस्याहरुको बारेमा ती सबै समाधान भएका छन् । ती समाधान गर्ने कोणमा अहिले छलफल जारी छ ।

तपाईँहरुले आज दुवै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर सहमति गर्छौं भन्नुभएको छ, सहमतिपत्र जनतालाई देखाउनु सक्नुहुन्छ ?

आज नेताहरु छलफलमा बसिरहनुभएको छ । र, ती सबै कुराहरु मिलेपछि सहमतिको पेपरमा हस्ताक्षर हुन्छ ।

त्यसो भए आजै हस्ताक्षर हुन्छ ? हस्ताक्षर समारोह चाहीँ कहाँ राख्नुभएको छ ?

ती सबै स्थलहरु तोकिएकै छन । ८ बजे हस्ताक्षर हुन्छ । ९ बजेसम्म हामी स्थायी कमिटी बैठक हन्छ । सबै निर्णय प्रक्रियाहरु अगाडि बढ्छन । एमालेभित्रका आन्तरिक समस्याहरु आज समाधान भएर अगाडि बढ्छन ।

त्यसोभए दुबै समूहको स्थायी कमिटीको बैठक आजै बस्ने हो ?

दुवै समूहको होईन, नेकपा एमालेको बैठक आज बस्ने हो ।

एमाले त दूई समूहमा थियो नि त ? ओली र नेपाल समुह छ होईन र ?

अरु कुरा मलाई थाहा भएन । तर, आज नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्छ ।

त्यसोभए अब पार्टीभित्रको विवाद अन्त्य भयो ?

हामी त्यही दिशातर्फ उन्मुख छौँ ।

तपाईँहरुको बीचमा हुने सहमतिको खाका के हो ? सहमतिका बुँदाहरु के–के छन् ?

नेकपा एमालेभित्र भएका सबै समस्याहरु समाधान गरेर अगाडि बढ्ने सबै सहमति भएका छन ।

त्यसमा माधवकुमार नेपाल पनि सहमत हुनुभएको हो र ?

आज सबै टुँगिन्छ । र, सबै कुरा बाहिर आईहाल्छ नि ।

तर, सहमतिपत्रमा हस्ताक्षर गर्नको लागि माधव कुमार नेपाल त तयार हुनुभएको छैन भन्ने कुरा आएको छ नि ?

नेकपा एमालेभित्रका सबै नेताहरु, पार्टीलाई एकताबद्ध राख्ने तमाम लाखौँ कार्यकर्ताहरुको चाहना, नेपाली जनताको चाहाना अनि भावनानुसार सबै नेताहरु सहमत छन । पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने कुरामा सबै एकमत छौं ।

अदालतको बारेमा सहमतिपत्रमा केही लेखिन्छ कि मौन बस्नु हुनुहुन्छ ? प्रतिनिधिसभा विघटन्सम्बन्धी मुद्दा त सर्वोच्च अदालतमा विचाराधिन छ नि ?

मुद्दा के गर्छ के गर्दैन्, यो अदालतको विषय हुन्छ । त्यो हाम्रो विषय होईन ।

तपाईँको पार्टीका नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गर्नुभएको छ नि त ? त्यो उहाँहरुले फिर्ता लिनुहुन्छ त ?

अब आज पार्टीभित्रका आन्तरिक समस्याहरुलाई समाधान गरिसकेपछि अदालतमा हाम्रो प्रश्नहरु, हाम्रा जवाफहरु के हुन्छन भन्ने विषयमा त्यसपछि तय हुन्छ ।

त्यसो भए माधव नेपालसहित उहाँ पक्षधर नेताहरुे शेरबहादुर देउवालाई दिएको समर्थन पनि फिर्ता गर्नुहुन्छ ?

अब प्रक्रिया त्यस्तै छ ।

तपाईँ त नेकपा एमालेको कार्यलाय सचिव हो नि, जनतालाई सत्य कुरा भन्नुहोस न ?

प्रक्रिया त्यहीतर्फ अगाडि बढ्छ ।

उसो भए माधव नेपाल पक्षधरले हस्ताक्षर फिर्ताको लागि प्रक्रिया अगाडि बढाउनु हुन्छ भन्नेमा तपाईँहरु विश्वस्त हुनुहुन्छ ?

प्रक्रिया अगाडि बढ्छ ।

माधव कुमार नेपालले भन्नुभएको छ नि–केपी शर्मा ओलीले जहिले पनि निषेधको राजनीति गर्नुभएको छ, अब त्यो निषेधको राजनीति बन्द गर्ने सहमति भएको हो ?

निषेधका राजनीति गर्ने भए त यो चलिरहेको वार्ता पनि हँुदैन थियो होलान नि त ?

शक्ति बाँडफाँडको कुरा पनि आएको छ, यसमा कसरी सहमति होला ?

हाम्रो पार्टीमा जसको जे हैसियत छ, त्यो हैसियत कायम रहन्छ । सबै नेताहरु नेकपा एमालेकै नेता हुनेछन । त्यसो भएको हुनाले यसभित्र कसको कति शक्ति ? कसको के भनेर हिसाबकिताब हुँदैन् । हामी पार्टीको एकताको लागि सबै नेताहरु सहमत छौँ । सहमत भएर पार्टीलाई एकताबद्ध बनाएर आए पछाडि एकताबद्ध पार्टी नै शक्तिशाली हुन्छ । त्यसो भएको हुनाले त्यहाँभित्र कुनै शक्ति, कुनै युनिटी होला कि नहोला भन्ने कुराको हामी धेरै हिसाव गर्दैनौं । तर, पार्टी एकताबद्ध भएपछि पार्टीनै शक्तिशाली हुन्छ भन्ने हामी सबैमा त्यो विश्वास छ ।

त्यसोभए आजबाट एमाले एक भयो ?

हामी त्यही प्रक्रियामा अगाडि बढछौँ । र, अब सहमतिको लागि केही घण्टामात्रै बाँकी छ ।

त्यसोभए माधवकुमार नेपालको सहमति छ ?

हामी पार्टीभित्रको सबै नेताहरु सहमतिका साथ अगाडि बढ्छौँँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ अरे, हो ?

पार्टी एकता भईसकेपछि निरन्तर वार्ता हो । निरन्तर छलफल गरेर पार्टीलाई निरन्तर अगाडि बढाउने कुरामा सहमति हुनेछ । नेतृत्वले यो पार्टीलाई एकतावद्ध बनाएर जनता र कार्यकर्ताको पक्षमा जति काम गर्नुपर्ने हो, एमाले त्यो गरेर जाने कुरामा हामी निरन्तर छलफल र प्रक्रियाबाट नै अगाडि जाने हो ।

अनि माओवादीबाट आएका नेताहरुलाई तपाईँहरु अब कसरी व्यवस्थाप गर्नुहुन्छ ?

अब उहाँहरु नेकपा एमालेको नेता हो । त्यसोभएको हुनाले उहाँहरु कहाँबाट आएको भन्ने धेरै हिसाब हँुदैन । सबै नेकपा एमालेको नेता हुन । उहाँहरु नेकपा एमालेको स्थायी कमिटीमा पनि हुनुहन्छ । कोही केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ । यो समायोजन पछाडि धेरै साथीहरु नेकपा एमालेमा समाहित हुनुहुन्छ ।

कसरी समाहित हुने ? विधि र प्रक्रिया के त ?

प्रकिया र विधि भनेको दृष्टिकोणको कुरा हो । दृष्टिकोण मिलिसकेपछि सबै कुरा मिल्छ ।

तर पनि समस्या छ नि ? पार्टीको विधान छ, आजबाट तपाँईहरु २७५ जेठ २ मा फर्कदै हुनुहुन्छ, अनि कसरी मिलाउने त ?

त्यसैले त मैले भनें सबै पार्टीका दृष्टिकोण मिलिसकेपछि त्यो प्रक्रिया त आँफै मिलेर जाने कुरा हो । जुनसकै प्रक्रियाबाट भएपनि हामी पार्टीभित्र उहाँहरु नेकपा एमालेको दुष्टिकोणले मूलतः हामीले जुन पार्टीलाई समायोजन गरेका थियौँ, त्यही नेकपाको मुल स्पिरिटले अहिले नेकपा एमाले बनेको छ । हामीलाई २०७७ साल फागुनको फैसलापश्चात् नेकपा होईन, तपाईँहरु फेरि पार्टी एकता गर्ने भए अर्को नाम राखेर आउनुहोस भनेको हुनाले हामीले अर्को नाम दिएर पार्टी बनाउन नसकेर पुर्ववत पार्टीको नाममा नै रहेको अवस्था हो । मूलतः नेकपा (एमाले) पार्टी स्पिरिटकै प्रक्रियामा अएको हुनाले एकताको पक्षमा रहेका साथीहरु एकताबद्ध नै छौँ । हामी मूल पार्टीमा छौँ भन्ने कुराको विश्वास गरेर आईसकेपछि त्यहाँ सबै विधिहरु मिल्छन् । त्यसपछि ती सबै नेताहरु नेकपा एमालेभित्र नै रहन्छन् ।

त्यसोभए आजको स्थायी कमिटीकोे बैठक कहाँ हुन्छ ?

हुन्छ, कतै । बैठक बस्ने तय भएपछि खबर आइहाल्छ नि ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्