काठमाडौं, असार २८ । निजीक्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट अन्तिम स्वीकृृति पाएको छ । बीमा समितिले गत बिहीवार कम्पनीलाई व्यवसाय अर्थात् कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो ।
समितिले गत जेठ १७ गते हिमालयन रिलाई स्थापनाका लागि आशयपत्र अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि कम्पनीले तोकिएको आवश्यक प्रक्रिया पूरा गरेपछि कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिइएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन रिलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको बताए ।
समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भयो भने संस्थापकतर्फको रू। ७ अर्बको लगानी पनि बैंकमा जम्मा गर्ने काम भयो । यसबाहेक बालुवाटारमा कम्पनीको कार्यालय स्थापना गर्ने, कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गर्नेलगायत आवश्यक प्रक्रिया पूरा भएपछि समितिले कम्पनीलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो ।
बीमा समितिबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी पक्ष कारोबार सञ्चालनका लागि तयारीमा जुटेको छ । आर्थिक अभियान दैनिकबाट