काठमाडौं, असार २९ । चालु आर्थिक वर्ष कम्तीमा सय कामदार पठाउन नसक्ने म्यानपावर पुनः नवीकरण हुने भएका छन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार यो वर्ष एक सय कामदार पठाउन नसकेपछि आर्थिक वर्ष २०७८/७९ सम्म सबै म्यानपावर नवीकरण हुने भएका हुन्।
कोरोना महामारीका कारण वैदेशिक रोजगारी ठप्प भएको भन्दै व्यवसायीले सबै म्यानपावर नवीकरण हुनुपर्ने माग गर्दै आइरहेका थिए। एक सय कामदार नपठाएका कारण म्यानपावर खारेज हुने निर्णय कायम भएको भए यो वर्ष अधिकांश म्यानपावर खारेजीमा जाने सम्भावना थियो।
सरकारले तीन वर्षअघि वैदेशिक रोजगारीमा लगातार हरेक वर्ष कम्तीमा एक सय कामदार पठाउन नसक्ने म्यानपावरको दर्ता खारेज हुने व्यवस्था गरेको थियो। त्यतिखेर नै म्यानपावरको धरौटी ९नगद र बैंक ग्यारेन्टीसहित० ३० लाख रूपैयाँबाट वृद्धि गरी पाँच करोड रूपैयाँसम्म राख्नुपर्ने कानुनी व्यवस्था गरेको थियो।
तर कोरोना महामारी सुरु भएपछि गन्तव्य मुलुक लगायत नेपाल पनि नराम्रोसँग प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य मात्रामा गिरावट आएको छ।
वैदेशिक रोजगार विभागका अनुसार महमारीअघि वर्षका करिब पाँच लाख (नयाँ र पुराना गरी) युवायुवती वैदेशिक रोजगारीमा जाने गरेकोमा महामारीपछि त्यो संख्या निकै कममा झरेको छ। चालु आर्थिक वर्षमा करिब एक लाख वैदेशिक रोजगारीमा गएका छन्। यसरी वैदेशिक रोजगारीमा जानेहरू विदामा घर आएका धेरै छन्। नागरिक दैनिकबाट