Logo

कोरोना भाइरसको तेस्रो लहर शुरुवाती चरणमा, डब्लुएचओद्वारा खतराको संकेत



एजेन्सी, ३१ असार । विश्वभर कोरोना भाइरसको तेस्रो लहरले अर्को महामारीको खतरा आउन सक्ने देखिएको छ । तत्काल कोरोना भाइरसको तेस्रो लहर सुरुवाती चरणमा देखा परेको र यो फैलँदै गएको विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रस अडानोम गेब्रियससले बुधबार बताएका हुन् ।

उनले कोरोना भाइरसको आपतकालिन समितिको आठौँ बैठकमा कोरोना भाइरसको तेस्रो लहर विश्व भर फैलिसकेको बताएका हुन् । डब्लुएचओ प्रमुख गेब्रियससको भनाईलाई उदृत गर्दै समाचार एजेनसी तासले लेखेको छ,‘हामी कोरोना भाइरसको तेस्रो लहरको सुरुवाती चरणमा छौँ । १० हप्तासम्म कोरोना संक्रमण र मृत्यु दर घटिरहेको थियो । तर, केही हप्ता अगाडिदेखि कोरोना संक्रमण र मृत्यु दर विश्व भर बढीरहेको छ ।

उनले मृत्यु दर भने निरन्तर उकालो लागिरहेको भन्दै अहिलेको संक्रमण र मृत्यु दर विश्वभर देखा परेको डेल्टा भेरियन्ट मुख्य कारक रहेको बताएका छन् । ‘डेल्टा भेरियन्ट अहिले विश्वको १ सय ११ देशमा देखापरिसकेको छ । सयम अगावै यसमा नियन्त्रण गर्न जरुरी छ,’ गेब्रियससले भनेका छन् ।

विश्व भर भ्याक्सिनको वितरण चाहे अनुसार नभएको समेत उनले बताएका छन् । कतिपय देशमा अहिले पनि चाहे बमोजिम भ्याक्सिन नपुगेको र कतिपय देशलाई भ्याक्सिन पाउन सकस भएको बताए ।

कोरोना भाइरसको पहिलो र दोस्रो लहरले लाखौं मानिसको ज्यान गइसकेको छ । विश्वभरका मानिसहरुको दैनिक जीवनशैली कोरोना भाइरसको महामारीले बिथोलिएको छ । पहिलो र दोस्रो लहर खतरनाक बनिसक्दा तेस्रो लहर फैलँदै जाँदा भय बढेको छ ।



प्रतिक्रिया दिनुहोस्