काठमाडौं, २ साउन । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि भएको आक्रमणको घट्नामा निन्दा व्यक्त गरेकोछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै उक्त घट्नाको निन्दा गरेका हुन् । र, पार्टीलार्य अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य भएको पनि उल्लेख गरेका छन् । क्रियाशिल सदस्यताको विवादलाई लिएर सिन्धुपाल्चोकका युवाहरुले घिमिरेमाथि हिजो हातपात गरेका थिए । घट्नालगत्तै पार्टी प्रवक्ताले विज्ञप्ती निकालेर यसको निन्दा व्यक्त गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्री श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय छ । कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’
प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको पनि शर्माले उल्लेख गरेका छन् । उनले अघि भनेका छन्–समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेकोे सबैलाई स्पष्ट नै छ । सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य छ ।