काठमाडौं, साउन ३ । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज ‘ट्रयाक स्पीड’ परीक्षणको तयारी भएको छ ।
भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गरिने छ । प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुर आइपुग्ने छ र जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने छ ।
परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्ने छन् ।
आज रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका लागि सूचनासमेत सार्वजनिक गरिएको छ ।सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।