काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्वमन्त्री अनिल झाले आफूहरुले जसपाको आधिकारिकताबारे दाबी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उपेन्द्र यादव पक्षले दाबी गरेकोले आफूहरु आयोग गएको स्पष्ट पारेका हुन् ।
उनले आफूहरु निर्वाचन आयोगले गर्ने निर्णयलाई मानेर अघि बढ्ने स्पष्ट पारेका छन् । निर्वाचन आयोगले जुन कमिटीलाई मान्यता दिन्छ त्यही कमिटी रहने पनि झाको भनाई छ । उनले आफूहरु जसपा दाबी गरेर आयोगको कार्यालय नगएको स्पष्ट पार्दै भोलि पनि जसपामै रहने जिकिर गरे । उनले जसपा हिजोपनि एक भएको र अहिले पनि एकताबद्ध नै रहेको दाबी गरे ।
उनले भने,‘पार्टीको विवादको निरुपण भएपछि हामी एक भएर अघि बढ्छौं । महन्थ ठाकुर पक्ष नयाँ राजनीतिक दल दर्ताको लागि जानुहुन्न । किनभने महन्थ ठाकुर पक्षको त्यो माग र दाबी पनि थिएन । निर्वाचन आयोगमा हामी गएको पनि होईन् । आयोगमा धेरै जानुपनि हुन्न ।’ उनले निर्वाचन आयोगले साउन ११ गतेलाई सनाखतको लागि कार्यकारिणी सदस्यहरुलाई बोलाएकोबारे त्यहाँ जान आवश्यक नै नभएको पनि जिकिर गरे । उनले भने,‘आयोगले मान्यता दिएको कमिटीलाई मानिदिए भैहाल्यो नि । उपेन्द्र र महन्थजी एउटै पार्टीमा हुनुहुन्छ । महन्थजी पार्टी विभाजनको लागि आयोगमा गएको नै होईन् ।’