दमनराज तुलाधर : २०१२ साल भदौको आधाआधितिर म कोलम्बो योजनाको सल्लाहकार सभाको बैठकमा भाग लिन सिंगापुर पुगेको थिएँ । मन्त्रीस्तरको बैठकमा भाग लिन सेक्रेटरी भीमबहादुर सरदार पछि आए । जम्मा महिना दिनजति बैठकहरूमा हामीले सफलतापूर्वक भाग लियौं । अरू मुलुकहरूका प्रतिनिधिहरूले अबौं डलरको राजस्व देखाई ‘कन्ट्री च्याप्टर’ पेश गरेको र हामीले केवल ४०-५० लाखको अङ्क देखाउनु पर्दा मलाई अतिशय सङ्कोच लागेको थियो ।
हामी सिंगापुरमै भएको बेलामा तत्कालीन कमान्डर इन चिफ किरण शमशेर सिंगापुरमा औपचारिक भ्रमणमा आएका थिए । उनी आएको थाहा पाएपछि शिष्टाचार भेट गर्न म फ्ल्याग-स्टाफ हाउसमा गएँ । त्यहाँ अंग्रेज अफिसरहरूसित पनि मेरो भेट भयो । उनीहरूसित मैले भनें, “अंग्रेजहरू त एउटा गोर्खाली बाँकी भएसम्म कम्युनिस्टहरूसँग लड्ने भन्छन् नि ? हाम्रा भाइहरूलाई तपाईंहरूले कस्तो बन्दोबस्त गरेर राख्नुभएको छ ?”
मेरो कुरा सुनेर ती अफिसरहरूले भने, “यहाँ त गोर्खाली धेरै छैनन् । गोर्खालीको मूल व्यारेक ता हङकङ र क्वालालम्पुर हुन् ।” मैले “ए त्यसो पो” भनें । केही छिन गफगाफ गरेर आफू बस्ने ठाउँमा फकिएँ । त्यसको चार-पाँच दिनपछि गोर्खा व्यारेकको निरीक्षणमा आउन मलाई मलेसियाली सरकारले औपचारिक निमन्त्रणा पठाएको पाएँ ।
मलेसियाली सरकारसँग मैले के-के कुरा गरें, यस्तो निम्ता माग्यो भनेर प्रकारका तर्क-वितर्क हुन सक्ने भएकोले मैले प्रतिनिधि मण्डलका नेता भीमबहादुर सरदारलाई भएको सबै कुरा अवगत गराई मलाई समय नपुगेकोले आउन सक्तिनँ भनी असमर्थता दिने विचार गरें । सरदारले आएको निमन्त्रणा अस्वीकार गर्न मिल्दैन, जानै पर्छ भनेर जोड गरे । विवश भएर म क्वालालम्पुर जान निस्किएँ।
सिंगापुरको विमानस्थलबाट क्वालालम्पुर जान गरूड एयर-लाइन्सको विमानको प्रथम श्रेणीमा बसें । हवाईजहाज उड़यो । विमानकी एउटी सुन्दरी परिचारिकाले दस्तुरबमोजिम हवाईजहाजमा दुर्घटना भए केके गर्नुपर्छ भन्ने यावत् कुरा बताइन् । अन्त्यमा तिनले तिनले भनिन्, “तपाईंहरूले आज संसारका सबभन्दा रोमाञ्चकारी युवकका दाइसित हवाई यात्रा गर्ने सौभाग्य पाउनुभएको छ । उहाँ हुनुहुन्छ, मेजर टाउनसेन्ड । राजकुमारी आयनका प्रेमीको दाइ !” मेजर टाउनसेन्ड उठेर सबैलाई अभिवादन गर्न लागे । उनी मेरै छेउको सिटमा बसेका थिए ।
हवाईजहाज उडेर अघि बढ्यो | परिचारिकाले मदिराहरूको किस्ती यात्रीहरूका अगाडि ल्याइन् । मैले डबल ह्विस्की लिएँ । त्यसमा पानी-सोडा केही मिसाइनँ । गिलास रित्तिएपछि मैले फेरि डबल ह्विस्की लिएँ । यसपालि पनि पानी-सोडा केही लिइनँ ।
यो देखेर मेरा छेउमा बसेका मेजर टाउनसेन्डले भने, “तपाईं त माछाले पानी खाएजस्तो गरेर पो रक्सी खानु हुँदो रहेछ । पानी-सोडा, खानु हुन्न ?”
मैले भनें, “म पानी-सोडा खान्छु । तर रक्सीमा मिसाएर खान्नँ ।”
टाउनसेन्डल भने, “राम्रो, राम्रो ! तपाईं कहाँको मान्छे ?”
मैले भनें, “म नेपाली हुँ।”
टाउनसेन्ड उठे र हात मिलाउँदै नेपालीमा भने, “तपाईं गोर्खाली ? गोर्खाली ता हाम्रो साथी हो । लौ, तपाईंसित एउटा बाजी थाप्नुपर्यो ।”
मैले सोधें, “कस्तो बाजी नि ?” उनले भने, “एक बोतल बियरमा, एक पेग ह्विस्की हालेर खान सक्ने ।”
मैले भनें, “बाजी कति नि ?”
“पाँच-पाँच सिंगापुर डलर ।”
“लौ हुन्छ” भनेर मैले परिचारिकालाई डाकेर अर्डर दिएँ । अर्डर तामेल भयो । मलाई ह्विस्की मिसाएको बियर पिएको सम्झना छ अनि कुन्नि के-के भो ।
मलाई होश आयो । घडी हेर्दा रातको बाह्र बजेको रहेछ । मेरो टाई बकुलो पारिएको रहेछ । जुत्ता फुकालिदिएको रहेछ । कोठा अँध्यारोजस्तै थियो । विशाल डबल पलंग । बत्तीको स्विच कहाँ, बाथरूम कहाँ ! दिउँसो जहाज चढेको कुरा सबै याद भयो । अरू कुरा केही याद आएन । पछि मनमा ह्विस्की मिसाएर बियर खाएको सम्झिएँ ।
कञ्चटमा चिटचिट पसिना आयो । हरे ! म त मलेसिया सरकारको सम्मानित अतिथि ! जहाजबाट कसैले घिसारेर ल्यायो कि ? स्टेचरमा हालेर ल्यायो कि ? मलाई लिन को-को आएका थिए होलान् ? तिनीहरूले ठाने होलान् ? यो खबर नेपाल पुग्यो भने मेरो जागिर जोगिएला ? म ता कुलंघारै रहेछु । मुख खङ्ग्रङ्गै भएर सुक्यो । पानी खान यताउति हिँडेँ ।
बुटको आवाज आयो । कोठाको ढोका खोलें । एक जना दस्तुरबमोजिमको पोसाक लगाएको गोर्खाली जवान भित्र आएर बुट बजारेर मलाई सलाम गयो ।
मैले ऊसित सोधें, “तपाईंको घर कहाँ हँ ? तपाईं यहाँ किन नि ?”
उसले फेरि पनि सलाम गरेर जवाफ दियो, “म साहेबको पालो बसेको ।”
मैले भनें, “ए भाइ, हामी भाइ-भाइ होइनौं र ? किन कुरैपिच्छे बुट बजारेर सलाम गर्ने ? लौ भन्नोस्, म कुन बेला, कसरी यहाँ आएँ ?”
उसले भन्यो, “मैले त दश बजेमात्रै पालो बदलेको साहेब, मलाई त केही थाहा छैन ।”
मनमनै लौ मरेस् भनेर उसलाई बिदा दिएँ । कपाल चरक्क दुखेको थियो । बाथरूम गई तातो पानीमा नहाएर सुतें ।
***
भोलिपल्ट बिहान आठ बजेतिर एक जना अंग्रेज फौजी अफिसर आएर मेरो तीन दिने मलेसिया बसाइको कार्यक्रम बनाएर ठीक छ कि छैन भनेर मलाई देखाए । मैले भनें, “तपाईंहरूले बनाउनुभएको कार्यक्रममा मेरो केही भन्नु छैन । तर खास कुरा सोध्नुहन्छ भने मलाई त यहींबाट लगत्तै फर्किएर सिंगापुर जान मन लागेको छ । मैले तपाईंका चिफलगायत क-कसलाई भेट्नुपर्ने होला, मैले कसरी मुख देखाउनु ?”
उनले भने, “चिन्ता नगर्नोस् । हवाईयात्रा गर्नुभएको, अलिकति बढ्ता रक्सी खानुभयो, के भयो र ? हामीलाई कस्तो-कस्तो त भइसकेको छ, तपाईंलाई त मामुली !”
यस्तो किसिमले कुरा गरी टार्न खोजे | लौ, प्रोग्राम हेर्नोस् भने । मैले प्रोगाम हेर्दा त्यस दिनभरि नै व्यारेक, अस्पताल, पाठशालाहरूको निरीक्षण गर्ने । राति गोर्खाली कर्णेलले आर्मी क्लबमा प्रीतिभोज दिने । भोलिपल्ट बिहान गोर्खालीहरूको कवाज हेर्ने । दिउँसो रबर फ्याक्ट्री र र टिन फ्याक्ट्रीहरू हेर्न जाने । राति अंग्रेज जर्नेलको घरमा प्रीतिभोज खाने । पर्सिपल्ट दिनभरि गोर्खाली पल्टनहरूले कम्युनिस्टहरूसित मोर्चा लिएका प्रमुख ठाउँहरूको निरीक्षण गर्ने । त्यसै दिन सिंगापुर फर्किने | कार्यक्रमबमोजिम हेरियो, देखियो । अंग्रेज सरकारले गोर्खाली पल्टनको व्यवस्था गरेकामा मलाई सन्तोष लाग्यो ।
मेजर टाउनसेन्डसँग दुई-तीनपल्ट भेट भयो । म कुन गतिले हवाईजहाजबाट होटेल पुगें भनेर कति जिरह गरेर सोधें । जतिपटक पनि कत्ति चिन्ता गर्नु पर्दैन भनेर मात्रै आलटाल गरे । मलाई भने त्यो बेकाइदाको घटना सम्झिँदा अझै पनि दिक्क हुन्छ ।
***
सम्मेलनको काम सकेर घर फर्किएँ। हवाईजहाजमा सम्मेलनमा भाग लिन आएका आर्सस्ट्रङ नामक ब्रिटिश सरकारका अर्थसचिव पनि मेरा साथमा थिए । त्यस बेला सिंगापुरबाट कलकत्ता पुग्न आठ घण्टाका उडान गर्नुपर्थ्यो । ती अंग्रेज सज्जनले चार-पाँचपटक म नजिक आएर तिम्रो घडीमा कति बज्यो भनेर सोधनी गरे | मैले उनलाई भने, “आर्सस्ट्रङ, तपाईंले सिंगापुरमा एउटा घडी पनि किन्नु भएन । घडी सस्तो थियो ।”
उनले भने, “बेलायत पुगेपछि मैले नया ल्याएँ भनेर भन्सारमा बताउनुपर्छ । बताएपछि भन्सार लागिहाल्छ । के फरक पर्यो र ? अनि मेरो घडी मर्मत गर्न घरमै छाडेर आएको छु ।”
मेरो आङ सिरिङ्ग भयो किनभने मैले दुई पाखुरामा गरेर बाह्रवटा घडी भिरेर ल्याएको थिएँ ।
कलकत्ता आइपुग्यौं । तर त्यस राति कलकत्तै बसी भोलिपल्ट सबेरै रेल चढेर पटना पुग्यौ । पटना पुग्दा सर्चलाइट अखबार हेरेको त म परराष्ट्र मन्त्रालयमा सरुवा भएको खबर छापिएको रहेछ । बल्ल भनेजस्तो मन्त्रालय पाएँ भनेर दंग परें । योजना विकास मन्त्रालयमा पुग-नपुग पाँच वर्षको कार्यकालमा देश विकास प्रक्रियामा अत्यावश्यक पूर्वाधार खडा गर्ने काम पनि भएको भएको थियो । ती काममध्ये देहायका तीन योजनालाई प्रमुख मान्न सकिन्छ । यातायात विकासतर्फ त्रिभुवन राजपथ र गौचर हवाई अड्डा निर्माणका लागि विद्युत विभागनेर ४५ सय किलोवाट क्षमताको डिजेल प्लान्टको जडान ।