कुमार नगरकोटी : म कामको खोजीमा थिएँ । तपाईंको शहरमा मुश्किलले कुनै काम पाइन्थ्यो । त्यसअघि जुन साहित्यिक पत्रिकासित म सम्बद्ध थिएँ, त्यो नराम्रोसित घाटामा गइरहेथ्यो र एक दिन त्यो पूर्णतः बन्द भयो । साहित्यिक पत्रपत्रिकाहरूको नियति नै दुर्भाग्यपूर्ण हुन्छ । सजिलै उपलब्ध हुने साहित्यिक लेख, रचनाका बाबजुद विज्ञापनदाताहरूको निषेधप्रायः सहभागिताले पत्रिकालाई दह्रो मुक्का प्रहार गर्यो । विज्ञापन एजेन्सीका तगडा शर्तहरू धौधौले बेहोर्न सकिन्छ । पत्रिकालाई व्यवसायमूलक बनाउन सकिएन । विज्ञापनदाताहरू पनि साहित्यिक पत्रिका भनेपछि कम महत्त्व दिन्छन् औ त्यस्ता पत्रिकामा विज्ञापन दिनु आफ्नो व्यवसायको हितविपरीत हुने ठहर गर्छन् ।
राजनीतिक निकाय, सरकारी सङ्घ संस्थाबाट जे जति रकम अनुदानस्वरूप पाइन्छ (त्यो पनि ज्यादै मुश्किलले) त्यो रकम पनि लेखकहरू (जसलाई पछिल्ला केही रचनाहरूको समेत पारिश्रमिक दिइएको हुँदैन) लाई प्रदान गर्दा र कर्मचारीहरूको तलब बाँड्दैमा सीमित हुन्छ । यद्यपि शहरमा लेखक, साहित्यकारको सङ्ख्या दिनानुदिन जुन गतिमा बढिरहेको थियो त्यसका बाबजुद पत्रिकाहरू कम निस्कन्थे अनि जे जति अस्तित्वमा थिए ती सबै बन्द हुने तरखरमा थिए ।
मेरो जुत्ताको तलुवा पातलिंदै गयो र खल्ती रित्तो । जति पनि पैसा बाँकी थियो त्यसले आउँदा केही दिन चलाउन सकिन्थ्यो । दैनन्दिन खाँचो पर्ने धेरै सामानहरूमा मैलै कटौती गर्नुपर्ने भयो र कमभन्दा कम गुणस्तरको जीवन सञ्चालन गर्न र म अग्रसर भएँ । दैनिक खबरकागजहरू बन्दै किन्न छाडिदिएँ । दिनमा सरदर पाँच कप चिया पिउने मैले अब एक कप चियामै सन्तुष्टि गर्नुपर्यो यद्यपि चुरोटको गम्भीर मागलाई भने जति प्रयासका बाबजुद पनि कटौती गर्न सकिनँ । तर चुरोटको सङ्ख्या कसरी कम गर्न सकिन्छ भन्ने उपायको खोजी गर्दागर्दै एक दिन के कुरा सुझ्यो भने अब उप्रान्त मैले लेख्ने काम (आदत) त्यागिदिनुपर्छ । एउटा पुस्तकालयभित्र निकालिएको उक्त उपायले केही हदसम्म काम दियो । कारण एउटा लेख, कविता, कथा, नाटक रचना गर्दा जुन सङ्ख्यामा चुरोटको खपत हुथ्यो, त्यसको मात्रामा भने अब कमी भयो । एउटा कविता सिर्जना गर्दा पाँचवटा चुरोट आवश्यक पर्नेमा त्यसपछि एउटाले नै काम चलाउन सकिने भयो ।
सही अर्थमा भन्ने हो भने मैले ‘माग’ र ‘आवश्यकता’जस्ता शब्दको परिभाषालाई केही बदलिदिएँ र ती शब्दहरूलाई पनि मजस्तै लाचार र दुविधाग्रस्त पारिदिएँ । ज्यादै निम्न प्रतिव्यक्ति आय भएको देशमा यावत् भौतिक चाहनाहरूको परिपूर्ति गर्न ज्यादै हम्मे पर्ने हुँदा मेरो दैनिक कार्यभारमा खर्चिने मुद्राले मलाई निरन्तर थिचिरह्यो । यस्तो स्थितिमा एउटा कथाकारले कस्तो कथा जन्माउँछ भन्ने कुरा तपाईं बुझ्न सक्नुहुन्छ । त्यो एक प्रकारको सामूहिक ऐँठन थियो जसले मजस्ता कैयन्लाई मूच्र्छा पार्यो । जीवनका यावत् तुच्छ प्रश्नहरूले मलाई अलमल्याइरह्यो ।
विज्ञापनमा उल्लेखित कुरा (शर्त, उमेर, योग्यता) म अनुकूल थिए । फलस्वरूप अर्को बिहान मैले धेरै मेहनत गरी एउटा लामो प्रार्थनापत्र लेखें जसमा मैले ‘महोदय’, ‘श्रीमान्’, ‘कृपया’ जस्ता शब्दहरूको प्रयोग गरेका थिएँ ।
एउटा लेखकको सम्पत्ति के हो ? एउटा कविले आफ्नो अनुभूति बेचेर कमाएका मुद्राहरूले बाँकी अनुभव र अनुभूतिलाई निरन्तर बचाइराख्न सक्दैन भने ऊ कवि भइरहन कति दिनसम्म सक्छ ? एउटा लेखकले आफ्नो अनुभव, विचार, चिन्तन, चेतना, मस्तिष्क र शब्दहरू बिक्री गरेर प्राप्त भएका दामले ती मानिस सरह (जो केही लेख्दैनन् र सबै पढ्ने गर्छन्) जीवनयापन गर्न सक्दैन भने ऊ कति दिनसम्म लेखक बन्ने र किन बन्ने ? मैले पूर्णतः लेख्ने काम त्यागिदिएँ र एउटा कामको खोजीमा लागें जसले मलाई भोकभोकै मर्न नदेओस् । त्यही कालतिर मैले एउटा अङ्ग्रेजी पत्रिकामा एक उदेकलाग्दो विज्ञापन पढें जसमा लेखिएको थियोः “एउटा मान्छे चाहिएको छ ।”
विज्ञापनमा उल्लेखित कुरा (शर्त, उमेर, योग्यता) म अनुकूल थिए । फलस्वरूप अर्काे बिहान मैले धेरै मेहनत गरी एउटा लामो प्रार्थनापत्र लेखें जसमा मैले ‘महोदय’, ‘श्रीमान्’, ‘कृपया’ जस्ता शब्दहरूको प्रयोग गरेका थिएँ । त्यही दिन विज्ञापनमा उल्लेखित ठेगानाका मैले पत्र पठाएँ ।
केही दिनभित्र जवाफ सहितको छोटो नियुक्तिपत्र प्राप्त गरें ।
मसित केही जिन्सी सामानहरू थिए र त्यसलाई बेचिदिनुपर्ने भयो । कारण ती सबैलाई मैले छोड्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर जुन घरमा म paying–गेस्टको रूपमा बस्दै आइरहेको थिएँ, उनीहरूको भाडा पनि मैले केही समयदेखि चुक्ता गर्न सकिरहेको थिइनँ । ज्यादै कम दाममा मैले फर्निचरहरू एउटा युवकलाई बेचिदिएँ, जो नजिकैको कलेजमा अध्ययनरत थियो । एउटा पेन्टिङ, जो मेरो कोठाको भित्तामा लामो समयदेखि झुन्डिँदै आएको थियो त्यो पनि त्यस युवकलाई सित्तैमा दिएँ । एउटा गतिलो बुट हात पारें र एउटा ओभरकोट किनें । त्यो साँझ म नयाँ बुट र ओभरकोटसितै एउटा बारभित्र छिरें जसको म पुरानो ग्राहक थिएँ ।
अर्को दिनको बिहान मैले पश्चिमतर्फ जाने गाडी समातेँ । यात्रा रमाइलो त हुँदै होइन ।
कतै केही छुटाइरहेंझैं, केही गुमाइरहेझैं भइरह्यो यात्राको अवधिभरि । गाडी कहिले पहाडी खोँचतिरबाट अगाडि बढ्थ्यो भने कहिले घना जङ्लबीचबाट गुज्रँदै सम्म फाँटमा निस्कन्थ्यो । मैले एउटा बूढो बाथको रोगीकहाँ ज्यादै उदेकलाग्दो नोकरी हात पारेको थिएँ । ह्विल–चेयरमा बस्ने एउटा बूढो रोगीको निम्ति मैले पुस्तकहरू पढिदिनुपर्ने थियो र उसका कुराहरू मैले धैर्यसाथ सुनिदिनुपर्ने थियो ।
एक अपरिचित एवम् बिरानो ठाउँमा अन्ततः गाडी रोकियो । बस स्ट्यान्डमा मैले चाँडै के पत्ता गरें भने कोही मलाई खोजिरहेछ । म सजिलै उपलब्ध भए । सफा र सुकिलो पोशाकमा सजिएको व्यक्तिले अभिवादन गर्दै मलाई भन्यो, “मलाई विश्वास छ यात्रा आनन्ददायक भयो होला ।”
“निश्चय नै ।” उक्त शब्द उच्चारण गर्दा मेरो अनुहार बिग्रेको हुनुपर्छ । त्यसले भित्री कुरा थाहा गरेझैं भन्योः “हिंड्नुहोस् जाऔं ।”
मेरो सामान बोकी ऊ अगाडि हिंड्दै थियो र बोल्दै पनिः “कहिलेकाहीं यात्रा उदेकलाग्दो हुन्छ, होइन त ?”
“हो बिलकुल त्यस्तै तर सधैं भने होइन ।”
मेरो सुटकेश टाँगनगाडीमा राख्यो र मलाई बस्न आग्रह गर्यो । एक जोर घोडा ज्यादै सुन्दर र छरिता देखिन्थे । टाँगनगाडीमा बस्दै मैले सोधें, “हामी पुग्नुपर्ने कति टाढा होला ?”
“पाँच माइलजति मात्र । तर हामी सम्साझैं पुग्नेछौं । अलि होशियार भएर बस्नुहोला । बाटो खराब छ र कहिलेकाहीँ घोडा बिच्किदिन्छ ।”
हामी उत्तरतर्फ बढ्यौं । साँघुरो बाटामा टाँगनगाडी एकनासले अघि बढिरहेथ्यो । मौसम सफा भएर पनि म नीरस थिएँ । मलाई यो यात्रा झन् नरमाइलो लाग्यो । कुनै पनि कुरा स्वाभाविक लागिरहेको थिएन । सपनामा देखिने काल्पनिक प्रदेश अथवा कुनै डरलाग्दो एवम् अँध्यारो सुरुङतिर गइरहेछु जस्तै लाग्थ्यो । अनौठा विचारहरूले आक्रमण गरिरहे । साँझतिर हामी त्यस घरमा पुग्यौं ।
जङ्गलहरूबीच त्यो घर अवस्थित थियो र मैले मेरो जीवनको महङ्खवपूर्ण उमेर त्यही जङ्गल वरपर बिताउनुपर्ने थियो । मलाई सम्झना छ त्यस रात बूढाले ज्यादै सम्मानपूर्वक मलाई स्वागत गरेको थियो । त्यस्तो एकान्त निर्जन ठाउँमा त्यसले कसरी आफूलाई बचाइरहेछ भन्ने प्रश्नले मलाई पछिसम्म पछ्याइरह्यो र मलाई पहिलोपटक यस्तो लाग्यो म पनि बूढो हुनैपर्नेछ । उसको अनुहारमा मैले आफ्नै अनुहार प्रतिबिम्बित भएको पाएँ । एउटा बूढो, जो ह्विल–चेयरमा आखिरी घडीसम्म बस्छ र त्यहीं मर्नेछ, जसको अनुहार दोस्तोयब्स्कीका उपन्यासहरूमा पाइने विचित्र पात्रहरूको जस्तै छ । मैले बूढालाई नम्र र शिष्ट अभिवादन प्रस्तुत गरें । उसले मलाई सहर्ष स्वीकार्यो र मेरो सेवाको अवधिमा मैले पालना गर्नुपर्ने कुरो सुनायो, जो निम्न छन्ः
उसको इतिहास, अतीत या ऊसम्बन्धित कुनै पनि गोप्य प्रश्नहरू मैले राख्न उचित हुनेछैन ।
तोकिएको समयमा म उसको सामु उपस्थित हुनैपर्नेछ ।
व्यवहारमा कुनै औपचारिकता रहनु हुँदैन ।
सदा स्वच्छ मूडमा रहनुपर्नेछ ।
मैले शिक्षकको जस्तो व्यवहार गर्नु मुर्खतापूर्ण हुनेछ कारण म उसलाई पढाउनको निम्ति नियुक्त भएको थिएँ । शारीरिक असक्षमताले ऊ आफैँ पढ्न नसकेकाले केवल पुस्तकमा लेखिएका कुराहरू सरसर्ती सुनाउनुपर्नेछ, जसलाई बुझ्न ऊ मानसिक रूपमा सक्षम छ ।
ती शर्तहरूलाई ध्यानमा राखेर मैले काम गर्नुपर्ने भयो र त्यसबापत मैले पारिश्रमिकको हकमा पैंतालीस सय रुपैयाँ तलब पाउने भएँ ।
त्यो भव्य घरमा थुप्रै कोठाहरू थिए र मेरो निम्ति मैले एउटा दामी कोठा पाएको थिएँ । पश्चिमतर्फ फर्केको त्यो कोठा विभिन्न महँगा सामानहरूले सिंगारिएको थियो । पुस्तक च्याम्बरमा अनगिन्ती पुस्तक थिए । ती सम्पूर्ण पुस्तक मैले पढ्नुपर्ने थियो । बूढाको निम्ति । मैले के सोचें भने ती सबै पुस्तक नपढ्दै बूढो मर्नेछ र म, जो त्यति बेलासम्म स्वयम् बूढो भइसकेको हुनेछु ती बाँकी पुस्तक पढ्नको निम्ति मैले कुनै अर्काे मान्छे नियुक्त गर्नुपर्नेछ ।
बूढाले त्यो रात टैगोरको गीताञ्जली पढ्ने रहर व्यक्त गर्यो । बूढो र मबाहेक त्यस घरमा एउटा घरकुरुवा पनि बस्थ्यो, जो स्वयम् बूढो थियो, त्यसले घरको रेखदेख र बूढाको हेरविचार गर्नुपथ्र्याे । त्यस रात मैले गीताञ्जली पढेर सुनाएँ । बूढो ओछ्यानमा ढल्केको हुन्थ्यो र बीचबीचमा निदायो कि भनी म उसलाई हेर्ने गर्थें । तर ऊ भन्थ्यो, “पढ्दै जानुस् । म निदाएको छैन ।”
कविता अङ्ग्रेजी अनुवादको थियो र प्रत्येक शब्दहरूमा भावनाका तरङ्गहरू मिसिएका थिए । कविताका पाउहरूमा, शब्दहरूमा म चुर्लुम्म हुन्थे । तैरन्थें र लाग्थ्यो ती धुलौटे बाटाहरूमा ईश्वरको गीत गाउँदै हिंड्ने मान्छे म नै हुँ । आफ्नो कुटीभित्र जुन प्रार्थनाकक्षमा कवि ईश्वरको गानामा चुर्लुम्म डुब्छन्, यस्तो लाग्थ्यो म पनि कविसितै भावविह्वल भएको छु । बूढाको आवाज सुनें, “रोक्नुस्, कृपया रोक्नुस् ।”
बूढो रोइरहेथ्यो । यतिन्जेलसम्म बूढो रुँदै रहेछ । उसका आँखा आँसुले लतपतिएका थिए । आँसु बूढाको बायाँ कन्चटको पातलो त्वचा भिजाउँदै बगिरहेथ्यो । आँसु पुछ्न उसका हातहरू असक्षम थिए । चाहेर पनि आफ्नो आँसुलाई मबाट लुकाउन सक्दैन थियो । धमिलो स्वरमा उसले भन्यो, “मलाई क्षमा गर्नुहोला…”
ऊ भन्दै थियो, “मेरा असल दिनहरूको सम्झना आयो । म विश्वविद्यालयमा चिकित्साशास्त्रको अध्ययन गर्थें र त्यहीं मेरा अन्तिम दिनहरू गुज्रँदै थिए । म त्यति बेला स्वस्थ थिएँ र एक अधबैंसे । तपाईंकै उमेरको हुँदो हुँ । मेरी एउटी असल साथी थिइन् । उनी स्नायुविज्ञानको अध्ययन गर्थिन् र विश्वविद्यालयको कोर्स पूरा गरेर उनी क्याम्ब्रिज गइन् । धेरै समयपश्चात् आज उनको याद ताजा भएर आयो । शायद अहिले उनी पनि मजस्तै बूढी भइसकिहोलिन् ।”
शुरुका केही काल मैले ज्यादै कठिनतासाथ बिताउनुपर्यो । राति अबेरसम्म पढिरहँदा गला बिग्रन्थ्यो र निद्राले चुर हुन्थें तर पनि बूढो पढ्दै जानुस् भन्थ्यो ।
बूढाको ओठमात्र हल्लन्थ्यो र म ती शब्दहरू सुनिरहेथें, जो व्यथाले भरिपूर्ण थिए । लाग्थ्यो ऊ आफैँ एक्लै बडबडाइरहेछ । स्यामुल बेकेटका नाटकहरूमा एक्लै बडबडाइरहने पात्रहरू जस्तै ।
बूढोसित मेरो राम्रो सम्बन्ध स्थापित भयो । शुरुका केही काल मैले ज्यादै कठिनतासाथ बिताउनुपर्यो । राति अबेरसम्म पढिरहँदा गला बिग्रन्थ्यो र निद्राले चुर हुन्थें तर पनि बूढो पढ्दै जानुस् भन्थ्यो । पछि ती सबमा बानी पर्दै गयो । कुनै पनि परिस्थितिमा मान्छे जिउन सक्दो रहेछ । रातभर पढेर बस्ने बानी बन्यो । रातको बदलामा म दिनभरि सुत्न थालें । एक प्रकारले भ्याम्पायरको जस्तै जीवनप्रणाली उपभोग गरें ।
सूर्योदयका केही क्षण म अनुभव गर्थें र ब्युँझँदा सूर्यास्त भइसकेको हुन्थ्यो । मुश्किलले म घरबाहिर पाइला टेक्थें । लाग्थ्यो मेरो कोठा एउटा ठूलो ‘कफिन–बक्स’ हो, जहाँ म दिनभर थुनिएर रहन्थें । अनगन्ती पुस्तकहरूको अध्ययन गरें र बुढालाई त्यसले नयाँ ऊर्जा प्रदान गर्यो । त्यसको विपरीत म ती अध्ययनकार्यले पिल्सिँदै गएको महसुस गर्न थालें । अक्टोभिया पाज, काफ्का, कामु, निर्मल वर्मा, गाब्रियल गार्सिया मार्खेज, माक्सिम गोर्की, दोस्तोयब्स्की ! यी यस्ता नामहरू थिए, जसको परिचय मैले आफ्नो स्वाध्ययनका कालहरूमा पाइसकेको थिएँ ।
बुढाको पुस्तक च्याम्बरमा अनेकौं साहित्यका त्यस्ता किताबहरूको सङ्ग्रह थियो, जुन किताबहरू बजारमा मुश्किलले पाउन सकिन्थ्यो । बुढाको कोठामा मैले मैनबत्तीको प्रकाशमा घन्टौं गह्रुँगा पुस्तकहरू पढ्नुपर्र्थ्र्यो । टोल्सटोयका पुस्तक पढ्ने रातहरूमा बूढो ओछ्यानमा नसुती एक कुनामा आफ्नो ह्विल–चेयरमा बसी सुनिरहन्थ्यो । ‘अन्ना कारेनिना’ पढ्ने बखत ऊ आफ्ना आँखा खुल्ला पाथ्र्याे र भन्थ्यो, “श्रीमती रामसेले भ्रोन्स्कीलाई खलनायक भनेकी थिइन् । भर्जिनिया उल्फको उपन्यास To the Lighthouse मा श्रीमती रामसेले भ्रोन्स्कीलाई ठाडै ‘भिलेन’ भनेकी छ । तपाईंलाई कस्तो लाग्छ, भ्रोन्स्की खलनायक हो ?”
म हो या होइन भन्ने छोटो जवाफ दिँदिनथें र नायक एवम् खलनायक दुवै हो भन्ने आशयका कुरा व्यक्त गर्थें । उपन्यासभरि उसले टोल्सटोयको अविस्मरणीय पात्र अन्नालाई खोजिरहन्थ्यो । पृष्ठ नं. ७५५ मा अन्नाले आत्महत्या गर्छे । त्यो पृष्ठ पढिसिध्याएर मैल्ले पुलुक्क बूढाको अनुहार हेरेको थिएँ । ऊ साह्रै गम्भीर देखिन्थ्यो । ऊ चुपचाप केही नबोली मौन बसिरह्यो । केही दिनमै त्यो उपन्यास सिध्याएँ ।
Anna Karenina को ह्याङ्ओभर बाँकी नै थियो । त्यसको दुई दिनपश्चात् War and Peace शुरु गर्नुपर्ने भयो । एकैसाथ थुप्रै पात्रहरू उपन्यासमा चलमलाउँछन् । पियरे बेजुखोब र आन्द्रे बोल्कोन्स्कीले बुढालाई निकै प्रभावित पारे । बुढो एक कुनामा सुनी बस्थ्यो र म मैनबत्तीको मद्धिम प्रकाशमा आधा घोप्टिएर उपन्यास पढिरहेको हुन्थें-
When an apple has ripened and falls, why does it fall ? Because of its attraction to the earth, because its stalk withers, because it is dried by the sun, because it grows heavier, because the wind shakes it, or because the boy standing below wants to eat?
Nothing is the cause. All this is only the coincidence of condition in which all vital organic and elemental events occur. And the botanist who finds the apple falls because the cellular tissue decays and so forth, is equally right with the child who stands under the tree and says the apple fell because he wanted to eat it and prayed for it. Equally right or wrong is he who says that Napoleon went to Moscow because he wanted to, and perished because Alexandar decided his destruction and he who says that an undermined hill weighing a million tons fell because the last navy struct it for the last time with his mattock. In historic events, the so called great men are lables giving names to events and like labels they have but the smallest connection with the event itself.
एक रात बूढाले यस्तो प्रश्न सोध्योः
“जब एउटी आमाको पाठेघरमा एउटा भ्रूण सम्पूर्ण विकसित हुन्छ र एउटा बच्चा जन्मन्छ त्यो किन जन्मन्छ ? वीर्यदान गर्ने पुरुषको वंश फैलाउन त्यो जन्मन्छ या प्रकृतिको नियमलाई सञ्चालन गर्न जन्मन्छ ? एउटी युवतीलाई आमा बनाउन जन्मन्छ या केवल मर्नको निम्ति त्यो जन्मन्छ ? त्यो जन्मसित यस्ता कारण र तर्कहरू किन जन्मन्छन् ?”
बूढो सोध्दै जान्छ तर म उपन्यास पढिरहन्छुः
The highest wisdom is not founded on reason alone, not on those worldly science of physics, history, chemistry and the like, into which intellectual knowledge is divided. The highest wisdom has but one science the science of the whole, the science explaining the whole creation of man’s place in it. To receive that science it is necessary to purify and renew one’s innerself and so before one can know, it is necessary to believe and to perfect one’s self, and to attain this end we have the light called conscience, that God has implanted in our souls.
War and Peace पश्चात् टोल्सटोयकै Confession पढें । खराब र असलबीचको द्वन्द्व, सत्य–असत्यको सम्बन्ध, जीवन–मृत्युको सङ्घर्ष, चेतना एवम् विवेकका प्रश्न, भविता एवम् रहितताका प्रश्न, धर्म एवम् दर्शनका यावत् प्रश्नहरूको सङ्क्रमण तथा मानसिक उत्पीडनले ऋयलाभककष्यल घेरिएको पाएँ । आत्महत्याका प्रचुर सङ्कल्प तथा आह्वानमा टोल्सटोय त्रस्त बनेका छन् । यस्तैमा एक रात बूढाले भन्योे, “जब मान्छे मृत्युको सम्मुख उभिएर जीवन अनुभूत गर्छ तब त्यस्तै परिस्थितिहरूको सामना गर्नुपर्ने हुने रहेछ । टोल्सटोय ती यावत् मेटाफिजिकल उत्पीडनहरूका बाबजुद पनि जीवनलाई प्रेममार्गतिर डोर्याउँछन् र त्यही मार्गमा जीवनलाई घिसार्ने प्रयत्न गर्छन् । म स्वयम् पनि कहिलेकाहीं यस्ता कुराहरू सोच्ने गर्छु— यी सब किन ? केका निम्ति हामी बाँच्दछौं ? सुख आर्जन गर्नको निम्ति किन हामी सदा दुःखहरूसित भिड्ने गर्छौं ? हाम्रा दुःखका सीमाहरू खुम्चिनुको सट्टा किन झन्झन् तन्कँदै जान्छन् ?
केलाई, कुन समयलाई सुखको अवधि मान्ने ? मेरो विगतका अवधारणाहरू अब बदलिंदै छन् र म मान्छे बन्ने क्रममा छु । म स्वयम् एक प्रेमी हुँ— प्रकृतिप्रेमी, मानवप्रेमी, जीवनप्रेमी र मृत्युप्रेमी । मृत्युदेखि म सदा भयभीत रहें । त्यो मृत्यु, जो हरेक मान्छेको परिणति हो त्यसलाई मैले सदा घृणा, तिरस्कार गरिरहें । त्यो मृत्यु जसबाट तपाईं, म सबैले गुज्रनुपर्दछ । यी सब कुराहरूको अभावमा म बाँचेको थिएँ ।
जीवन, संसारप्रतिको मेरो धारणा, चिन्ता एवम् अभिरुचिहरूमा कुनै कुरा या भनूँ कुनै अनिवार्य तत्वको कमी महसुस हुन्थ्यो जसले मेरा ती उद्बोधनीयताहरूलाई समग्रमा स्पर्शहीन या महत्ताहीन पारिदिएको थियो । मसँगै अस्तित्वमा रहेका मेरा परिस्थिति, दशा, परिवेशका अन्तरद्वन्द्वहरूले पनि मेरो जाग्राम मस्तिष्कलाई प्रभावित पारेनन् । कारण मेरा चिन्ताका विषयहरू, चिन्तनका सरोकारहरू केवल जीवनजनित उद्देश्यहरूमा मात्रै केन्द्रित थिए । एउटा बूढो बाथको स्थायी रोगी आफ्नो ह्विल–चेयरमा बसी यिनै कुराहरू सोच्थ्यो कि जीवनमा प्रेमको नितान्त आवश्यकता छ र जुन प्रेमको खोजीमा ऊ सधैं छटपटाइरहन्थ्यो । मैले आज ती सबै चिज पाएँ, जुन प्राप्त गर्नको निम्ति ईश्वरले मलाई योग्य बनाउनुभएको छ ।”
म उसका कुराहरू धैर्यसाथ सुन्थें र उसको गर्वले भरिएको आवाज ज्यादै कर्णप्रिय बन्थ्यो । त्यसपछिका दिनहरूमा बूढाको अनुहार चम्कन थालेको मैले आभास गरें । कहिलेकाहीं निकै लामो बहस चल्थ्यो हामीबीच र बूढाले अन्तमा मलाई पराजित पारिदिन्थ्यो । गम्भीर पुस्तकहरू पढिँदै गयो । हेमिङ्वेका पुस्तकहरू पढ्ने समयतिर बूढो सानो बच्चाको जस्तो व्यवहार गर्न थाल्थ्यो र हाँस्थ्यो । ऊ हाँस्दा मलाई निकै रमाइलो लाग्थ्यो र म पनि किताब पढ्न छाडेर बूढाको असीम हाँसोमा हराउँथें । The Old Man and the Sea मा हेमिङ्वेले ‘ऊ’ जस्तै चरित्रलाई उपन्यासको नायक बनाएका थिए । बूढा भन्ने गर्थ्र्यो, “मलाई पनि माछा मार्ने रहर छ । हेमिङ्वेले कति सुन्दर उपन्यास लेखेका, होइन ?”
“हो ज्यादै सुन्दर र हृदयस्पर्शी ।”
बूढो भन्थ्यो– “हृदयस्पर्शी भनेको के हो ?”
म छोटो जवाफ दिन्थें– “मन छुने खालको ।”
“मन कहाँ हुन्छ ?”
यी यहाँभित्र हुन्छ भनी म छाती देखाउँथें र बूढाले मेरो छातीको रौंहरू देख्थ्यो, खुब हाँस्थ्यो र ठट्टा गथ्र्याे, “तिम्रो मनभित्र पनि रौं उम्रेका होलान्, होइन ? कालाकाला ठाडा रौं ।”
म हाँस्थें, बूढो हाँस्थ्यो । संयुक्त हाँसोका खित्काले कोठा गुँज्थ्यो । फेरि भावावेशमा आई बूढो भन्थ्यो, “गहिरो समुद्र्रमा माछा मार्न जानु कति आनन्ददायक हुन्थ्यो होला । म अस्वस्थ नहुँदो हुँ त म पनि त्यसैगरी माछा मार्न जान्थें र ती समुद्री तटका बालुवा र सिंहका सपनामा हराउँथे ।”
म बुढालाई भन्थें, ऊ समुद्रमा माछा मार्न जानेछ र समुद्री तटका बालुवा र सिंहका सपनामा हराउनेछ । उपन्यासको बुढाले झैं उसले पनि आफ्नो ट्याङ्कामा विश्वविद्यालयमा अध्ययन गर्दा भेटेको उसकी साथीको धमिलो तस्वीर राख्नेछ जसलाई ऊ कहिलेकाहीं उदास हुँदा सम्झनेछ र उपन्यासको बूढाले झैं फुच्चे केटोले बारबाट उधारो ल्याएको बियर पिउनेछ र उसैले ल्याइदिएको कम्बल ओढेर खबरकागजहरूलाई ओछ्याएर त्यसैमा निदाउनेछ, एउटा चीसो कोठामा ।
हेमिङ्वेका उपन्यासहरू पढ्दा एउटा बेग्लै मीठो अनुभूतिले हृदय तथा मस्तिष्कलाई स्पर्श गर्छ, जुन अनुभूति मनको गहिरो सुरुङबाट तिर्खा र प्यास लगाउँदै उत्पन्न हुने गर्छ । Farewell to Arms प्लस For whom the Bell Tolls पढ्दा बूढाको अनुहार त्यो बच्चाको अनुहारझैं प्रतीत हुन्थ्यो, जो भर्खरै आफ्नी आमाको दूध चुसेर मस्त निद्रामा सुतेको छ ।
भिक्टर ह्युगोको The Hunchback of Notre Dame पढ्ने समयहरूमा बूढो केही गम्भीर देखियो । Les Miserables पढ्ने रातहरूका बूढो ओछ्यानमा पल्टेर सुन्न थाल्थ्यो र कहिलेकाहीं आफैँ बडबडाउन थाल्थ्यो । ती एक्ला संवादहरू म अक्सर बुझ्दिनथें र जेजति बुझ्थें, ती पनि कुनै अर्थबिनाका नै हुन्थे । त्यसैताका पुस्तक च्याम्बरमा जे. कृष्णमूर्तिको एउटा कविता फेला पारें— The Hunchback of Notre Dame मैनबत्तीको मधुरो प्रकाशमा उक्त कविता पढ्दा मलाई एउटा पृथक् आनन्दको अनुभूति हुन्थ्यो जसलाई शब्दमा वर्णन गर्न सकिँदैन । उक्त कविता बूढाले त्यही रात कण्ठ पार्यो । आँखा चिम्लेर गुनगुनाउन थाल्योः
I have no name
I am as the fresh breeze of the mountains
I have no shelter;
I am as the mending mother;
I have no sanctuary, like the dark Gods;
nor am I in the shadows of deep temples;
I have no sacred books
nor am I well seasoned in tradition.
I am not in the incense
mounting on high altrars,
nor in the pomp of ceremonies
I am neither in the graven image
nor in the rich chant of melodious voice.
I am not bound by theories
nor corrupted by beliefs.
I am not held in the bondage of religions
nor in the pious agony of their priests
I am not entrapped by philosophy
Nor held in the power of their sects.
I am neither low nor high
I am the worshipper and the worshipped.
I am free
My song is the song of river
calling for the open seas.
Wandering, wandering
I am life.
मेरो धेरै वर्षहरू गुज्रँदै गए । यस्तै एक रात यस्तो भयोः केही दिनअघि बेकेटको Watt नामक उपन्यास सिध्याएको थिएँ र म त्यो रात जेम्स जोयसको Finnegan Wake मा शुरुतिरका केही मनोलोगहरू पढिरहेको थिएँ । अकस्मात् कोठामा चीसो बतास छिर्यो र सबै मैनबत्ती निभाइदियो । मैले चुरोट पिउन त्यागेको धेरै भइसकेको थियो र सलाई मसित थिएन । टेबल वरपर म सलाई खोज्न छामछुम गरिरहेथें । त्यसै बेला बूढो चिच्यायो, “को हो ? को हो त्यो ? मलाई किन मार्न चाहन्छौ ? मलाई नमार ।”
त्यो शरद्को एक रात थियो र अर्धचन्द्रमाको धमिलो उज्यालोले कोठा मधुरो देखिएको थियो । मैले बूढालाई के भयो, किन यसरी डराउनुभयो, नराम्रो सपना देख्नुभयो कि ? भनी सोधें । सलाई अझै फेला परेको थिएन । बूढाले उस्तै आवाजमा भन्यो, “को हो त्यो ? मलाई किन मार्न चाहन्छ ?”
– यहाँ त कोही पनि छैन, मबाहेक अरू कोही पनि यहाँ छैन ।
– होइन होइन यहाँ अर्काे पनि कोही छ । के तपाईं देख्न सक्नुहुन्छ ?
मैले सलाई भेटिनँ । केही समयपश्चात् घरकुरुवा बूढो हतारहतार आयो र मैनबत्ती जलायो । बूढो निदाइसकेको थियो र किताबलाई त्यहीं राखी म आफ्नो कोठातिर गएँ ।
हो ! मलाई स्पष्ट सम्झना छ । त्यही रातदेखि हो, मैले बुढाको हत्या गर्ने योजना बनाएको । मेरो मस्तिष्कमा एउटा हत्याको विचार र योजना पछिसम्म अन्तरग्रस्त रहिरह्यो । मेरा ती समय निकै तनावग्रस्त एवम् दुविधाग्रस्तमा बिते । म बूढाको हत्याको पूर्वकल्पनामा छटपटाइरहेको हुन्थें । बूढालाई म उज्यालोमा, आँखा खोलिरहेको अवस्थामा मार्न चाहन्थें ।
तपाईं कुनै हत्याका योजनामा हुनुहुन्छ र हत्या गरिइने व्यक्ति तपाईंकै अगाडि ईश्वरको, जगत्को, प्रेमको, आस्थाको, विश्वासको, जीवनको कुरा गर्न थाल्छ भने तपाईं के गर्नुहुन्छ ? ईश्वरको कुरा गरिरहेको बेला, प्रेमको कुरा गरिरहँदा, आस्था, विश्वास र जीवनको कुरा गरिरहेको बेला कसैलाई मार्नु निश्चय नै चुनौतीपूर्ण एवम् कठिन काम हुन्छ । फलतः ईश्वरको प्रार्थनामा लीन भइरहेको बेला त्यो बूढालाई मैले धेरै प्रयासका बाबजुद मार्न सकिनँ ।
त्यो कथाको नायकले एउटा बूढालाई मैले जस्तै यसैगरी धेरै दिनदेखि मार्न खोजिरहन्छ । त्यो बूढालाई त्यो नायकले मार्छ । त्यो कथा मैले धेरैपल्ट पढिसकेको थिएँ ।
जो हृदय, मस्तिष्क र शारीरिक सबै हिसाबमा मजबुत हुन्छ त्यसलाई मार्न सजिलो छ । तर कुनै कविलाई मार्नु ज्यादै कठिन काम हो । म कुनै अवचेतन प्रक्रियाद्वारा नभई चेतनाको, विवेकको प्रवाहमा बगेर बूढालाई सिध्याउन चाहन्थें । एक रात बुढालाई मार्ने पक्का निश्चय गरी म उसको कोठामा छिरेको थिएँ । जोन स्टिनबेकको The Grapes of Wrath को मध्यभागतिरको पृष्ठहरूमा पुगेको थिएँ । उपन्यासका हरफहरू म ज्यादै लापरबाहीपूर्वक पढिरहेको थिएँ । आधा राततिर मैले पढ्न बन्द गरिदिएँ र बूढालाई हेरें । बूढो ओछ्यानमा लम्पसार पल्टेको थियो र उसका आँखा सिलिङमा अड्किएका थिए । बूढाको मुखबाट र्याल चुहिंदै घाँटीसम्म बगिरहेको थियो । मेरो मस्तिष्कमा एकैपटक अनेक विचित्रका तरङ्गहरू प्रवाहित हुँदै गए । बूढो निश्चिन्त केही नबोली सिलिङ हेरिरहेको थियो । मैले सोचें ठीक छ अब मैले यसलाई सिध्याउनुपर्छ । अनि कुनै आवाज ननिकाली म पलङनिर पुगें । मैले बूढाको घाँटी दबाएँ भने बूढो पाँच सेकेन्डमै कुनै हलचल नगरी मर्नेछ । एड्गर आलन पोको एउटा कथामा पोले यस्तै एउटा हत्याको वर्णन गरेका छन् । त्यो कथाको नायकले एउटा बूढालाई मैले जस्तै यसैगरी धेरै दिनदेखि मार्न खोजिरहन्छ । त्यो बूढालाई त्यो नायकले मार्छ । त्यो कथा मैले धेरैपल्ट पढिसकेको थिएँ । त्यो कथाको नायकले बूढालाई मार्नुपर्ने कारण केवल उसका दुई गिद्धे आँखा थिए । ऊ ती आँखालाई अचाक्ली घृणा गथ्र्यो । तर म यो बूढालाई किन मार्न खोज्दै थिएँ ? के कारणबाट प्रेरित भई म यो बूढालाई नष्ट गर्न चाहन्थें ? तर मैले के सोचें भने कसैलाई मार्न कुनै कारण चाहिंदैन । कसैलाई मार्नु एउटा अपराध हो र अपराधलाई जति नै असल–खराब कारण र तर्कहरूले सिंगारे पनि त्यो केवल अपराध सिवाय केही होइन । म पनि अपराध गर्न लाग्दै थिएँ, जसको कुनै कारण थिएन । कलाको निम्ति कला भनेजस्तै अपराधको निम्ति अपराध । म आफ्ना दुर्दिनहरूमा (बेरोजगारका दिनहरूमा) ढोका बन्द गरी बिंडी पिउने गर्थे । सिग्रेटको आकाङ्क्षामा हुर्केको तपाईं पैसाको अभावमा जब एउटा सिग्रेटको बराबरीमा पाँचवटा बिंडी पिउन सकिन्छ भन्ने कुरा थाहा पाउनुहुन्छ तब तपाईं के गर्नुहुन्छ ? हो, म बिंडी पिउने गर्थें र त्यो बन्द कोठामा भित्ताको पेन्टिङ हेर्दै बिंडी सल्काउनु कति कलात्मक हुन्थ्यो भने म आश्चर्यचकित हुने गर्थें । जे चिजमा पनि म कलात्मक अभिव्यक्ति खोज्न थाल्थें । त्यो रात बूढाको घाँटीमा सुकिरहेको र्याल देखेर मैले के सोचें भने म केवल एक खिल्ली किङ्ग साइज्ड सिग्रेट सल्काउन गइरहेको छु । त्यो मर्डर मैले एक खिल्ली सिग्रेट सल्काएको जस्तै ज्यादै सामान्य तालले गर्न लागिरहेको थिएँ । उसको नजिक जाँदा मैले के चाल पाएँ भने बूढो मन्द स्वरमा गीत गाइरहेको थियो । त्यो आवाज कति धमिलो थियो भने तपाईं उसको हल्लिरहेको ओठ देखेर मात्र अनुमान गर्न सक्नुहुन्थ्यो कि ऊ केही बोलिरहेछ । मैले उसको मधुरो आवाज सुनेंः
My song is the song of river
calling for the open seas…
…wandering, wandering
I am life.
थाहा छैन, कुन कुराले मेरो मस्तिष्कलाई झट्का दियो । ज्यादै उकुसमुकुस हुँदै म त्यो कोठाबाट बाहिरिएँ ।
मलाई आजभोलि लाग्छ त्यति बेला अथवा भनूँ ती काल, ती समय, ती याम, ती दिन, ती रात, ती वर्षहरूमा म घटनाहरूको अभावसितै बाँचिरहें । घटनाको कुनै संलग्नताबिना, कारबाहीबिना, सम्पर्कबिना जीवन व्यतीत गर्नुपर्दा मान्छे ज्यादै विक्षिप्त बन्दो रहेछ । मसित केवल परिस्थितिहरू थिए जसको सञ्चालन गर्न मसित घटनाहरू थिएनन् ।
बूढाहरूलाई मार्ने योजना त्यागिदिएँ । बूढालाई मार्दा म केवल एक घटना पाउँथें । तर जति दिन मैले बूढालाई मार्ने योजना बनाएँ र त्यसलाई प्रयोगात्मक स्वरूप प्रदान गर्न खोजें (theory & experiment को सिद्धान्तझैं) त्यस बेला कमसेकम मैले कुनै परोक्ष घटना उपभोग गरिरहेको थिइनँ र ? परिस्थितिको अस्तित्वमा (या भनूँ सत्तामा) प्रत्यक्षतः पदार्पण नगर्ने ती परोक्ष घटनाका सिलसिलेवार प्रसङ्गहरूमा मेरा मनोदशा, विचार, भावना अन्तरग्रस्त थिएनन् र ! जसलाई मैले बेहोशी अवस्थामा महसुस गरेको नै किन नहोस् ! यद्यपि केही समयसम्म त्यो हत्याको ह्याङओभर मैले आभास गरिरहें र त्यसलाई सुमसुम्याउँदै केही दिनहरू बिताएँ ।
नित्सेको Thus Spake Zarathustra का अवधिहरूमा म अलिक सनकी भएँ । एक दिन बुट लगाएँ र ओभरकोट भिरेर म त्यो घरको ‘कफिन–बक्स’बाट निस्कें र धेरै टाढा लागें । वसन्तयामको शुरुवात भएको हुनुपर्छ र म निरुद्देश्य हिंडिरहें । धेरै टाढाको एउटा गाउँमा प्रवेश गरें । त्यो गाउँ चारैतिर फैलिएको थियो । भनिरहनु परोइन मैले त्यस गाउँमा महिना दिनजति बिताएँ । त्यो गाउँमा प्रायः मङ्गोलियन मूलका मानिसहरूको बसोबास थियो र मेरो अनुहार उनीहरूसित ठ्याम्मै नमिल्ने । त्यही एक महिनाको अवधिमा मैले एउटी मङ्गोलियन युवतीलाई मन पराएँ । ऊ केही होची भए पनि ज्यादै सुन्दर थिई । केटीको परिवार अत्यन्त गरिब थियो र मैले मसित भएका केही नगद उनीहरूलाई दिएँ । म त्यस मङ्गोलियन युवतीलाई अक्सर गरी पूर्वपट्टिको चिहानडाँडामा भेट्ने गर्थें । त्यो चिहानडाँडामा मानिसहरू कम आउने गर्थे । बौद्ध धर्मावलम्बीको गुम्बा केही पर देखिन्थ्यो । युवतीले मलाई त्यहाँ अक्सर लाने गर्थी । भिक्षुहरूको जीवन देखेर म अत्यन्त डराउँथें र आफूलाई प्रशस्त घृणा गर्न मन लाग्थ्यो । उनीहरूको सरल जीवन देख्दा यस्तो लाग्थ्यो म किन बाँचिरहेछु ? मैले पछि त्यस मङ्गोलियन युवतीलाई त्यही निर्जन तथा जङ्गलबीच अवस्थित घरमा ल्याइपुर्याएँ र एउटा कोठामा बस्ने प्रबन्ध मिलाएँ ।
बूढालाई यी सब कुरा केही थाहा थिएन र एक महिना म कहाँ हराएँ त्यो पनि सोध्न चाहेन । एक रात म केटीको कोठामा पुगें र उसलाई ज्यादै दिग्दारीको अवस्थामा फेला पारें । ती प्रशस्त पुस्तकहरूका सम्मिश्रित दर्शन एवम् चिन्तनहरूले मलाई अनौठो जङ्गलतिर डोर्याउँदै थियो र मलाई त्यो रात एउटी मङ्गोलियन आइमाईको नाङ्गो फिलाले भयभीत पारिदियो ।
मङ्गोलियन युवतीको नग्न शरीरमा मात्र म सीमित रहें र त्यही मुलायम–Flesh मा म पौडिइरहें । बिर्संदै गएँ मैले आफूलाई र समग्रमा आफ्नै अस्तित्वलाई ।
मानवीय संवेगजस्ता विषयहरू सिजी युङ्ग र सिग्मन्ड फ्रायडका पुस्तकहरूमा म भेट्ने गर्थेँ । त्यसतर्फ मेरो आकर्षण विलुप्त भइसकेको रहेछ र एक यौनजनित कुण्ठा मभित्र दमित भई अवचेतन मस्तिष्कमा समाहित भई बसेको रहेछ भन्ने कुरा आजभोलि मलाई लाग्ने गर्छ । गुस्ताव युङ्गको सामूहिक अवचेतनाबाट म ब्युँझे । एउटा मङ्गोलियन युवतीको नाङ्गो फिला सुमसुम्याउन पुगें ।
जतिजति म केटीभित्र प्रवेश गर्दे गएँ मैले सम्पूर्ण दर्शन, चिन्तन, जगत्, ईश्वर बिर्सें । मङ्गोलियन युवतीको नग्न शरीरमा मात्र म सीमित रहें र त्यही मुलायम–Flesh मा म पौडिइरहें । बिर्संदै गएँ मैले आफूलाई र समग्रमा आफ्नै अस्तित्वलाई ।
तर मेरो शारीरिक उत्तेजना अकस्मात् शिथिल भयो जब मैले चरमोत्कर्षतिर युवतीको चित्कार सहितको एउटा अब्स्ट्राक्ट एवम् अब्सर्ड आवाज सुनें
– भोक लाग्यो ।
म शिथिल भइसकेको थिएँ र युवतीको नग्न शरीर हेर्दै एउटा अवाक् तथा अवर्णनीय स्थितिको सामना गरिरहेको थिएँ । कहिलेकाहीं कुनै निश्चित स्थितिमा बोलिएको एक टुक्रा सानो संवादमा पनि असीमित गुरुत्व समाहित हुँदो रहेछ ।
म प्रकृतिविरोधी होइन । प्रकृतिको विरोधमा उभिने प्रयत्नहरूका बाबजुद पनि म कुनै न कुनै प्रकारले प्रकृतिकै नियम एवम् शर्तद्वारा सञ्चालित हुनैपर्छ । युवतीको भोकका निम्ति मैले भोजनको बन्दोबस्त गर्नुपर्ने थियो । मानिस प्रवृत्तिको शिकारद्वारा ग्रस्त हुने गर्छ र म पनि यदाकदा त्यस्तै प्रवृत्तिबाट ग्रस्त हुनु स्वाभाविक थियो ।
पूर्णरूपमा मैले मन र हृदयको सत्तालाई अस्वीकार गरिदिएँ । फ्रायडले भनेजस्तै ईश्वरवादलाई मैले प्रपञ्च एवम् मानिसको चित्ररोग तथा सामूहिक भ्रम नै ठानिदिएँ । कहिलेकाहीं फ्रायडका पुस्तकहरूबाट निकालिएका केही हरफ म बूढालाई सुनाउने गर्थें— “तर्कबुद्धिको आवाज क्षीण हुन्छ तर योमात्र मानवसाधन हो, जसद्वारा मानिस आफ्नो पाशविक वृत्तिहरूलाई दबाएर केही हदसम्म सभ्य जीवन बिताउन सक्छ ।” कहिलकाहीं बूढो ‘अप्प दिपो भवः’ मन्त्र उच्चारण गरिरहन्थ्यो र सुस्तरी भन्थ्योः
– Man is the architect of his own destiny.
उसका एकल संवादहरू ज्यादै परिष्कृत एवम् विचारोत्तेजक हुन्थे र म उसको भावयुक्त अनुहार एकोहोरो हेरिरहन्थें । बूढो पहिलेजस्तो पनि त कहाँ थियो र ! रातभर मैले पढेका पुस्तकहरू सुनेर बस्ने आदत हराउँदै थियो र शायद ऊ अलिक कमजोर पनि भइसकेको थियो । यस्तो बूढालाई म मार्न चाहन्थें भन्ने कुरा सम्झँदा मलाई लाज लागेर आउँथ्यो । त्यति बेला म बर्नाड शका पुस्तकहरूको अध्ययनमा थिएँ तर बूढो ती पुस्तकहरूलाई कम सुन्थ्यो । बूढो अक्सर मृत्युको कुरा गर्न थालेको थियो । कहिलेकाहीं धेरै दिनसम्म ऊ बिछ्यौनामा नै पल्टन्थ्यो र मैले उसको कुरा धैर्यसाथ सुनिरहनुपथ्र्याे ।
पछिल्ला केही काल मैले केही नगरी बिताएँ । मभित्र धेरै कुराहरू उद्घाटित हुँदै थिए र म कहिलेकाहीं नित्सेले झैं ‘God is Dead’ भन्थें र अनिश्वरवादको व्याख्या लगाउँथें । कहिले पल तिलिखझैं, ‘God beyond God’ को व्याख्यामा हराउँथें । कहिले म सात्र्रको ‘Being & Nothingness’ मा हराउँथें, कहिले ‘Metaphysics’ का घोषणामा आफूलाई खोज्थें भने कहिले माक्र्स तथा हेगेलका दर्शनहरूमा रुमलिन्थें । कुनै कुरामा पनि मैले सामञ्जस्य ल्याउन सकिरहेको थिइनँ । कहिलेकाहीं ‘चिन्तन’ गर्ने क्रममा मान्छे ‘चिन्ता’को दलदलमा फस्दो रहेछ । चिन्तनले जसरी मान्छेलाई जीवनसम्म पु¥याउँछ चिन्ताले भने मानिसलाई चितासम्म पुर्याउँदो रहेछ । ती ज्यादै भीषण एवम् कष्टप्रद दिनहरू थिए, जसबाट म मुक्ति पाउन सकिरहेको थिइनँ । म कुनै निकासको खोजीमा थिएँ । तपाईं एक अन्धकार गुफामा प्रवेश गरेपछि र त्यहाँ केही समय बिताएपछि एउटा निकास खोज्नुहुन्छ । हो बिलकुल त्यस्तै । मेरो ती यावत् दर्शन एवम् चिन्तनका सरोकारहरू पानीजहाजले कोरेको जलमार्गको धर्साजस्तै थिए, जसको निर्माणसितै विघटनको प्रव्रिmया शुरु हुन्छ र समुद्रमा मिसिन्छ अनि त्यहीं हराउँछ । त्यो अँध्यारो गुफामा मैले कुनै अन्त देखिनँ र त्यो अन्धकार गुफाभित्र म अझ कति दिन त्यसैगरी लाचारग्रस्त, विचारग्रस्त भई बाँच्नुपर्छ थाहा थिएन ।
हो, म एउटा निकासको खोजीमा थिएँ । सम्पूर्ण कुराहरूबाट म निकास चाहन्थें । साहित्य, कला, दर्शन, विज्ञान, विचार, हृदय, मस्तिष्क, चेतनाहरूमा मैले निकास खोजेँ । हत्यामा मैले निकास खोजें । सम्भोगमा मैले निकास खोजेँ । निकासको निम्ति उपयुक्त अवसरको म प्रतीक्षा गरिहेको थिएँ । त्यो निकास भ्लादिमिर र एस्ट्रागनले Waiting for Godot मा पर्खेको गोदोजस्तै थियो । बेकेटको उक्त नाटक मैले धेरैपटक पढिसकेको थिएँ र ती पात्रहरूले बोल्ने हास्यास्पद एवम् विसङ्गत संवादहरू एक्लै बर्बराउन थाल्थेंः
– To be dead is not enough for them.
मेलै जुन निकासको कल्पना गरेको थिएँ, त्यो त्यसै उपलब्ध हुने छाँट देखिएन । मैले कल्पनासितै एउटा निर्णय गर्नु अत्यन्त आवश्यक थिएन र ?
एक रात मैले खोजेको उपयुक्त अवसर उद्घाटित हुने सम्भावना देखें र आफैँलाई भनें, “हो अब ठीक छ । मलाई निकास चाहिएको छ— एउटा ‘एक्जिट’ । त्यसपछि सबै कुरा समाप्तः यी संज्ञानहरू ! यी अनुस्मरणहरू ! यी चिन्तनहरू ! यी व्यवहारहरू ! यी अनुभवहरू ! ठीक छ, यो उपयुक्त अवसर हो । मैले अब यो उदेकलाग्दो अनुभवको लामो एपिसोडलाई यही रात टुङ्ग्याइदिनुपर्छ ।”
मैले सबै कुराको व्यवस्था गरें ।
त्यसपछि मैले क्यान्डल स्ट्यान्डमा तीनवटा मैनबत्ती सल्काउनुपर्ने थियो । ती मैनबत्ती मैले सल्काएँ । मेरा हात र औंला कामेका त थिएनन् ?
अलिकति रात अझै बाँकी थियो । ठीक छ, यो एक टुक्रा रातमा मैले एउटा निकास उपलब्ध गर्नुछ । म तयार भएँ । बुट लगाएँ र आभेरकोट भिरें । आफ्नो ‘कफिन–बक्स’बाट म निस्कें र सीधै बूढाको कोठामा छिरें । कोठामा एउटामात्र मैनबत्ती जलिरहेथ्यो र बूढो मस्त निद्रामा श्वास फेरिरहेथ्यो । एक कुनामा रित्तो ह्विल–चेयर मुश्किलले देख्न सकिन्थ्यो । मैले त्यसलाई गुडाउँदै बूढाको पलङनेर पुर्याएँ । बूढाको निर्जीव शरीरलाई उचालें । उसको शरीर तातो थियो । छातीभित्र एउटा मुटु आफ्नै वेगमा धड्किरहेथ्यो । ह्विल–चेयरमा उसलाई राख्नुअघि नै बूढाले आफ्नो चिम्से आँखा खोलिसकेको थियो । ह्विल–चेयरमा उसलाई थपक्क राखेर कुदाएँ । एउटा लामो अँध्यारो करिडोर पार गर्यौं र एउटा खुल्ला ढोका –जसलाई मैले पहिल्यै खोलेको थिएँ– बाट मैले बूढालाई भित्र प्रवेश गराएँ ।
कोठा अँध्यारो र डरलाग्दो थियो । बूढालाई एउटा कुनामा राखें । त्यसपछि मैले क्यान्डल स्ट्यान्डमा तीनवटा मैनबत्ती सल्काउनुपर्ने थियो । ती मैनबत्ती मैले सल्काएँ । मेरा हात र औंला कामेका त थिएनन् ? कोठाको दृश्यले मूर्त रूप लियो । एउटा फलामको बेडमा तपाईं एउटी मङ्गोलियन युवतीलाई स्पष्ट देख्न सक्नुहुन्थ्यो । मैले बूढाको विस्फारित आँखा देखें । अब मैले गर्नुपर्ने काम केही थिएन । त्यहाँ केवल हेरिरहनुपर्ने थियो मङ्गोलियन युवतीले जन्माउँदै गरेको बच्चा । केटीले लामो एवम् कालो गाउन लगाएकी थिई । प्रसव वेदनाले छटपटाउँदै थिई ।
बूढाले त्यो दृश्य हेरिरह्यो । एक कुनामा म एउटा पुरानो संवाद बोलिरहें, “जब एउटी आमाको पाठेघरमा एउटा भ्रूण सम्पूर्ण विकसित हुन्छ र एउटा बच्चा जन्मन्छ, त्यो किन जन्मन्छ ? वीर्यदान गर्ने पुरुषको वंश फैलाउन जन्मन्छ या प्रकृतिको नियम चालु राख्न ? एउटी युवतीलाई आमा बनाउन जन्मन्छ या केवल मर्न ?” मैले सोधिरहें स्वयम्लाई, बूढालाई, युवतीलाई, कोठालाई, मैनबत्तीलाई, “किन जन्मन्छ ? त्यो जन्मसित यस्ता कारण र तर्कहरू किन जन्मन्छन् ?”
बूढो चुपचाप सुनिरह्यो । म त्यति बेला कुनै पुस्तकको हरफ पढिरहेको थिइनँ । बूढो चुपचाप हेरिरह्यो । त्यो दृश्य हुनै उपन्यासबाट निकालिएको संवाद थिएन ।
मङ्गोलियन युवतीको प्रसव एउटा घटना थियो र त्यो घटनाबाट एउटा अवस्थाको जन्म हुँदै थियो । एउटा अवस्था जन्मनु कति कष्टप्रद र भयानक हुन्छ भन्ने कुरा मैले प्रयोगात्मक अनुभव गरें । जसरी मृत्यु एउटा घटना हो र लास एउटा अवस्था । घटना र अवस्थाको प्रक्रिया ज्यादै नजिकबाट मैले अनुभूत गरें ।
बच्चा जन्मिने समयसम्म म त्यहाँ बसिनँ । त्यो बच्चा जन्मिनुअघि नै म हिंडिहाल्नुपर्ने थियो । त्यो जन्मँदै गरेको घटनाले आफ्नो अस्तित्वको निम्ति यस जगत्मा –जहाँ उसको अघोषित पिता मरेको थियो– आफ्ना परिस्थितिहरू खोज्नेछ, आफ्नै ढङ्गले ।
सूर्याेदय भइसकेको थिएन । केवल एक मिरमिरे बिहान । हो, त्यही मिरमिरे बिहानमा मैले एउटा बाथको बुढो रोगीलाई प्रसव वेदनामा छटपटाइरहेकी मङ्गोलियन युवतीसितै छोडेर निस्कें ।
त्यसपछि मैले त्यो निर्जन जङ्गलहरूबीच अवस्थित घरलाई सधैंका निम्ति छाडिदिएँ, जहाँ मैले आफ्नो जीवनको १३ वर्ष ज्यादै उदेकलाग्दो किसिमले बिताएको थिएँ । त्यो पुरानो बाटो मैले एकपटक फेरि समाएँ, जहाँबाट म एक दिन टाँगनगाडीमा चढेर त्यो घरसम्म पुगेको थिएँ ।
के त्यो मङ्गोलियन युवतीले बच्चा जन्माई ? थाहा छैन । के त्यो बुढो अझै ज्यूँदै छ ? त्यो पनि मलाई थाहा छैन । आजकल त म स्वयम् बुढो भइसकेको छु । दिनभरि म आफ्नो ‘कफिन–बक्स’मा निदाउँछु र जब रात पर्छ, फेरि निदाउँछु ।
तपाईंको शहरमा जाग्राम भई हिंडडुल गर्न मलाई निकै डर लाग्छ ।
अन्ततः निम्न सम्बोधनसहित मलाई यो कथा टुङ्ग्याउने अनुमति दिनुहोस्ः
विशेषतः तपाईं एउटा चित्र बनाउनुस् । एउटा अजिब कोठा । तीनवटा सल्किरहेका मैनबत्ती । ह्विल–चेयरमा एउटा बाथको बुढो रोगी । ओछ्यानमा प्रसव वेदनाले छटपटाइरहेकी मङ्गोलियन युवती । अनि स्वयम् तपाईं । आशा छ, प्रथम स्ट्रोकमा नै तपाईंले चित्र तयार पार्नुहुनेछ ।
कथाका ब्याकयार्ड प्रसङ्गहरू
यो कथा मैले विश्व साहित्यलाई लेखेको लभ–लेटर थियो । र, यो लभ–लेटर लेख्ने दिनहरू सम्झी ल्याउँदा म आज पनि व्यथित हुने गर्छु ।
दिन–प्रति–दिन बुवा मर्दै गइरहनुभा’थ्यो । उहाँ मेरो अभिभावकमात्र हुनुहुन्थेन, एक असल साथी पनि हुनुहुन्थ्यो । यस्तो साथी जोसित आफ्ना सपना, रुची र एकान्त बाँड्न सकिन्छ । यस्तो हितैषी, जो मेरो जोगी–मनको एक कुनामा प्रेरणाको दियो बाली बस्थ्यो ।
र, त्यो साथी डेथबेडमा मर्दै थियो । मेरो दियो निभ्दै थियो ।
यति दुब्लाउनुभएको थियो कि उहाँ चुपचाप ओछ्यानमै खिएर बिलाई जानुहुनेछ । क्यान्सरले उहाँको घाँटीमा यत्रो ठूलो भ्वाङ पारिदिएको थियो कि स–साना नानी–बाबुले त्यहाँ दश–बाह्रवटा गुच्चाहरू सजिलै लुकाउन सक्थे । असह्य पीडाले थिलथिलो भएको उहाँको जीर्ण काया देखेर म निकै भयभीत हुन्थें । रातमा एक्लै भक्कानिन्थें । ईश्वरसित उहाँको शीघ्र मृत्युको कामना गर्थें ।
एउटा पुत्र आफ्नै पिताको मृत्युको कामना कसरी गर्न सक्छ ?
२१, २२ भनेको शायद कलेज जाने उमेर हो । प्रेमी–प्रेमिका खोज्ने बेला हो । नयाँ–नयाँ साथी संगाति बनाउने समय हो । स्वप्निल उडान भर्ने स्वर्णिम कालखण्ड हो । तर निकासजस्तो कथा लेख्ने उमेर भने कदापि होइन ।
कलेज एवम् विश्वविद्यालयहरूले मलाई किन–किन कहिल्यै आकर्षित गरेनन् । मात्र १ दिन एउटा पिरियड लिएपछि लाग्यो, त्यो मेरो संसार होइन । स्वअध्ययनतिर लागें । साहित्य, कला, मनोविज्ञान, अध्यात्मलगायत दर्शनशास्त्रका किताबहरू नै मेरा पाठशाला बने । विवाहित महिलाहरूको प्रेममा परें । दारुमहल एवम् मोक्षघाटतिर बरालिन थालें । जोगी र साधु–सन्यासीहरूसित सङ्गत गरें । समाजभन्दा बढी पर्सानाजतिर ढल्किएँ । एकान्तवासी भएँ । र, निकास लेखें ।
ओशो, नित्से र जे कृष्णमूर्तिहरू एउटा कानमा केही फुक्थे र अर्को कानमा स्पिनोजा, सार्भ र माक्र्सहरू अर्कै मन्त्र जप्थे । सबैका वाणी मलाई कर्णप्रिय लाग्थे । मनमा कहिले सिजी युङ बस्थ्यो, त कहिले सिग्मन्ड फाइड । कहिले बुद्ध बस्थ्यो, त कहिले चार्वाक । सबैको बसाइँ मलाई मनप्रिय लाग्थ्यो ।
कहिलेकाहीं कोशीको बगरमा घण्टौं धुम्धुम्ती बस्थें र नोटबुकमा –तिम्रो नाम त मैले नदीमा लेखेको थिएँ, आज बगरको बालुवामा भेटें– टाइपका कविता लेख्थें ।
मध्यरातमा एउटा कोठामा बुवा मर्दै गर्दा अर्को कोठामा म निकासबारे घोत्लिरहेको हुन्थें र कथामा लेख्थेंः म एउटा निकासको खोजमा थिएँ । सम्पूर्ण कुराहरूबाट म निकास चाहन्थें । साहित्य, कला, दर्शन, विज्ञान, विचार, हृदय, मस्तिष्क, चेतनाहरूमा मैले निकास खोजें । हत्यामा मैले निकास खोजें । सम्भोगमा मैले निकास खोजें ।
एक दिन डेथबेडमा बुवाले भन्नुभयोः – नाथे कुमार ! तेरो कथा पत्रिकामा पढेर मर्न पाए हुन्थ्यो !
यो उहाँको अन्तिम इच्छा हुँदो हो, जुन मबाट पूरा हुने कुनै आश थिएन । आफ्ना रचनाहरू पत्रिकामा छपाउने मलाई कहिल्यै इच्छा भएन । यत्ति हो, लेख्दा आनन्द छाउँथ्यो । एक प्रकारको कथार्सिस हुन्थ्यो । नोटबुक र डायरीहरूमा नै रमाएर बस्थें । कविताहरू लेख्थें तर पत्रपत्रिकाहरूमा पठाउँदिनथें । तिनलाई खाममा कुनै ठेगाना नलेखी काठमान्डुका पत्र–मञ्जुषाहरूमा खसाइदिन्थें । मजा लाग्थ्यो । तर गाउँमा पत्र–मञ्जुषाहरू थिएनन् । एउटा हुलाक कार्यालय थियो । कहिलेकाहीं लेखकहरूलाई चिठी लेख्थें र हुलाकबाट उनीहरूलाई पठाइदिन्थें । चिठीको जवाफ पाउने इच्छा पनि कहिल्यै हुँदैनथ्यो । नारायण ढकाल आजकल पनि यदाकदा भन्नुहुन्छः– तपाईं गज्जबको चिठी लेख्नुहुन्थ्यो । ती चिठीहरू मैले जोगाएर राख्या छु ।
एक दिन निकासलाई एउटा किङ्साइज्ड खाममा बन्द गरें । त्यसमा रवि मल्लको नाम र ठेगाना लेखें । र, हुलाकमार्फत पठाइदिएँ ।
रवि मेरो स्कुलदेखिको साथी । विश्व साहित्यको असल पाठक । यदाकदा म उसलाई कथा, कविताहरू पठाइदिन्थें । उपहारस्वरूप । ऊ पनि मलाई लामा–लामा पत्रहरू पठाउँथ्यो । निकास पढेर ऊ किनै दिन छट्पटाएछ । र, एक दिन प्रज्ञा प्रतिष्ठानमा समकालीन साहित्यका सम्पादक खोज्न/भेट्न हिंडेछ । अविनाश श्रेष्ठलाई भेटेर कथा दिएछ । भनेछः– यो मेरो साथीले लेखेको कथा हो । प्लिज एकपटक पढिदिनुस् ।
एक दिन रविको चिठी मलाई खोज्दै गाउँ आइपुग्यो । चिठीमा उसले लेखेको थियो, “माफ गर कुमार, तिमीले मलाई उपहार पठाएको कथा पत्रिकामा बुझाइदिएँ । मलाई लाग्यो, यो कथा अरूले पनि पढ्नुपर्छ । अविनाश श्रेष्ठले समकालीन साहित्यमा छाप्छु भन्नुभा’छ । उहाँले तिमीलाई भेट्न खोज्नुभा’छ । तिमी तु काठमान्डु आऊ ।”
बुवालाई डेथबेडमा छाडी म कसरी शहर पस्न सक्थें र ! गाउँकै बगरमा सिगरेटको धुवाँ उडाउँदै म धुम्धुम्ती बसिरहें । बालुवामा भेटिएका नामहरू केलाइरहें, जसलाई मैले कुनै दिन नदीमा लेखेर आएको थिएँ । एक दिन त्यही बालुवामा बुवाको नाम भेटें । र, त्यही साँझ बगरको घाटमा बुवाको पार्थिव शरीरमा अग्निदान गरें । अन्ततः यो जगत्बाट बुवाले निकास पाउनु भयो ।
पत्रिकामा निकास कथा पढेर मर्ने बुवाको इच्छा भने अधुरो नै रह्यो ।