Logo

प्रेमीसँग विवादपछि नारायणी नदीतर्फ गएकी विना अझै फर्किइनन्



चितवन, १० साउन । गैंडाकोटकी बिना सापकोटा वेपत्ता भएको झण्डै एक महिना पुगेको छ । १४ असारमा उनी भरतपुरबाट हराएको खुलिसकेको छ । नारायणी नदी किनारसम्म पुगेको सीसीटिभी फुटेजमा देखिएको छ । त्यसपछि उनी फर्किएको देखिएको छैन ।

बिना प्रेमीसँगको विवादले विचलित भई नारायणी नदीमा हामफालेको आशंका गरिएको छ । नारायणी नदीमा खोजी पनि भएको छ । तर, उनी फेला परेकी छैनन् ।

बिना वेपत्ता हुनुमा प्रेम सम्बन्ध नै कारण रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनका प्रेमी प्रवेश कँडेलको अर्को केटीसँग पनि प्रेम सम्बन्ध खुलेको छ ।

बिनाका बुबा जयश्वर सापकोटाका अनुसार बिना असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी थिइन् । बिनालाई उनका प्रेमी प्रवेश कँडेलले घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर छोरी प्रवेशसँग घरबाट निस्किएको जयश्वरले बताउँदै आएका छन् ।

प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको १२ जुलाईमा बेलायत फर्कने टिकट थियो । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र बिनाको प्रेम सम्बन्धबारे दुवै परिवार जानकार थिए । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लगेकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमी प्रवेशले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन् । सुरुमा सामान्य कुराकानी भए पनि पछि बिना र कुशुमबीच विवाद भएको थियो । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको प्रवेशले प्रहरीसँग बताएका छन् । कुशमको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । साँझ साढे ६ बजेतिर छोरी बेहोस भएको खबर बिनाका बुवा जयश्वरलाई आएको थियो । ‘खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । तिमीहरु कता छौ म आउँछु भन्दा प्रवेश र बिना दुबैले उनीहरु भएको ठाउँ बताएनन्’ जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’प्रवेशले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् ।

त्यसपछि बिनाका बुवा जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि जयश्वर प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको थियो । अनुसन्धान भइरहेका बेला साउन १ गते बिना नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडियो भेटियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिना नारायणगढको लीलाचोकबाट नारायणी नदी किनारतर्फ गएको स्थानियले बताएका छन् । चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा बिना कैद भएको भिडियो पनि पाइएको बताएको छ ।

राति ८ बजेर ४१ मिनेटमा बिना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार बिनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर आफ्नो प्रेमी प्रवेशसँग कुराकानी गरेकी थिइन् । बिनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ । केहीबेर बोलेपछि फोन दिएर बिना नदीकिनारतर्फ गएको पसलेले बताएको डीएसपी थापाले जानकारी दिए ।

सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनी अगाडि हतार लम्किँदै युवती हिँडिरहेको देखेको स्थानीयले देखेको बताएका थिए । त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो । बिना नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा बिनाको खोजी गरिरहेका छन् । बिना नारायणी हाम फालेको आशंका व्यक्त गर्न थालिएको छ ।-नारायणी अनलाइनको सहयोगमा



प्रतिक्रिया दिनुहोस्