Logo

रवीन्द्र मिश्रले किन उठाए धर्मनीरपेक्षताबारे जनमतसंग्रह ?



काठमाडौं, ११ साउन । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले धर्मनीरपेक्षताबारे जनमतसंग्रहको प्रस्ताव अगाडि सारेका छन् । उनले आज विचारभन्दा देश माथि हुने भन्दै जनमतसंग्रहको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

”स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी,धर्म निरपेक्षताबारे जनमत संग्रह” शिर्षक राखेर तयार पारेको प्रस्तावमा आधुनिकताका नाममा सनातन सभ्यता र धर्ममा खलल पुर्याएर घृणा र द्वन्द्वयुक्त अतिवादी समाजको निर्माण हुने खतरा औल्याएका छन् । ‘ नेपाल संसारकै दुई प्रमुख सभ्यता, हिन्दु र बौद्ध धर्मको उद्गगम् स्थल हो। त्यसको साथमा सनातन कालदेखि नेपालमा किरात धर्म अस्तित्वमा छ। मुसलमानहरू सदियौँदेखि बसोबास गर्दै आइरहेका छन्।,’ उनले भनेका छन्,‘ यी सबै सनातन सभ्यता र धर्म हुन्। आधुनिकताको नाममा यसमा खलल पुर्याएर हामीले अन्तत्वगत्वा आधुनिक होइन घृणा र द्वन्द्वयुक्त अतिवादी समाज निर्माण गर्नेछौँ ।’

मिश्रले धर्म निरपेक्ष राष्ट्र नै कायम गर्ने या नगर्ने भन्नेबारेमा जनतालाई आफ्नो मत राख्ने मौका दिनुपर्नेमा जोड दिएका छन् । राज्यको धर्म हुँदैमा त्यो राज्य पश्चगामी हुन्छ भन्ने तर्क गलत भएको जिकिर समेत गरेका छन् ।

उनले जनमतसंग्रहको परिणाम हिन्दु राष्ट्र नै आउने निश्चित नभएको समेत तर्क गरेका छन् । उनले भनेका छन्,‘ असी प्रतिशत हिन्दुहरू बसोबास गर्ने देशमा धर्म निरपेक्षताबारे जनमतसंग्रह गर्दा आउने परिणाम भनेको “हिन्दु राष्ट्र” नै हो, तसर्थ, त्यस्तो विषयमा जनमतसंग्रह हुन सक्दैन भन्ने धेरैको धारणा छ। मानी लिऊँ, जनमतसंग्रह भइहालेछ भने पनि पहिलो कुरा सबै हिन्दु हिन्दु राष्ट्रको पक्षमा हुँदैनन्, छैनन्। ’

देशमा पछिल्लो समय राजनीतिमा धर्मको मुद्दा जोडतोडले आइरहँदा मिश्रको राजनीतिक प्रस्ताव आएको हो ।

‘संघीयता खारेजी धर्म निरपेक्षताबारे जनमत संग्रह’



प्रतिक्रिया दिनुहोस्