Logo

यादव झन् शक्तिशाली



काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव झन् शक्तिशाली भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि शक्ति ह्वात्तै बढेकामा यादव पनि हुन् ।

ओली सरकार रहँदा यादवसँग जसपाका ३२ मध्ये १३ सांसद थिए । अहिले उनीसँग २० सांसद पुगिसकेका छन् । कार्यकारिणीका ५१ मध्ये ३१ सदस्य रहेकोमा अहिले ३४ पुगिसकेका छन् । सत्ता परिवर्तनपछि यादवको शक्ति निरन्तर बढिरहेको छ ।

निर्वाचन आयोगले जसपा आधिकारिकतबारे यादवकै पक्षमा निर्णय लियो । उनले महन्थ ठाकुरमाथि कारबाही गरे । अहिले जसपाका एकल अध्यक्ष बनेका यादव संसदीय दलका नेता समेत चयन भएका छन् । जसपाभित्र उनको एकछत्र प्रभाव बन्ने देखिएको छ ।

यादव सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर जाने चर्चा छ । जसपाले ५ देखि ७ मन्त्रालय पाउने सम्भावना छ । त्यसमा पनि उनले कस्लाई पठाउने निर्णय लिनेछन् ।

यादवले जसपाबाट ओलीविरोधी गठबन्धनमा सशक्त रुपमा आफूलाई उभ्याएका थिए । विगतमा ओली सरकारमा सहभागी भएर बाहिरिएका थिए । त्यसपछि निरन्तर ओलीविरोधी अभियानमा लागे । जसले उनलाई निकै कठिन अवस्थासम्म पुर्याएको थियो । तर, कठिनाई झेलेर यादव अहिले शक्तिशाली बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्