Logo

तामाकोसीको विद्युत् सीधै काठमाडौंसम्म



चरीकोट, साउन २३ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौं पठाउन सकिने भएको छ ।

रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित १०० एमभीए क्षमताको २२०र१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको हो ।

बिहीबार राति ११ बजे २२० जीआईएस (ग्यास इन्सुलेटेड सबस्टेसन)बाट उक्त ट्रान्सफर्मर चार्ज गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका उपप्रबन्धक पूर्णगोपाल रञ्जितले बताए । उनका अनुसार सबस्टेसनका चारवटा ट्रान्सफर्मरमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ भने एउट जगेडा
राखिएको छ ।

सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको र ठाउँसमेत थोरै ओगट्ने जीआईएस गत असारको तेस्रो साता चार्ज गरी तामाकोसी आयोजनाले विद्युत् उत्पादन र प्रसारण लाइनमार्फत वितरण गरिरहेको छ । यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लैजानुपर्ने थियो ।

२२०र१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हुँदै काठमाडौँसम्म लैजान सकिने उपप्रबन्धक रञ्जितले बताए । दोलखामै उत्पादित ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लागि बनाइएको १३२ केभीको यो प्रसारण लाइन लामोसाँघुसम्म सिङ्गल सर्किट ४६ किलोमिटर छ भने भक्तपुरसम्म डबल सर्किट ९६ किलोमिटर रहेको छ । उक्त प्रसारण लाइनबाट ६० मेगावाटदेखि अधिकतम १२० मेगावाटसम्म विद्युत् काठमाडौँ लान सकिन बताइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्