Logo

कथा : फेसबुक ट्रयाजडी



पोस्तक श्रेष्ठ :  कलेजको क्याफ्टेरिया । कुनाको एउटा टेबलमा अक्सर एक्लै देख्थेँ उनलाई । दुब्ली, पातली, अलि छरपष्ट कपाल, चस्मा लगाएकी । ब्याकप्याक अनि प्लास्टिकको झोलामा केही किताब वा यस्तै केही सामान, कानमा इयर पड्स । मिनिसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन् । हस्याङफस्याङ गर्दै आउँथिन्, एउटा कफीसँग ‘बेगल’ लिन्थिन् । त्यस बीचमा झोलाबाट एउटा किताब निकालेर केही पृष्ठ हेर्न भ्याउँथिन् र फेरि हतार–हतार गरेर निस्कन्थिन् ।

एक दिन उनी अलि लामै समय बसिन् । म छेउको टेबलमा थिएँ । कुनै चिनजान थिएन । त्यत्तिकै बोल्ने कुरा भएन । उनी एसियाली मुलुककी त हुन् तर कुन देशको होलिन् भनेर कुतूहल लागिरहेको थियो । यत्तिकैमा उनको फोन बज्यो । चिनियाँ म्यान्डरिन भाषामा बोलिरहेकी थिइन् । नेपालमा हुँदा मैले पनि केही म्यान्डरिन सिकेको थिएँ । राम्ररी बोल्न नसके पनि अलिअलि बुझ्थेँ ।

“नि स चोङ्कुओ रेन मा ? (तिमी चिनियाँ हौ ?)” मुखबाट बिनायोजना फ्याट्ट प्रश्न फुत्किहाल्यो ।

उनले पुलुक्क हेरिन् र मुसुक्क हाँस्दै भनिन् । “व स (हो) । बट आई क्यान स्पिक इङ्रिस ।” उनको बोलीमा चिनियाँ लवज थियो । त्यसपछि म उनीसँग अङ्ग्रेजीमा कुरा गर्न थालेँ ।

“तिमीले अङ्ग्रेजी बोल्न जान्दैनौ भनेर मैले चिनियाँ भाषा बोलेको होइन । धेरै समय पहिले मैले चिनियाँ भाषा सिकेको थिएँ । तर, सबै बिर्सें होला । तिमीले फोनमा चिनियाँ भाषा बोलेको सुनेर अलिकति अभ्यास गरेको ।” मैले स्पष्टीकरण दिएँ ।

“ए हुन्छ, हुन्छ । मेरो सङ्गत गर न । तिम्रो चिनियाँ भाषा राम्रो हुन्छ ।” दाहिने आँखा झिम्क्याउँदै भनिन् र उनी आफ्ना सामान बटुल्न थालिन् । उनी फरासिली रहिछन् भनेर बुझेँ ।

“मेरो कक्षा सुरु हुन लाग्यो । म जानुपर्छ । चाइ चियान (फेरि भेटौँला) ।”

“चाइ चियान ।” मैले पनि जवाफ फर्काएँ । उनी गइन् तर उनको आँखा झिम्क्याइले केही तरङ्ग भने छाडेर गयो ।

–––

अर्को कुनै दिन उनलाई फेरि क्याफ्टेरियामा देखेँ । उनको नजिक जान मन लालायित भइहाल्यो । उनको अगाडिको सिट खाली नै थियो ।

“यो कुर्सीमा अरु कोही छ कि ? खाली हो भने म बसूँ ?” मैले सोधेँ ।

“यो सिट त खाली छ तर त्यो बाहेक अरु सबै कुरा भरिभराउ छ ।” उनले हाँस्दै भनिन् ।

“तिम्रो दिल पनि भरि छ ?” मलाई पनि जिस्किन मन लाग्यो ।

“हो, दिल पनि ।” उनी खितखिताएर हाँसिन् ।

“ए म त यो कुर्सीभन्दा  तिम्रो दिलमा पो बढी आकर्षित थिएँ त ।” मैले अझै जिस्किन छोडिनँ ।

“ए तिमी ढिलो आयौ नि । के गर्छौ त ? अहिले यो कुर्सीमै चित्त बुझाऊ । हाहा ।”

हामी दुवै जना बेस्सरी हाँस्यौँ ।

त्यसपछि सामान्य कुराकानी भयो । परिचय आदानप्रदान भयो । उनको चिनियाँ नाम चु मेइ–लिएन रहेछ । अङ्ग्रेजी नामचाहिँ ‘मिली’ रे । मिली बेइजिङबाट आएकी रहिछन् । स्नातकोत्तरको अन्तिम वर्ष रहेछ ।

मैले पनि मिलीलाई आफ्नोबारे सामान्य जानकारी दिएँ । पढाइसकेपछिको भविष्यबारे समान चिन्ता थियो हाम्रो । अमेरिकी अर्थतन्त्रको बिग्रँदो अवस्था, रोजगारीको कम अवसर आदि इत्यादि कुरा भयो । कक्षाको समय भएपछि उनी गइन् ।

त्यो दिन रमाइलो लाग्यो । मिली फरासिली थिइन् । हल्काफुल्का ठट्टा गर्ने तर जीवन र भविष्यप्रति उत्तिकै चिन्तित । उनको उन्मुक्त हाँसो, हाँस्दा गालामा पर्ने खोपिल्टो र निधारमा छरिएका केशराशि सुन्दर थिए ।

––––

कलेजको क्याफ्टेरिया, कुनाको टेबल, मिली र म । हाम्रो नियमित भेटघाट हुन थाल्यो । हामीले फेसबुकमा एकले अर्कालाई साथी बनायौँ । फोन नम्बर साटासाट गर्यौँ । कुनै दिन क्लास नै नभए पनि कलेज जान थालेँ । कुनै दिन उनी मेरो अपार्टमेन्टमा आउँथिन् । म नेपाली खाना पकाएर खुवाउँथेँ । कहिलेकाहीँ म उनीकहाँ जान्थेँ । उनी चिनियाँ खाना खुवाउँथिन् । तोफु खान र चपस्टिक चलाउन मिलीबाटै सिकेँ ।

एकचोटि म बिरामी परेँ । मिलीले मेरो धेरै ख्याल राखिन् । मलाई क्लिनिकमा लिएर गइन् । दिउँसो कलेज गए पनि बिहान र बेलुकी भने उनी मेरो हेरविचार गर्न आइन् । ज्वरो आउँदा चिसो पानीपट्टी लगाइदिइन् । तातो सुप बनाएर खुवाइन् ।

मिलीले एउटा असल साथीको कर्तव्यमात्र निर्वाह गरेकी थिइन् वा उनी वास्तवमै मलाई माया गर्थिन्, त्यो चाहिँ मलाई यकिन थिएन । मैले भने उनलाई मन पराउन थालिसकेको थिएँ । उनी मेरो मनमन्दिरमा सुटुक्क बसिसकेकी थिइन् । तर, मैले मनको कुरा खुलेर कहिल्यै भन्न सकिनँ । मौका पनि जुरेन ।

हाम्रो पढाइ सकियो । अब जागिरका लागि भौँतारिँदै थियौँ । हाम्रो भेट पहिलेभन्दा अलि कम हुन थालेको थियो । भेट हुँदा पनि उनी गम्भीर देखिन्थिन् । सायद जागिरको समस्याले पिरोलेर हो कि ! मैले एक–दुईपटक सोधेको पनि थिएँ । तर, उनले केही होइन भनेर टारिदिएकी थिइन् ।

एक दिन उनी मेरो अपार्टमेन्टमा आइन् । साह्रै उदासिन देखिन्थिन् ।

“म चीन फर्किन लागेको । भोलि मेरो फ्लाइट छ । म फर्केर आउँछु कि आउँदिन, थाहा छैन । त्यस्तो आउनैपर्ने कारण त केही छैन ।”

“हँ !!” म आश्चर्यमा परेँ– “अचानक यस्तो निर्णय किन ?”

“आमा बिरामी हुनुहुन्छ रे ! आमासँग समय बिताउन चाहन्छु । यहाँ जागिर पनि पाउन सकेकी छैन । भिसा पनि सकिन लागिसक्यो । यहाँ रोकिनुपर्ने अरु कारण पनि त केही छैन ।”

‘मैले रोकेँ भने बस्छौ ?’ सोधुँ जस्तो लागेको थियो । तर, भन्नै सकिनँ । मेरो पनि अवस्था त त्यस्तै थियो । भिसा सकिन लागेको थियो र जागिर पनि मिलिरहेको थिएन । यस्तो अवस्थामा मैले प्रेम प्रस्ताव राखुँ पनि कसरी ? फेरि मिलीले मलाई त्यस्तो नजरले नहेरेकी पनि त हुन सक्छ । म चुपचाप बसेँ । मेरो प्रेम अव्यक्त नै रह्यो ।

भोलिपल्ट मिलीलाई छाड्न एयरपोर्ट गएँ । उनी ‘सेक्युरिटी गेट’बाट भित्र जानुभन्दा अघि मलाई ग्वाम्लाङ्ग अँगालो हालेर रोइन् । मन त मेरो पनि दुखिरहेको थियो । तर, पुरुष अभिमानले होला, आँसु भने निस्किएको थिएन ।

“चीन पुगेपछि मलाई फोन गर है ।” मैले भनेँ ।

उनी केही नबोली भित्र पसिन् । हेर्दाहेर्दै उनी मेरो नजरबाट ओझेल भइन् ।

मिली गइन् । हप्ता बित्यो । महिना बित्यो । तर, फोन आएन । उनलाई फेसबुक त के, अनलाइनमा पनि देखिनँ, न म्यासेन्जरमा कुनै सन्देश आयो । मैले मिलीको घरको फोन नम्बर पनि लिन बिर्सेछु । मिलीसँग बिताएका रमाइला पलहरू एकपछि अर्को गर्दै मेरो मानसपटलमा तैरिन थाले । मिलीको यादले झन्झन् सताउन थाल्यो ।

‘यहाँ अमेरिकामा रोकिनुपर्ने कारण पनि केही छैन ।’

मिलीको यो अन्तिम संवाद मेरो कानमा गुञ्जिरह्यो । यसको अर्थ के थियो ? के उनी मैले रोकोस् भन्ने चाहन्थिन् ? उनी किन पछिल्ला दिनमा गम्भीर देखिन्थिन् ? के उनी मसँग प्रेम गर्थिन् ? मलाई लाग्यो, मैले सायद मिलीको मनोभाव बुझ्न सकिनँ । मिलीको प्रेम महसुस गर्न सकिनँ । मैले मिलीलाई मेरो प्रेम व्यक्त नगरेर ठूलो भूल गरेँ कि भनेर मन थकथक लागिरह्यो । सायद मेरो प्रेमले मिलीलाई चीन फर्किनबाट रोक्थ्यो कि ?

फेब्रुअरी १४, प्रणय दिवस । मैल मिलीप्रतिको प्रेम धेरै गुम्स्याएर राख्न सकिनँ । फेसबुकमा मिलीलाई सन्देश पठाएँ :

‘मिली, मलाई माफ गर, तिमीलाई चीन जानबाट रोक्न सकिनँ । तर, म तिमीलाई भित्री हृदयदेखि नै प्रेम गर्छु । के तिमी अमेरिका फर्किन्छौ ? कृपया मलाई जवाफ देऊ ।’

त्यसपछि हरेक पल फेसबुकमा मिलीको जवाफ केही छ कि भनेर हेर्थें । तर, मिलीको जवाफ केही हुन्थेन । मिलीको फेसबुकमा कुनै अपडेट पनि थिएन । त्यो सपाट थियो मानौँ समय स्थिर भएको छ ।

त्यसपछि मैले एउटा जागिर पाएँ अनि त्यसैमा व्यस्त हुन थालेँ । मिली मेरो एउटा मीठो सपनामात्र बनेर रहिन् । वर्ष बित्यो । मिलीको कुनै खबर आएन । यता मलाई नेपालबाट बुबाआमा विवाहका लागि केटीहरूको फोटो पठाएर हैरान पार्दै थिए । केही समय त विभिन्न बहाना पारेर टारेँ तर त्यो धेरै धान्न सक्ने अवस्था थिएन । मिलीको आशा गरेर बस्ने कुनै आधार पनि थिएन ।

अन्ततः अमेरिकामै बसोबास गर्ने एक जना केटीसँग बिहेको कुरो अघि बढ्यो । परम्परागत रूपमा मेरो विवाह भयो । मिलीको अध्याय मेरो जीवनमा बन्द भयो ।

समय बित्दै गयो । समयले धेरै कुराको उपचार गर्छ भन्थे । हो रहेछ । मैले मिलीलाई लगभग भुलिसकेको थिएँ । तर, एक दिन अचानक फेसबुकमा मिलीको सन्देश देखेँ ः

‘तिम्रो चार वर्ष पुरानो सन्देश आज पढ्दै छु । कस्तो विडम्बना ! चीनमा फेसबुक प्रतिबन्धित छ । त्यस कारण तिम्रो सन्देश मैले पहिला कहिल्यै पाउन सकिनँ । कामको सिलसिलामा म अहिले चीनबाट बाहिर रहेकाले मात्र फेसबुक हेर्ने मौका पाएँ । म अमेरिकामै हुँदा सायद तिमीले यो पोस्ट गरेको भए म चीन फर्किने थिइनँ होला । अमेरिकामा हुँदा म तिम्रो यो प्रस्ताव सुन्न म कति व्यग्र थिएँ । गल्ती त मेरो पनि भयो । चीन फर्किसकेपछि मैले तिमीलाई कहिल्यै सम्पर्क गरिनँ । कारण म तिमीप्रति निराश थिएँ ।’

‘तर, अब धेरै ढिलो भइसकेछ । फेसबुकमा तिम्रो विवाहका तस्बिरहरू देखेँ । तिम्री श्रीमती राम्री रहिछिन् । तिमी भाग्यमानी रहेछौ । मैले तिमीलाई पाउन त सकिनँ तर तिमी मलाई प्रेम गर्दा रहेछौ भन्ने थाहा पाएर धेरै खुसी छु । म तिमीलाई माया गर्छु । सायद यो थाहा पाएर तिमी पनि खुसी हुन्छौ होला । प्रेममा पाउनैपर्छ भन्ने छैन, महसुस हुनु नै काफी छ । मलाई अब फेसबुकमा सन्देश पठाउने कष्ट नगर किनभने म भोलि नै चीन फर्किंदैछु । तिम्रो सुखी दाम्पत्य जीवनको धेरै–धेरै बधाई तथा शुभकामना ।’

म स्तब्ध भएँ । मेरो मस्तिष्क शून्य भयो ।

मनमनै कामना गरेँ– ‘मिली, तिमीलाई पनि मेरो शुभकामना ! तिमी जहाँ रहू, सुखी रहू ।’



प्रतिक्रिया दिनुहोस्