Logo

बलिया देशको भ्याक्सिन कुटनीति



काठमाडौं, २३ साउन । आर्थिक रुपमा सम्पन्न र विज्ञानको राम्रो विकास गरेका शक्तिशाली मुलुकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास र उत्पादनमा सक्रिय छन् । उत्पादित भ्याक्सिन प्राप्त गर्न विकासशील देशहरु सक्रिय छन् । भ्याक्सिन ल्याउन सक्नु या नसक्नुलाई सरकारको क्षमताको मापदण्ड नै मान्न थालिएको छ ।

विश्वभर उत्पादित भएका कोरोना भाइरसविरुद्धका ७ भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगको अनुमति दिएको छ । जसमध्ये अमेरिकाका ३, चीनका २, बेलायतका १ र रुसका १ छन् ।

अमेरिकाको फाइजर मोर्डना र जोन्सन एन्ड जोन्स भ्याक्सिन आकस्मिक प्रयोगका लागि अनुमति पाएका छन् । बेलायतको अक्सफोर्ड एस्ट्रेजेनेका, रुसको स्पुतनिक भी, चीनको सिनोफाम र सिनोभाक आकस्मिक प्रयोगको अनुमती पाएकामध्ये हुन् ।

मोर्डनाले ६५, फाइजरले ९७, जोन्सन एन्ड जोन्सनले ५९, अक्सफोर्ड एस्ट्रेजेनेकाले १२१, कोभिशिल्डले ४५, सिनोफामले ५९ र सिनोभेकले ३९ देशमा प्रयोगको अनुमति पाएका छन् ।

चीन विश्वमा सबैभन्दा बढी डोज भ्याक्सिन उत्पादक देश बनेको छ । अमेरिका, जर्मनी, बेल्जियम, भारत, बेलायत, नेदरल्यान्ड, रुस, स्वीजरल्यान्ड, दक्षिण कोरिया, ब्राजिल, दक्षिण अफ्रिका पनि बढी भ्याक्सिन उत्पादन गर्ने देशमा पर्छन् ।

कोरोना भाइरसको तेस्रो लहरको खतरासँगै विश्वभर भ्याक्सिनको माग बढेको छ । कतिपय मुलुकहरुले भ्याक्सिनको खास मूल्यभन्दा बढी तिरेर खरिद गरेका छन् ।

फाइजरले अफ्रिकी देशहरुलाई प्रतिडोज ६.७५ डलर मूल्य लिएको छ । तर, त्यो उत्पादन मूल्यभन्दा ६ गुणा बढी भएको अक्सफोर्डको रिपोर्टमा उल्लेख छ । इजरायलले फाइजरको प्रति डोज २८ डलरसम्म तिरेको छ ।

युरोपेली युनीयनले मोर्डना र फाइजरको १ अर्ब ९६ करोड डोजका लागि ३१ अर्ब युरो तिरेको छ । मोर्डनाले दक्षिण अफ्रिकाकालाई प्रति डोज ३० देखि ४२ डलर सम्म मूल्य लिएको छ ।

कुन देशले बढी भ्याक्सिन उत्पादन गरेर विश्वभर आपूर्ति गर्ने प्रतिष्पर्धा नै चलेको छ । चीन, अमेरिका र रुसबीच निकै चर्को प्रतिष्पर्धा छ । चीन विश्वभर सर्वाधिक भ्याक्सिन उपलब्ध गराउने मुलुक बनेको छ । उसले यस वर्षभर २ अर्ब डोज भ्याक्सिन विश्वलाई उपलब्ध गराउने लक्ष्य लिएको छ ।

चीनले अमेरिकाले भन्दा ७ गुणा बढी भ्याक्सिन बाह्य मुलुकलाई उपलब्ध गराएको ग्लोबल टाइम्सले दाबी गरेको छ । चीनको भ्याक्सिन १०४ देशमा र अमेरिकी भ्याक्सिन ६५ देशमा पुगेका छन् ।

बलिया देशले आधा अनुदानमा र आधा विक्रीमा गरेर दोहोरा फाइदा लिइरहेका छन् । बढीभन्दा बढी भ्याक्सिन उत्पादन गरेर अबको दशकमा भ्याक्सिन कुटनीतिबाट प्रभाव बनाउने रणनीति समेत बलिया देशमा देखिएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्