एजेन्सी, २५ साउन । चिनियाँ डाइभिङ स्टार क्वान होँगचाङ यतिबेला चर्चामा छिन् । १४ वर्षीया क्वानले टोकियो ओलम्पिकमा उत्कृष्ट डाइभिङ गरी स्वर्ण जित्दा निकै प्रशंसा कमाइन् । त्यसैले सर्वाधिक चासोमा परेकी छिन् । उनले आफ्नो आमाको उपचार खर्च जुटाउन डाइभिङ रोजेको बताएपछि झन् चर्चामा आइन् । त्यसपछि उनको गाउँ र घर हेर्नेको भींड लागेको छ ।
क्वानको घर अगाडि फ्यानहरुको ओइरो लागेको छ । क्वानको घर अगाडि फोटो र भिडियो खिच्ने फ्यानहरुको ओइरो लागेको हो । केही फ्यानहरुले राम्रो तस्बिर कैद गर्न रुखमा समेत चढेको खबर छ । उनले भनेकी छिन्,‘मेरो यो जीतको श्रेय आमालाई जान्छ । सडक दुर्घटनाका कारण उहाँ निरन्तर अस्पतालमा उपचाररत हुनुहुन्छ । म उहाँको लागि अत्याधिक पैसा कमाउन चाहन्छु ।’
चीनमा ट्वीटर जस्तै सामाजिक सञ्जाल रहेको विबोमा उनको घर र भिडियो करिब २५ करोड पटक हेरिएको जनाइएको छ । केही फ्यानहरुले उनको घरमै गई तस्बीर समेत खिचेको खबर छ । उनी बस्ने गाँउको नाम माइहे जो ग्वांङडाेंग प्रान्त रहेको छ । अत्याधिक भिड जम्मा भएको कारण गाउँमा भ्रमण गर्न रोक लगाइएको छ । उनले अत्याधिक मात्रामा रकम र उपहार समेत पाइरहेकी छिन् ।