काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । आज (मंगलबार) को राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले अध्यक्ष ओली पूनः सत्तामा आउनेसमेत दाबी गरे ।
राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनले भने,‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन, फेरि पनि राजनेता फर्केर आउँछ । केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ, तर पनि राजनीति उहाँकै वरिपरि घुमेको जस्तो हामी देख्छौं, सदनमा आउँदा उहाँकै चर्चा हुन्छ । सत्ता पक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गर्नुहुन्छ ।आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा केपी ओलीकै फोबिया छ ।’
उनले सडकमा पनि ओली सरकार हटेकोमा चिन्ता र चासो व्यक्त गरेको सुनाए । उनले भने,‘एउटा आशालाग्दो सरकार थियो, बाहिरियो भन्ने छ । जनताले आफ्नो जीवनस्तर उकासिन्छ भनिएको थियो । मुद्दा मामिलाबाट हटाउने काम भयो । ढोकाबाट होईन, झ्यालबाट हटाउने काम भयो भनेर जनताले चोक चोकमा चर्चा गरेको पाउँछौं । राजनेतालाई पराजित गर्न सकिँदैन् । केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भयो । वैचारिक रुपमा खण्डन गर्ने काम त हुन्छ, तर उहाँको निष्ठामाथि प्रहार त गलत हो । आज नेपालको राजनीतिमा १४ वर्ष जेलजीवन व्यतित गरेको नेता कोही छैन् ।’