Logo

गौर हत्याकाण्डका आयोजक को हुन् ? छानबिन गर्नुहोस्ः ओली



काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौर हत्याकाण्डलगायत विभिन्न हत्याकाण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । आज सरकारको न्यूनतम साझा कार्यक्रमबारे प्रतिनिधि सभामा बोल्दै मान्छे मारिएका हत्याकाण्डहरुको छानविन गर्न चुनौती दिएका हुन् ।

‘गौर हत्याकाण्डको छानविन गर्नुहोस् ,’ ओलीले भने, ‘मान्छे मरेको छानविन गर्नुहोस्, हत्याकाण्डको आयोजक को हुन् ? छानविन गर्नुहोस् ।’

हत्याकाण्डहरुको छानविन गर्दा गठबन्धन नै धरापमा पर्न सक्ने हो कि ? भन्दै ओलीले व्यङ्ग्य गरे । ओली प्रधानमन्त्री हुँदा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै सरकारले साझा न्यूनतम कार्यक्रममा छानविन गरी दोषी उपर कारबाही गर्ने उल्लेख गरेकोमा आक्रोश पोख्दै ओलीले हत्याकाण्डहरुको छानविन गर्न चुनौती दिएका हुन् ।

१४ वर्ष अघि २०६४ सालमा गौरमा भएको हत्याकाण्डमा २७ जना मारिएका थिए । त्यसबखत तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले गौरमा कार्यक्रम एकै स्थानमा गर्न लाग्दा भएको भिडन्तमा घटना भएको थियो । माओवादी कार्यकर्ता लखेटी लखेटी विभत्स तरिकाले मारिएको घटनामा उपेन्द्र यादवमाथि आरोप लगाइएको थियो । ओलीले उनैतर्फ संकेत गर्दै आज प्रतिनिधि सभामा बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्