काठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आज अपरान्ह ३ बजेसम्मका लागि समय सीमा तोकिएको छ । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुधबार दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनको लागि समय तोकिएको हो ।
पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख शेरचनले आज अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेका छन्।
बुधबार लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र मुख्यमन्त्रीमाथीको अविश्वास प्रस्तावमाथि छलफल बढ्ने तय भएको थियो ।
तर, पोखरेलले त्यसअगावै राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरिसकेका छन् । उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुनेगरी गठबन्धनले सांसद संख्या पुर्याइसकेको थियो। त्यसकारण पनि उनी पछि हेटेका थिए । त्यसो त बिमला वली खत्री नेकपा (माओवादी) मै रहेपछि पोखरेल अप्ठ्यारोमा परेका हुन् ।