Logo

माओवादीबाट रोल्पालीलाई अवसर नै अवसर



काठमाडौं, २८ साउन । तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ताका रोल्पालाई मुख्य आधार नै बनाएको थियो । रोल्पामा माओवादीको निकै बलियो प्रभाव थियो । अझै पनि माओवादीको रोल्पा सबैभन्दा प्रभावशाली क्षेत्र हो ।

शान्ति प्रक्रियापछि भएका दुईवटा संविधानसभाको चुनाव र एक प्रतिनिधि सभाको चुनावमा रोल्पामा माओवादी पराजित भएको छैन । प्रदेश सभामा पनि माओवादीका उम्मेदवार नै विजयी भए ।
रोल्पालीहरु अझै माओवादीमा प्रभावशाली छन् । रोल्पाको लिवाङमा जन्मिएका कृष्णबहादुर महरा माओवादीका प्रभावशाली नेता हुन् । उनी सभामुख भइसकेका छन् । उपप्रधानमन्त्री समेत भइसकेका महराका चेला चेलीहरु पनि राजनीतिमा बलिया छन् ।

रोल्पाका वर्षमान पुन माओवादीका हस्ती नेता हुन् । उनी पटक पटक मन्त्री भइसकेका छन् । उनकी पत्नी ओनसरी घर्ती सभामुख भइसकेकी छिन् । ओनसरी पनि रोल्पामा जन्मिएकी हुन् ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्न लागेका कुलप्रसाद केसी सोनाम पनि रोल्पाका हुन् । २०२७ सालमा रोल्पाको ज्यूवाङमा जन्मिएका केसी रोल्पा क्षेत्र नम्बर २ क बाट निर्वाचित हुन् ।

माओवादीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पनि रोल्पाका हुन् । पुन रोल्पाको रङ्सीमा जन्मिएका हुन् । उनी जनयुद्धका बखत तत्कालीन माओवादीका डेपुटी कमाण्डर थिए ।

रोल्पाको माओवादी ‘जनयुद्ध’मा निकै महत्वपूर्ण योगदान थियो । त्यसैले उनीहरुले नै माओवादीमा अवसर धेरै पाएका थिए । रोल्पालीहरु माओवादीको शक्तिशाली पदमा छन् । अवसरहरु पनि उनीहरुले बढी पाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्