Logo

रामचन्द्र पौडेलप्रति सुजाताको असन्तुष्टि, देउवासँग बढ्यो निकटता (भिडियोसहित)



काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पोखेकी छिन् । उनले पौडेलको कुरा बुझ्न कठिन भइरहेको बताउँदै असन्तुष्टि जनाएकी हुन् । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैले साथ दिनुपर्ने बताइन् । यसलाई उनले पौडेलसँग दुरी बढाएर देउवासँग निकटता बढाएको देखिदैछ ।

‘तपाईलाई मन्त्री बनाउने कुरामा रामचन्द्र पौडेल सहमत हुनुहुन्छ’ भन्ने ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा सुजाताले भनिन्, ‘म रामचन्द्रजीको कुरा बुझ्दिनँ, कहिले के कहिले के ?’ उनले पौडेललाई विरोध नगरी सहमति, सहकार्य र एकतामा जोड दिन आग्रह गरिन् ।

अहिले काँग्रेसलाई बचाउने बेला भएकाले सबै मिलेर जानुपर्ने बताइन् । पार्टी सभापति समेत रहेका सभापति शेरबहादुर देउवालाई सहयोग गर्नुपर्ने बताइन् । देउवाप्रति लचिलो भएकोबारे सोधिएको प्रश्नमा उनले आफू सधै लचकता देखाएर बढ्ने स्वभाव भएको बताइन् । तर, सरकारमा जानका लागि कसैसँग सम्झौता नगर्ने बताइन् ।

कोइराला परिवारमा तीनमध्ये एकजना सरकारमा जानुपर्ने कुरा भएको खुलासा समेत गरिन् । उनले भनिन्, ‘हामीमध्ये एकजना सरकारमा जानुपर्ने कुरा भएको छ ।’

आफू सभापतिको दाबेदार भएको कोइरालाको भनाई थियो । उनले सहमतिका लागि आफू त्याग गर्न तयार रहेको तर त्यसो नभए सभापतिमा उम्मेदवार बन्ने बताइन् । रामचन्द्र पौडेल, सशांक कोइराला या शेखर कोइरालामध्ये मिलेर एकजना आएमा आफू ब्याक हुन तयार भएको बताइन् ।

काँग्रेसमा रामचन्द्र पौडेलको मात्र समूह नभई शेरबहादुर देउवाको समूह पनि भएकोले मिलेर जानुपर्ने बताइन् । आफू पर्ख र हेरको नीतिमा रहेको पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस्