Logo

कोभिड–१९ महामारीमा लघुवित्त संस्थाहरु घाटामा



काठमाडौं, ३१ साउन । कोभिड–१९ महामारीकाको कारण ब्याजदर कम गर्न तथा तिरेको ब्याजमा छुट दिँदा लघुवित्त संस्थाहरूको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थामा दिएको छुटका कारण पनि संस्थाहरूको नाफा प्रभावित भएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्त संस्थाहरूको नाफामा २२ प्रतिशतले गिरावट आएको हो । २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड अर्थात् २२.२७ प्रतिशतले घटेर चार अर्ब ८१ करोडमा झरेको । राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, २०७७ असार मसान्तमा ब्याज आम्दानी ४० अर्ब ७४ करोड, ब्याज खर्च २१ अर्ब ५२ करोड र सञ्चालन आम्दानी २३ अर्ब ४४ करोड रहेको छ । गत आवमा सञ्चालनमा रहेका ८४ वटा संस्थामध्ये १३ वटा संस्था खुद नोक्सानमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लिएको मर्जर नीतिका कारण लघुवित्त वित्तीय संस्थाहरूको संख्या पनि घट्दै गएको छ । २०७६ असारमा कुल ९० वटा संस्थाहरु सञ्चालनमा रहेकोमा २०७७ सम्ममा ६ वटा लघुवित्त वित्तीय संस्था घट्न गई ८४ वटामा झरेको छ ।

संस्थाको संख्या घटे पनि वित्तीय पहुँच भने बढेको छ । गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या तीन हजार ५४७ रहेकोमा २०७७ असार मसान्तमा ११.२५ प्रतिशतले वृद्धि भई कुल शाखा संख्या तीन हजार ९४६ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको वार्षिक निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्