Logo

‘केपी ओलीले अब माधव नेपालसँग वार्ता गर्नुहुन्न’ : प्रदीप ज्ञवाली



काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले अब अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग कुनै वार्ता तथा सम्वाद नगर्ने स्पष्ट पारेका छ्न । एकताको लागि अध्यक्ष ओलीले लामो समयसम्म नेता नेपाललाई पर्खिएको भएपनि अब नेपालसँग भने एकताको लागि वार्ता नगर्ने पक्षमा अध्यक्ष पुगेको ज्ञवालीको भनाई छ ।

आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालसँग वार्ता नगरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरुसँग भने आफूहरुले वार्ता तथा छलफल गरिरहेको पनि सुनाए । उनले नेता नेपाल एकताको लागि गम्भीर नभएको आफूहरुको निश्कर्ष रहेको पनि सुनाए ।

भीम रावल, सरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराईलगायत नेपाल पक्षधर प्रभावशाली नेताहरु भने एकताकै पक्षमा रहेको पनि उनको भनाई छ । उनले वरिष्ठ नेता झलनाथ खनालपनि एकताकै पक्षमा उभिने विश्वास दिलाए ।

वरिष्ठ नेता माधव नेपालले भने एकताको लागि आफूहरु जतिसुकै गम्भीर बनेपनि अध्यक्ष ओलीले त्यो किसिमको गम्भीरता नदेखाएको र एकताको लागि उदासिन रहेको टिप्पणी गरेका छन् । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूहरु अझैपनि एकताको लागि लागिपरेको बताएका थिए । तर, एकताको ढोका बन्द गरिए विकल्पमा जाने भन्दै नयाँ पार्टी खोल्नसक्ने सुनाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्