Logo

माधवकुमार नेपालले बराबरी अधिकारको अध्यक्ष माग्नु लोकतन्त्र मजाक होः प्रवक्ता ज्ञवाली



काठमाडौं, साउन ३२ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको नवौं महाधिवेशनमा हारेका वरिष्ठ नेता माधवकुमार नेपालले बराबरी अधिकारको अध्यक्ष माग्नु लोकतन्त्र मजाक उडाएको बताएका छन्। प्रवक्ता ज्ञवालीले आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने माधव नेपाललाई अध्यक्ष दिन नसकिने पनि स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले भने, ‘महाधिवेशनको निर्णय नमान्ने हो भने महाधिवेशनमा भागै किन लिनुभो त रु माधव नेपालले बराबरी अधिकार माग्नु लोकतन्त्र मजाक उडाएको जस्तो हुन्छ । पार्टी विधानमा वरिष्ठ नेताका रुपमा जे अधिकार छ, उहाँले त्यो मात्र उपयोग गर्न सक्नुहुन्छ । जसले आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउनेलाई कसरी अध्यक्ष दिन सकिन्छ रु यो विषयमा छलफलै नगरौं ।’

नेता ज्ञवालीले माधव नेपाललाई अध्यक्ष दिने प्रस्ताव ११ सदस्यीय कार्यदलमा कहिले पनि प्रवेश नगरेको जिकिर गरे । उनले थपे, ‘हो,दोस्रो अध्यक्ष दिएर पनि पार्टी एकता हुन्छ भने तयार छु अध्यक्ष ओलीले भन्नुभएको हो । तर पछि माधव नेपालले मलाई पदलोलुप देखाउन र बदनाम गराउनका लागि गरिएकाले चाहिँदैन भन्नुभयो । पार्टी भनेको केटाकेटी खेल हो र रु ऋषिजी, तपाईंले प्राइम टेलिभिजन माग्दैमा मलाई दिनुहुन्छ र रु त्यसैले उहाँलाई अध्यक्ष दिन सम्भव छैन ।’

पार्टी एकताको ढोका बन्द नभए पनि एकता हुनेमा आशंका रहेको उनले बताए । उनले भने, ‘एकताको ढोका यता खुला छ, उहाँ अर्कैतिर लगेर हिँड्नुभयो । समस्या उहाँमा छ, एमाले बलियो बनाउनेभन्दा गठबन्धन बलियो बनाउने । ओलीभन्दा देउवा र प्रचण्डसँग भेट्ने आदि काम गरिरहनुभएको छ । पिठ्यूँ फर्काएर हिँडेपछि सक्किगो त ।’

पार्टी २०७५ जेठ २ मा फर्केकाले नेताहरु पुरानै जिम्मेवारीमा नफर्के पर्खिएर बस्न नसक्ने उनले बताए । उनले थपे, ‘हामीले स्थायी कमिटीका ११ जना नेताको कार्यदलमा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनयन गर्ने सहमति पनि गरेका थियौं । तर उहाँले गोल पोस्ट चेन्ज गर्दै कहिले दोस्रो अध्यक्ष, कहिले दुई जनाको हस्ताक्षर चल्ने बराबरी अध्यक्ष माग्दै जानुभयो । अब हामी त्यसमा प्रवेश गर्न सक्दैनौं ।’

बाग्मती, कर्णाली, लुम्बिनीमा जस्तो गतिविधि हुने हो भने एकता हुनु र नहुनुमा अर्थ नभएको पनि उनले बताए । उनले भने, ‘हाम्रो ध्यान जनतामा छ । माथिका नेता के गर्नुहुन्छ, त्यो उहाँहरु नै जान्नुहुन्छ । पार्टी एकताको पहल गरिरहनुभएका भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डेको भूमिका सकारात्मक छ ।’

भीम आचार्य र सुरेन्द्र पाण्डेलाई ओलीले दिल्ली नपठाएको पनि उनले बताए । वार्ताटोलीको विघटन भइसकेकाले अब एकताका ओली र माधव नेपालको भेटघाट सम्भव नदेखिएको पनि उनको भनाइ छ । उनले भने, ‘माधव नेपालको रुचि केपी भेट्नुभन्दा प्रचण्ड र देउवातिरै छ । तर देउवा र ओलीको भेट हुन्छ भने ओली र माधवको नहोला भन्न सक्दिनँ । तर त्यस्तो भेटघाटको खास अर्थ पनि छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले दल फुटाउने अध्यादेश ल्याए उनको निधारमा फेरि कलंक लाग्ने चेतावनी दिए । उनले भने, ‘त्यसो गरे राजनीतिमा कोही पनि सफल हुनुहुन्न । लोकतन्त्र नै धरापमा जान्छ । प्रचण्ड त जहाँ टेक्यो, त्यहीँ पहिरो जान्छ । उहाँको घोषित सिद्धान्त हरेक ठाउँमा कब्जा या विभाजन होे । कांग्रेसले दुईचार सिट छाडिदियो भने जितेर आउने हो । अन्यथा त्यसको भविष्य छैन ।



प्रतिक्रिया दिनुहोस्