Logo

प्लास्टिकको झोला प्रतिबन्ध गर्न सर्वोच्चले दियो सरकारलाई २१ दिने म्याद



काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले प्लास्टिकको झोला प्रतिबन्ध गर्न सरकारलाई २१ दिने म्याद दिएको छ । वातावरण कानुन समाजका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठको रिटमा सुनुवाई गर्दै न्यायधिश नहकुल सुबेदीको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हो ।

यसअघि पनि सर्वोच्च अदालतले प्लास्टिकको झोला प्रतिबन्ध गर्न पटक–पटक आदेश दिएको थियो । तर, त्यसको कार्यान्वयन नभए पछि सर्वोच्चले २१ दिनको समय तोकेरै ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो ।

सरकारले आर्थिक वर्ष २०७८÷०७९को बजेटमा समेत ४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध लगाउने उल्लेख भएको स्मरण गराउदँै अदालतले १० दिनभित्र सम्बन्धित निकायले कामको जिम्मेवारी तोकेरै कार्ययोजना तयार पार्न अदालतले आदेश दिएको छ ।

न्यायधिश सुबेदीको इजलासले २१ दिनभित्र देशैभर प्लास्टिक झोला उत्पादन, बितरण र आयात तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो । अदालतले प्लास्टिक प्रतिबन्ध प्रभावकारी बनाउन जनचेतनाका लागी प्रचार प्रसार गर्न आग्रह समेत गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्