एजेन्सी, १ भदौ । अमेरिकाले अफगानिस्तान युद्धमा २० वर्षभित्र २२ खर्ब ६० अर्ब डलर खर्च गरेको तथ्यांक छ । ब्राउन विश्वविद्यालयले अमेरिकाले यति ठूलो धनराशी खर्च गरेको हिसाब निकालेको हो ।
यो रकम नेपाली रुपैयाँ २६६६ खर्ब हुनआउँछ । यति खर्चले अफगानिस्तान पूर्वाधार विकासमा सँसारकै उत्कृष्टमध्येको बन्नसक्थ्यो । तर, बम गोली र बारुदका अलावा त्यसबाट उत्पन्न परिणाममा गरिएको खर्चले अमेरिकालाई लज्जास्पद रुपमा अफगानिस्तान छाड्न वाध्य बनायो ।
सन् २००१ देखि अमेरिकाले १० खर्ब डलर रक्षा मन्त्रालयको बाह्य आकस्मिक सैन्य कारबाहीको बजेट हो । ब्राउन विश्वविद्यालयले निकालेकोको हिसाबमा ५ खर्ब ३० अर्ब डलर युद्धमा खर्चिएको छ ।
२ खर्ब ९६ अर्ब डलर भेट्रानको स्वास्थ्योपचार र शारीरिक क्षति भोगेकाको हेरचाहको बजेट छ । ४ खर्ब ४३ अर्ब डलर अतिरिक्त रक्षा बजेट उल्लेख छ । युद्ध बजेट ९ खर्ब ३३ अर्ब डलर उल्लेख छ ।
यति ठूलो खर्च गर्दा पनि अमेरिकाले अफगानिस्तान छाड्नुपरेको छ । काबुल विमानस्थलमा अमेरिकी वायुसेनाको विमानमा मानिसहरु झुन्डिएको र रोक्न खोजेको दृश्य देखियो ।
अमेरिकाले लज्जास्पद रुपमा अफगानिस्तान छाड्नुपरेको विश्लेषणहरु हुन थालेका छन् । अमेरिकी राष्ट्रपति जोय वाइडेनले समेत आफूले यति छिट्टै तालिवानले अफगानिस्तान कब्जा गर्लान् भनी अनुमान नगरेको बताएका छन् । तर, उनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने कदमको बचाऊ गरे ।
यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान युद्धमा अमेरिकाले ठूलो धनराशी खर्च गरिरहेको भन्दै सैनिक फिर्तालाई तिव्रता दिएका थिए ।
अफगानिस्तानमा अमेरिकाले किन यति ठूलो रकम खर्च गर्यो ? अमेरिका जस्तो महाशक्ति देशले ठूलो धनराशी हावामा उडाएको भने होइन ।
सामरिक महत्वको अफगानिस्तान दक्षिण एशियालाई पश्चिम एशियासँग जोड्ने स्थान हो । पाकिस्तान, इरान, चीन, उज्वेकस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान, ताजिकिस्तान जस्ता देशहरुसँग अफगानिस्तानको सीमा जोडिएको छ । पाकिस्तान शासित काश्मिर समेत अफगानिस्तानसँग जोडिएको छ ।
अफगानिस्तानको भूराजनीतिक महत्वका कारण पनि अमेरिका त्यहाँ पुगेको हो । उसले अफगानिस्तानबाट इरानलाई अप्ठ्यारोमा पार्न सक्यो । पाकिस्तानमा प्रभाव बनाउन सक्यो । चीनलाई समेत चुनौती दिन सक्यो । रुसको प्रभाव रहेका पूर्वी सोभियत गणराज्यहरुमा पनि प्रभाव बनाउन सक्यो ।
तत्कालीन सोभियत संघको प्रभाव रहेको अफगानिस्तानमा तालिवानको उदयसँगै प्रभाव गुमायो । सोभियत सेना अफगानिस्तानबाट फिर्ता भए । त्यहाँ अमेरिकाले चासो देखायो । पाकिस्तानको माध्यमले अमेरिकाले प्रभाव बनायो । तालिवानको शासन आयो ।
सन् २००१ को सेम्टेम्बर ११ मा विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा आतंकवादी हमला भयो । अल कायदाले जिम्मेवारी लिएको उक्त हमलापछि अमेरिकाले आक्रामक रणनीति बनायो । अल कायदा नेता ओसामा विन लादेनको खोजी गर्न थाल्यो । अल कायदालाई अफगानिस्तानमा शासन गरिरहेका तालिवानले साथ दिइरहे । त्यसपछि अमेरिका झन् आक्रामक बन्यो ।
तालिवानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न अमेरिकी आक्रमण र भूमिका नै कारण बन्यो । लादेनको खोजीका क्रममा अमेरिकाले ठूलो धनराशी खर्चियो । अलकायदाविरुद्धको लडाईंमा पाकिस्तानलाई अरबौं डलर सहयोग गर्दै आएको अमेरिकाले पाकिस्तानभित्रै लादेन सुरक्षित रुपमा राखिएको सूचना पायो । अवोटावादमा सैन्य हेलिकोप्टरमा कमाण्डो लगेर लादेनलाई मारिदियो । यो घटनाले पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसियो ।
लादेन मारिएपछि पनि अफगानिस्तानमा अमेरिकाले युद्धमा ठूलो धनराशी खर्च गरिरह्यो । अमेरिकाले त्यहाँ प्रभाव गुमाउँदै गयो । अन्य शक्तिको चुनौतीले पनि अमेरिका अप्ठ्यारोमा पर्यो ।
अमेरिकाभित्र अफगानिस्तान युद्धको औचित्यमाथि प्रश्न उठ्न थाल्यो । यति ठूलो धनराशीको खर्च र सैनिकहरु मारिने र घाइते हुने घटनाले दबाब बन्यो । त्यसपछि अमेरिकाले सैनिक फिर्ता गर्ने निर्णय गर्यो । अमेरिकी सेना फिर्ता भएलगत्तै तालिवान प्रभावशाली बने । उनीहरुले बाह्य शक्तिको समेत सहयोग पाए ।
अमेरिकाले २० वर्षमा जति रकम खर्च गर्यो त्यसले उसलाई सामरिक महत्वको अफगानिस्तानबाट आफ्नो कटु सम्बन्ध रहेका इरानलगायत देशहरुलाई दबाबमा राख्न सक्यो । रुस र चीनमाथि पनि दबाब बनाइराख्न सक्यो । तर, समय क्रममा त्यो प्रभाव गुम्न पुग्यो ।