Logo

प्रचण्ड र देउवाको उक्साहटमा एमाले फुटाएका होइनौंः भुसाल



काठमाडौं, भदौ ३ । नवगठित नेकपा एमाले समाजवादीका नेता वेदुराम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको उक्साहटमा पार्टी नफुटाएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विभाजन बाध्यताबाट आवश्यकता हुन पुगेको उनको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता भुसालले भने, “एमाले हामीले होइन, केपी ओलीले २०७७ फागुन २८ गते नै राजनीतिक रुपमा फुटाएका हुन् । माधव नेपालसहित १४ दिन कारबाही गरेर हामीलाई पार्टीमा बस्नै नदिने वातावरण बनाइयो । परिस्थितिको बाध्यताले विभाजनको आवश्यकता सिर्जना भएको हो ।”

नेता भुसालले एमालेमा बसेर अन्तरपार्टी संघर्ष गर्न सकिने, विचार राख्न सकिने अवस्था नहुँदा कानुनी उपचार खोजेको बताए । उनले भने, “पार्टी निर्माण गलत काम गर्नका लागि होइन, असल कामका लागि हो । आफूले लिएको नीति, विचार सिद्धान्तका लागि पार्टी विभाजन हुनु स्वाभाविक छ । कसै न कसैले त्यो जोखिम नमोलेको भए के मुलुकमा यति धेरै राजनीतिक परिवर्तन हुन्थे ?”

माधव नेपाललाई स्थायी समितिका दुई जनाको मात्र साथ हुनुले पार्टी कमजोर जगमा उभिएको देखिँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले असल विचारका लागि संख्या त्यति महत्त्वपूर्ण नहुने पनि बताए । उनले भने, “कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा २०१७ को महाधिवेशनपछि पुष्पलाल एक्लै बन्नुभएको थियो । तर एक्लै आन्दोलन अघि बढाउनुभयो । अप्ठ्यारो परिस्थितिमा काँध थाप्ने थोरै मात्र हुन्छन् । सही कुरा उठाउने पनि थोरै हुन्छन् । माथिल्ला तहका मात्र नेता होइनन्, तल्लो तहका जनता, कार्यकर्ता हाम्रो साथमा छन् ।”

विगतमा माधवकुमार नेपालको साथमा रहेका नेताहरु पनि ओलीको पक्षमा नगएको उनले दाबी गरे । वरिष्ठ नेता झलनाथ खनालको समर्थन नयाँ दलमा भएकाले चाँडै नै वक्तव्य आउने उनले बताए । उनले भने, “नयाँ दलमा आउने कि नआउने, व्यक्तिको स्वतन्त्रताको विषय हो । विचारको कुरामा हामी कहिले सँगै हुन्छौं, कहिले हुन्नौं । यो स्वाभाविक हो ।”

उनले नेकपा एमाले समाजवादीले सरकारमा जाने विषयलाई प्राथमिकता नदिएको पनि बताए । उनले भने, “सरकार अहिले हाम्रो प्रमुख विषय होइन । त्यसबारे हामीले सोचेको पनि छैन । ६ वटा मन्त्रालय मागेको कुरा गलत हो ।”

भुसालले मुद्दा मिल्ने शक्तिसँग राजनीतिक सहकार्य हुने पनि बताए । उनले भने, “हामी अहिले पनि एमाले हौं । हामी विचारको विविधता स्वीकार गरेर जाने एमाले चाहन्छौं । विधि र पद्धति अनि जनपक्षीय चरित्रको एमाले चाहन्छौं । त्यसैले माओवादी या जसपासँग एकता गरेर जाने विचार छैन । तर मुद्दा मिल्ने शक्तिसँग सहकार्य चाहिँ हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्