प्रभात सिंहः सोभियत–अफगान मैत्री सन्धी १९७८ अन्तरगत डिसेम्बर २४ १९७९ अफगानिस्तानमा सोभियत संघको सेना पसेर नियन्त्रण कायम गरेको थियो । त्यसबेला सोभियत संघले काबुलमा रातारात ठूलो संख्यामा सैनिक र करिब २८० वायुयान प्रवेश गराएको थियो ।
अफगानिस्तानमा पसेको सोभियत संघलाई परास्त गर्न तालिवान गठन भयो । शितयुद्धताका सोभियत फौजविरुद्ध गठन भएको तालिवानका पछाडि विदेशी शक्तिको हात थियो । अमेरिका र सोभियत संघबीचको शक्तिसंघर्षमा अफगानिस्तान गृहयुद्धमा फसेको थियो । तालिवानले अमेरिकाबाट पाकिस्तानमार्फत् साथ पाएको थियो ।
तालिवानकै कारण सोभियत संघको फौज अफगानिस्तानबाट फेब्रुअरी १५ १९८९ मा हट्यो । त्यसबेला १५ हजार सोभियत सैनिक अफगानिस्तानमा मारिएका थिए । उसले त्योभन्दा ठूलो क्षति व्यहोर्न चाहेन । युद्धमा फसेको सोभियत संघलाई अनेकौं धक्का लाग्यो । सन् १९९१ मा सोभियत संघ नै टुक्रियो ।
सोभियत संघ टुक्रिएपछि तालिवान झन् बलियो भए । उनीहरुले अफगानिस्तानमा नियन्त्रण कायम गर्न सके । तालिवानले सन् १९९६ बाट २००१ सम्म अफगानिस्तानमा शासन गर्दा क्रुरतम गतिविधिहरु गरे । महिलाहरु बुर्काभित्र सिमित बनाइए । विद्यालय जानबाट वञ्चित गरिए । अमेरिकी फौजको प्रवेशले केही परिवर्तनहरु पनि भए । अफगानी जनताले क्रुर शासनबाट मुक्ति पाएका थिए । तर, २० वर्षमै तालिवान शक्तिका साथ फर्कियो ।
यो घटनामा अमेरिकाको हार भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । सोभियत संघ जस्तै हार भोग्न पुगेको अमेरिका सोभियत संघको दोस्रो संस्करण भएको तर्क गर्न थालिएको छ । सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय इकोनोमिक फोरममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्यादिमीर पुटिनले अमेरिका सोभियतको पथमा पुगेको औल्याएका छन् । त्यसबेलाको सोभियत संघका प्रत्यक्ष दर्शीहरुले अमेरिका सोभियतको पुरानो पथमा पाएको समेत विश्लेषण गरिरहेका छन् ।
बलियो अवस्थामा रहेको सोभियत संघलाई परास्त गर्न अमेरिकाले मुख्य भूमिका खेलेको थियो । निरन्तर बीस वर्ष सत्ता टिकाइरहेको अमेरिकालाई १५ अगस्ट, २०२१ मा तालिवानले चीन र रुसको साथ पाएपछि ११ दिनमै अफगानिस्तानलाई नियन्त्रणमा लिए । उनीहरुले अमेरिकालाई झुकाएको दाबी गरेका छन् ।
विश्वभर अफगानिस्तान युद्धमा अमेरिका पराजित भएको विश्लेषण गर्न थालिएको छ । बेलायतले यसलाई विश्वकै लागि धक्का भनेको छ । तर, अफगानिस्तान युद्धमा अमेरिकाको प्रतिष्ठामा आँच आएको भन्दै चीन उत्साही छ । पाकिस्तान जीत ठानिरहेको छ । रुस पनि खुशी देखिन्छ । इरानले अमेरिका हारेको भनेको छ । तर, अझै काबुल विमानस्थलमा अमेरिकी नियन्त्रण छ । अमेरिकी सेना अझै केही समय अफगानिस्तानमै रहने संकेतहरु छन् ।
२१ औँ शताब्दीमा अमेरिकाले थुप्रै युद्वहरु गरेको छ । इराक युद्व र अफगानिस्तान युद्व प्रमुख थियो । सिरियामा पनि युद्ध गरेको छ । तर, तालिवानले अफगानिस्तान कब्जा गर्दा अमेरिकाको पैसा मात्र नभइ राजनीति समेत असफल भएको विश्लेषण भइरहेको छ । अमेरिकाले खरबौ डलर बीस वर्षभित्र अफगानिस्तान युद्धमा खर्चिएको छ । परिणाम उसले अफगानिस्तानबाट लज्जास्पद तरिकाले निस्कनुपरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दोष अफगानी सैनिकलाई दिएका छन् । यतिसम्म पनि अमेरिकाले आफ्नो हार भएको स्वीकार गर्न तयार भएन । न त अफगानिस्तान युद्धमा गल्ती भएको स्वीकार गरेको छ । वाइडेनले यति छिट्टै तालिवानले अफगानिस्तानमाथि नियन्त्रण कायम गर्लान् भन्ने आँकलन भने नगरेको बताएका छन् ।
ब्राउन विश्वविद्यालयले गरेको अध्ययनले अफगानिस्तान युद्धमा अमेरिकाले २० वर्षभित्र २२ खर्ब ६० अर्ब डलर खर्च गरेको छ । यत्रो लगानीका बाबजुद अमेरिका अफगानिस्तानमा असफल भयो । रणनीतिहरु धक्का खाए पैसाले मात्र प्रभाव टिकेन ।
कुनैबेला अफगानिस्तानमा नियन्त्रण बनाएको सोभियत संघ अफगानिस्तानको युद्धमा फसेको थियो र अन्ततः अमेरिकाबाट परास्त हुन पुगेको थियो । सोभियत संघलाई परास्त गर्न अमेरिकाले अत्याधिक सैनिक बल र पैसा खर्चिएको थियो । सोभियतलाई घेराबन्दीमा पार्यो । त्यसैगरी नै अन्य शक्तिले अमेरिकालाई घेराबन्दीमा पारे । तालिवानले बीस वर्षपछि रणनिति बनाएर अमेरिकालाई नै परास्त गर्न पुग्यो । चीन र रुसको साथ पाएको तालिावनलाई अमेरिका एक्लैले परास्त गर्न नसक्ने भएको देखियो ।
विगतमा सोभियत संघ अफगानिस्तानमा फसेको जस्तै अमेरिका तत्काल निकै समस्यामा फसेको देखिन्छ । सन् १९५३ अमेरिकाले कोरियामा गरेको युद्वमा, भियतनाममा सन् १९७५, क्युबा सन् १९६१ र अहिले अफगानिस्तानमा सैन्य कारबाहीको विफलतापछि अमेरिकाको चासो फरक ढंगले देखिनथालेको छ । चीन र रुससँग सामरिक महत्वका क्षेत्रहरुमा अमेरिकाको टकराव बढेको छ ।
अमेरिकाले आफ्नो सैनिक फिर्ता गरेपछि तीन सैनिकहरु अन्य ठाउँमा पठाउन सक्ने विषय उठ्न थालेको छ । अफगानिस्तानमा चीन र रुसको सैनिकको प्रवेशको विषय पनि उठेको छ । त्यसलाई रुसले खण्डन गरेको छैन । बरु सम्भावनाको संकेत गरेको छ । चीन पनि सैन्य र आर्थिक रणनीतिका साथ अफगानिस्तानमा हावी हुने देखिदैछ ।
तालिवानले बन्दुकको बलमा सत्ता कब्जा गरेलगत्तै अफगानिस्तानमा अमेरिका र भारत दुवैले प्रभाव गुमाएका छन् । विगतमा सोभियत संघको ठाउँ अमेरिकाले लिएको थियो । भारतको ठाउँ पाकिस्तानले लियो । तालिवान सत्ताबाट हटेपछि भारतले आफ्नो प्रभाव फेरि बनाउन सक्यो । पाकिस्तान कमजोर भयो । अहिलेको घटनाले अफगानिस्तानमा पाकिस्तान फेरि हावी भएको छ । चीन र रुसको प्रभाव पनि बढेको छ । दक्षिण एशियाभित्र चीनको प्रभाव बढाउने रणनीति अन्र्तगत विभिन्न घटना विकास भइरहेका छन् ।-एजेन्सीको सहयोगमा