काठमाडौं, ४ भदौ । दुई दिनमै पार्टीको नाम फेरेका माधवकुमार नेपाललाई चुनाव चिन्ह टुंग्याउन पनि कठिनाई परेको छ । उनले दल दर्ता गर्दा किताब चुनाव चिन्ह राखे । तर, उक्त चिन्ह भएको दल निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको छ ।
माधव नेपाललाई हसियाँ हथौडा भएको झण्डा नदिन नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिइसकेको छ । झण्डा र चुनाव चिन्ह टुंग्याउन नेपाललाई मुश्किल पर्न सक्छ ।
चुनाव चिन्ह के राख्नेबारे टुंग्याउन बाँकी रहेको माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले बताएका छन् । तर, नेपालले यसअघि नै चिन्हबारे तयारी गरिसकेका छन् ।
जीवन राई अध्यक्ष भएको नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता छ । वैशाखमा दल दर्ताको निवेदन दिएर प्रमाणपत्र समेत पाइसकेको राई नेतृत्वको दलको चुनाव चिन्ह कलम नै छ । राई अनेरास्ववियूमा हुँदा माधव नेपाल पक्षका थिए ।
राईलाई माधव नेपाल पक्षकै केही नेताहरुले दल दर्ताका लागि बढाएको बुझिएको छ । अब उनकै दलसँग एकता गरेको देखाएर चुनाव चिन्ह कलम राख्ने रणनीति बनेको विश्वस्त स्रोतले बताएको छ । राई पनि नेकपा एसमा जोडिने तयारीमा छन् ।
यसअघि नेपाल निकट खिमलाल देवकोटाले राष्ट्रिय सभाको बागमती प्रदेशको रिक्त सिटमा भएको उपनिर्वाचनमा कलम चिन्ह लिएर चुनाव जितेका थिए । कमल चिन्ह नै माधव नेपाललाई फापेको चर्चा त्यतिबेला भएको थियो ।