रौतहट, ६ भदौ । लागुऔषधसहित रौतहट एक्सप्रेसका संचालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई प्रहरीले केही दिन अगाडी पक्राउ गरेको थियो । पत्रकार मोजिबुल्लाहलाई प्रहरीले नै फसाउन खोजेको भन्दै पत्रकार महासंघ रौतहटले घुमुवा प्रहरीमाथि छानविन गर्न माग गरेको छ ।
पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागुपदार्थ राखेर पक्राउ गर्न लगाएको महासंघले जनाएको छ । उनको मोटरसाइकलमा लागुऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागुऔषध बाँधेको देखिन्छ ।
घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार मोजिबुल्लाह लागुऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो । मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका–७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखेको छ । घटनापछि जिल्लाभरिका पत्रकार भेला भएर सीसीटीभी फुटेज हेरेका थिए ।