काठमाडौं, भदौ ७। खिम्ती जलविद्युत् आयोजनाको स्वामित्वको हस्तान्तरणमा ढिलाइ भएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाले आफ्नो ५८औं वार्षिक प्रतिवेदन ९२०७६र७७० मार्फत उक्त विषयमा प्रश्न उठाएको हो ।
नेपाल सरकार र प्रवर्द्धक कम्पनी हिमाल पावर लिमिटेडबीच भएको पूर्वसहमति अनुसार ६० मेगावाटको उक्त आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व २०७७ असार २७ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने थियो । तर, तोकिएको म्यादमा उक्त आयोजनाको स्वामित्व हस्तान्तरण हुन नसकेको महालेखाले बताएको छ ।
त्यो म्यादसम्म मात्र होइन, आजको दिनसम्म पनि उक्त आयोजनाको स्वामित्व हस्तान्तरण हुन सकेको छैन । हाल हिमाल पावर र प्राधिकरणबीच अन्तरिम सम्झौता गरेर आयोजना सञ्चालन गरिएको छ ।
उक्त आयोजनाले २०५७ असारदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन शुरू गरेको थियो । सरकार र प्रवर्द्धक कम्पनीबीच भएको सम्झौताअनुसार विद्युत् उत्पादन शुरू भएको २० वर्षपछि उक्त आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व निःशुल्क रूपमा प्राधिकरणलाई दिनुपर्ने थियो । त्यसअनुसार २०७७ असारमा नै उक्त आयोजनाको ५० प्रतिशत शेयर प्राधिकरणको हुनुपर्ने हो । तर, त्यसका लागि आवश्यक प्रक्रिया पूरा नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
उक्त आयोजनाको स्वामित्व हस्तान्तरण गर्न प्राधिकरण र प्रवर्द्धक कम्पनी दुवैको स्वामित्व हुनेगरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । तर, त्यस्तो कम्पनीसमेत स्थापना नभएको प्रतिवेदनमा उल्लेख छ । साथै, त्यसरी स्थापना हुने कम्पनीले प्राधिकरणसँग नयाँ विद्युत् खरीद विक्री सम्झौता गर्नुपर्ने हुन्छ । त्यस्ता प्रक्रिया पनि पूरा नभएको महालेखाले प्रतिवेदनले बताएको छ । सोही कारण स्वामित्व हस्तान्तरणमा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले कम्पनीको शेयर कारोबारको विषयमा पनि प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार उक्त आयोजनाबाट प्रतिघण्टा ३५० मिलियन किलोवाट विद्युत् उत्पादन हुने देखिन्छ । कम्पनीको सबैभन्दा ठूलो अंशियार एक नर्वेजियन कम्पनीले २०७७ असार २७ मा संस्थाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणबाट प्राप्त मुनाफा नर्वेजियन क्रोनर ११९ मिलियन हुने लेखांकन गरिसकेको छ ।
हिमाल पावरमा एक नेपाली कम्पनीको १६ दशमलव ९० प्रतिशत शेयर स्वामित्व रहेको र त्यस कम्पनीले २०७६ को अन्त्यमा आयोजना सञ्चालन गर्ने एक कम्पनीमा २९ लाख ७८ हजार ५०२ कित्ता शेयर प्रतिकित्ता ३९४ रुपैयाँ ५१ पैसाका दरले लगानी गरेको देखाएको छ । विभिन्न आधारमा आयोजनाको कुल शेयर १ करोड ७६ लाख २४ हजार २७२ कित्ता रहेको पुष्टि भएको महालेखाले बताएको छ । त्यसमा शेयरको किताबी मूल्य (१००) घटाउँदा प्रतिकित्ता २९४ रुपैयाँ ५१ अर्थात् कुल ५४ अर्ब १९ करोड ५ लाख मुनाफा हुने देखिएको छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।