काठमाडौं, भदौ ८ । नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्याएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको बुझाइ छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरू एकअर्कालाई नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छैनन्।
महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न नसकेका बेला पछिल्लोपटक तोकिएको महाधिवेशन मिति के हुन्छ भन्ने निश्चित छैन। तर, पूर्वर्निधारित मिति तलमाथि नभए वडा अधिवेशन आउन अब केवल १० दिन बाँकी छ। अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै भएपछि नेता लक्ष्मणबहादुर बस्नेतले समझदारीको पहलका लागि सोमबार बैठक राखेका थिए। सभापतिका आकांक्षीहरू नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला बैठकमा सहभागी भएका थिए।
बैठकमा सभापतिका आकांक्षीहरूले संस्थापन पक्ष इतरबाट वडा अधिवेशनअघि नै एउटा उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए। बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए।
‘अहिलेको नेतृत्वका कारण कांग्रेस कमजोर भयो भन्ने निष्कर्ष हो भने त्यसबाट पार्टीलाई जोगाउन एउटा उम्मेदवार दिनुपर्यो,’ केसीले भने, ‘एक जना मात्र उम्मेदवार बनाएर जाने कुरामा आकांक्षीहरू लचिलो देखिनुभएको छ।’ वडा अधिवेशनअघि नै साझा उम्मेदवार तय गर्ने र त्यसका लागि छलफललाई अघि बढाउने समझदारी भएको जानकारी दिँदै उनले भने, ‘एक्लाएक्लै लडेर देउवालाई परास्त गर्न सकिँदैन। त्यसका लागि एकताको विकल्प छैन भन्ने भएको छ।’
‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो। अधिवेशन समयमै गर्नुपर्छ। त्यसका लागि आवश्यक तयारीमा जुट्न सबैलाई आग्रह गर्ने कुरा हो,’ केसीले भने, ‘त्योसँगै हाम्रो समूहबाट एकजनाले मात्रै सभापतिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भयो। आजबाट कम्तीमा त्यो विषयमा पनि छलफल सुरु भएको छ।’ धेरै उम्मेदवार बन्ने कुराले वडा अधिवेशनदेखि नै नेतृत्व चयन प्रभावित हुने बताउँदै एकताको सन्देश दिनुपर्नेमा जोड दिँदै केसीले भने, ‘वडा अधिवेशनअगावै एकजना मात्रै उम्मेदवार तयार गर्नुपर्छ भन्नेमा नेताहरूको जोड छ।’ तर, बैठकमा सहभागी सभापतिका आकांक्षीहरूले आ–आफ्ना दाबी र कन्डिसनहरू राखेका थिए। नागरिक दैनिकबाट