Logo

चन्द्रागिरीमा २६ सांसद



काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा सांसद र केन्द्रीय सदस्यलाई हस्ताक्षर सनाखतका लागि लाँदैछन् । सांसद र केन्द्रीय सदस्य जोगाउन उनले चन्द्रागिरी रिसोर्टमा व्यवस्थापन गरेका छन् ।

सोमबार चन्द्रागिरी पुगेका झण्डै एक सयजना उचाईबाट काठमाडौं हेरिरहेका छन् । विशेष खानपान चलिरहेको बुझिएको छ ।

अहिले चन्द्रागिरीमा माधव नेपालको साथमा ५५ केन्द्रीय सदस्य छन् । केही सांसदहरुलाई पनि प्रस्तावित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाइएको छ । २६ जना सांसदहरु यतिबेला नागार्जुनमा छन् । माधव नेपाल पक्षका सोमप्रसाद पाण्डेलगायत नागार्जुनमा गएका छैनन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा माधव नेपालको नयाँ दलमा हस्ताक्षर गर्ने ५८ केन्द्रीय सदस्यमध्ये ५५ जना यताउता नहुने निश्चितप्रायः छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिंदा राजेन्द्र पाण्डेले ३१ जना दाबी गरेका थिए । त्यो संख्या तलमाथि हुन सक्ने देखिएको छ । नेपाल पक्षमा प्रतिनिधि सभाका मात्र झण्डै ३० सांसद यताउता नहुने देखिएको छ ।

भोलि चन्द्रागिरीबाट सिधै केन्द्रीय सदस्य र सांसदहरु हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुग्ने बुझिएको छ । तर, बीच बाटोमै केहीलाई हराउने गरी वातावरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर सक्रिय भएका छन् ।

माधव नेपाल पनि दिनभर आफ्नो पक्षमा सांसद संख्या बढाउन सक्रिय भएका छन् । उनले नागार्जुनमै बसेर सक्रियता बढाइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्