काठमाडौं, भदौ १० । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले नेताहरुलाई बन्धक बनाएर नयाँ पार्टी गठन गरेको भन्नु केपी ओलीको बर्बराहट र पागलपन भएको बताएका छन् । नयाँ पार्टी गठन व्यक्तिगत फाइदा, बेफाइदाभन्दा पनि एमालेभित्रका विकृति, विसंगति गैरकम्युनिस्ट चरित्रविरुद्ध विद्रोह भएको जिकिर पनि गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “अर्को पार्टीका सांसदलाई अपहरण गरेर काठमाडौं ल्याउने केपी ओली रिस र आवेगले बर्बराउँदै हिँडेका छन् । हामी उनको पागलपनको पछि लाग्नु आवश्यक छैन । हामीले कसैलाई बन्धक बनाएका छैनौं । सबै कामरेडहरु स्वेच्छाले रिसोर्टमा जानुभएको हो । सबै संघीय सांसद प्रस्तावित केन्द्रीय कमिटीको सदस्य भएकाले भौतिक दूरी कायम गरेर हामीले पार्टीको विधान, घोषणापत्र र नियमावलीबारे डेढ दिन बहस र छलफल गरेका हौं ।”
चन्द्रागिरीको रिसोर्टमा बसेको खर्च सबै सदस्यले जनही तिरेको पनि उनले दाबी गरे । सबै खर्च प्रेम आले र किसान श्रेष्ठले गरेको चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “म मेरै गोजीबाट खर्च गरेर बसेको हुँ । अरु कमरेडहरु पनि त्यसरी नै बस्नुभएको हो । त्यहाँ हामी ७० जना थियौं । तपाईं पनि सत्य तथ्य खोज्नतिर लाग्नोस् ।”
नेता डा. भुसालले एमालेभित्रका विकृति, विसंगति, गैरकम्युनिस्ट, जनविरोधी, लोकतन्त्रविरोधी, राष्टविरोधी चरित्रका कारण पार्टीभित्र विद्रोह अपरिहार्य भएको उनले बताए । उनले भने, “कम्युनिस्ट पार्टी नीति प्रधान हो, नेताप्रधान होइन । पार्टीभन्दा ठूलो राष्ट्र हो, लोकतन्त्र र संविधान हो । नेकपा एमालेलाई फुटाउने काम २०७७ फागुन २८ गते नै ओली गुटले गरेको हो । हामीले उल्टाउन खोजेका हौं । तर हामीभित्रैका साथीहरुले आत्मसमर्पण गरेकाले उल्टाउन सकेनौं । र अहिलेको स्थिति आयो ।”
उनले केही व्यक्तिले साथ छाड्दैमा पार्टी पुनर्गठनको अभियान नरोकिने पनि बताए । उनले भने, “हाम्रो शक्तिले नेतृत्वमा पुगेका कतिपय साथीहरु पलायन भएका छन्, निष्ठाच्यूत भएका छन् । हिजोको अडान छाडेर ओलीसँग आत्मसमर्पण गरेर गएका छन् । तिनका कारण हाम्रो शक्तिमा खासै प्रभाव पर्ने छैन । पाँच सात जना नेतामात्र नभएका हुन् । तिनलाई नेता बनाउने तलका हजारौं कार्यकर्ता हामीसँगै छन् । कमरेड झलनाथ खनाल, माधव नेपाल हामीसँगै छन् ।”
सरकारमा जाने कुरा बैठक बसेर तय हुने पनि उनले बताए । उनले भने, “अब हामी दोस्रो चरणमा प्रवेश गर्छौं । आवश्यकता अनुसार सहभागिता जरुरी पर्यो भने जान्छौं । तर हामीले सरकारमा जान पार्टी फुटाएका होइनौं । शेरबहादुर देउवा सडकमा नहुँदा पनि हामी लडेका हौं । संसद्, संविधान, लोकतन्त्र र मुलुक बचाउन लागेका हौं । सरकार हाम्रो प्राथमिकता होइन ।”