काठमाडौं, ११ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि आफ्नो टिम बनाइसकेका छन् । उनले पार्टीको हाइ कमान्ड गठन गरिसकेका छन् ।
नेकपा एसको हाइकमान्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल छन् । यही कमिटीले नेकपा एसको महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
सरकारमा सहभागी हुने मन्त्री देखि विभिन्न राजनीतिक नियुक्ति हाइकमान्डले गर्ने तय भएको छ । हाइकमान्डको बैठक राखी माधव नेपालले सरकारमा जाने ६ मन्त्रीको नाम टुंग्याउने बुझिएको छ ।
माधव नेपालको भित्री टिमका वेदुराम भुसाल र प्रमेश हमालमात्र हाइकमान्डमा छन् । भुसाल माधव नेपालका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने नेता हुन् । हमाल पनि माधव नेपालका प्रीयपात्र हुन् ।
झलनाथ खनालको आफ्नै टिम छ । मुकुन्द न्यौपाने पनि माधव नेपालसँग नजिकिएपनि भित्री टिमका भने होइनन् ।
यसैगरी, माधव नेपाललाई पार्टी व्यवस्थापनमा साथ दिनेमा राजेन्द्र प्रसाद पाण्डे र विजय पौडेल हुन् । पाण्डेले अप्ठ्यारो समयमा नेपाललाई साथ दिदै आएका छन् । उनको बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना पनि बलियो रहेको छ । डा. विजय पौडेललाई पनि माधव नेपालले निकै विश्वास गर्छन् । पौडेललाई महत्वपूर्ण जिम्मेवारी दिने नेपालको तयारी छ । पाण्डे र पौडेलमध्ये एकजना नेकपा एस का महासचिव बन्ने सम्भावना रहेको बुझिएको छ ।
घनश्याम भुसालले एमाले छाड्न नमानेपछि पाण्डे र पौडेलमध्ये एकजना महासचिव बन्ने सम्भावना बलियो भएको हो । भुसालले नेकपा एस गठनका लागि डकुमेन्टको कामहरु गरेपनि अन्तिम समयमा माधव नेपाललाई साथ दिएनन् ।