Logo

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’



भादगाउँ, ११ भदौ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् । उनले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भने।

उनेल भने, “पार्टी एकता दीर्घकालीन सोचले भएको होइन । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।”सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको पूर्व सांसद पोखरेलले जिकिर गरे।

माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले सङ्गठन निर्माणमा जोड दिए । सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्