काठमाडौं, ११ भदौ । नेकपा एमालेमा हुँदा माधवकुमार नेपालको खेमामा रहेकाले हन्डर र ठक्कर मात्र खाए । त्यो पनि अध्यक्ष केपी शर्मा ओलीबाट । तर, तिनै ओलीले अहिले नेपालको खेमा छाडेर आउनेलाई धमाधम मौका दिन थालेका छन् ।
माधव नेपाललाई पेलेरै छाड्ने क्रममा उनले पक्षधरलाई पनि मौका नै दिएनन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई त्यतिबेला रोकेर डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए । प्रदेश १ मा सचिव भइसकेका भीम आचार्यलाई पराजित गर्न शेरधन राईलाई सघाए । तर, माधव नेपाल समूह छाड्दा शाक्य र आचार्य दुवैले मुख्यमन्त्री पद पाएका छन् ।
बागमती र प्रदेश १ मा एमाले नेतृत्वको सरकार जोगाउन ओलीले माधव नेपालको साथ छाड्नेलाई मुख्यमन्त्रीबाट पुरस्कृत गरेका हुन् । मन्त्रीहरु पनि विगतमा माधव नेपालको साथ पाएकाहरु हुन थालेका छन् ।
आज प्रदेश नं १ मा दुईजनाले मन्त्री पद पाए जो लामो समय माधवकुमार नेपालको साथमा थिए । मन्त्री बनेकाहरुमा बलबहादुर साम्सोहाङ र लछुमन तिवारी हुन् । भीम आचार्यले उनीहरुलाई आजै मन्त्री बनाइसके । माधव नेपालको साथ हुँदा उनीहरु सांसदको रुपमा सिमित थिए ।
प्रदेशमा सांसद भएर माधव नेपालको साथमा लाग्दा पेलिएकाहरु अझै ओलीको साथमा लागेमा अवसर पाउने सम्भावना देखिएको छ । प्रदेशमा सरकार नै ढल्नुभन्दा माधव नेपाललाई छाडेर आएकालाई अवसर दिने ओलीको रणनीति देखिन्छ ।
यो वर्ष राजनीतिक घटना मोडिंदा ओलीका विश्वासपात्रहरुले भने धेरै गुमाए । गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार असारमा ढलेको थियो । ओलीलाई गण्डकीको धक्का लागेको केही समयमै प्रधानमन्त्री पद पनि गयो ।
लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । उनका विश्वासपात्रले गुमाउँदै गए । एमालेमा माधव नेपाल छाडेर आउनेहरुले मौका पाए ।
रोचक यो छ कि माधव नेपालको साथमा जानेले पनि धमाधम अवसर पाइरहेका छन् । कर्णालीमा माधवको निर्देशनमा विद्रोह गर्नेहरु मन्त्री भए । सुदूरपश्चिम प्रदेशमा पनि मन्त्री भए । नेपालको साथ गएका सांसदहरुमध्ये केही मन्त्री बन्दैछन् । केहीले संसदीय समितिमा मौका पाउँदैछन् । उपसभामुख पनि माधव नेपालको साथमा रहेकी कुनै एक महिला सांसदलाई मिल्दैछ । साथमा रहने र छाड्ने दुवैले मौका पाइरहेका छन् ।