काठमाडौं, १२ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भाग्यमानी नेतामा पर्छन् । उनी पाँच पटक प्रधानमन्त्री हुँदा भाग्यले बढी साथ दियो । यसपटक प्रधानमन्त्री त उनलाई किस्तीमै आइपुग्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बारम्बारको आग्रहपछि देउवा अघि बढ्न तयार भए ।
देउवा निकै सतर्ककर्तापूर्वक सरकारमा गए । नेपाली काँग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने वाध्यकारी अवस्थाबीच उनी प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री भएपछि उनको शक्ति ह्वात्तै बढेको छ । सत्ताको प्रभावले पार्टीभित्र र बाहिर बलियो देखिएका छन् ।
प्रधानमन्त्री भएपनि देउवाका लागि अग्निपरीक्षा १४औं महाधिवेशनमा हुँदैछ । उनले सभापतिमा उम्मेदवारी दिने निर्णय लिइसकेका छन् । तर, पार्टीभित्रका प्रतिद्वन्द्वीको कसरी सामना गर्छन् ? चुनौतीको विषय बनेको छ ।
देउवाले सत्तारोहरण गरिरहँदा पार्टीभित्र पकड भने गुमाउँदै गएका छन् । उनलाई उपसभापति विमलेन्द्र निधिले साथ छाडेका छन् । निधि आफैले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । यो देउवाका लागि ठूलो धक्का हो । विशेषगरी मधेशमा निधि देउवाका मुख्य पिलर थिए । १३औं महाधिवेशनमा देउवालाई जिताउन निधिकै मुख्य भूमिका थियो ।
देउवाविरुद्ध रामचन्द्र पौडेल पक्षधर एक भएको सन्देशहरु प्रवाह भएको छ । चाक्सीबारीमा आज विहान भेला भएका पौडेल पक्षधर नेताहरुले अब महाधिवेशनका लागि अगाडि बढ्ने र सबै किसिमका विरोध स्थगित गर्ने निर्णय लिएको छ । पौडेल पक्षले पकडको लेखाजोखा गरेर यस्तो निर्णय लिएको विश्लेषण भइरहेको छ । अर्कोतर्फ, पौडेल पक्ष एकजुट भएमा देउवालाई सजिलो छैन ।
काँग्रेसको वडा अधिवेशन अगावै देउवाले मन्त्रिमण्डल विस्तार गर्दैछन् । त्यसमा कुन रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको व्यवस्थापन चुनौती बन्न सक्छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले आन्तरिक व्यवस्थापन गर्न नसके अर्को चुनौती बन्न सक्छ । मन्त्री बन्न नपाएकाहरु चिढिन सक्छन् । कतिपयले गुट परिवर्तन गर्ने सम्भावना पनि छ ।
देउवाले अघिल्लो महाधिवेशनमा विगतमा सुशील कोइराला पक्षमा लागेका केन्द्रीय र जिल्ला तहका नेताहरुलाई तान्न सकेका थिए । अहिले उनीहरुलाई पक्षमा टिकाएर राख्ने चुनौती देखिएको छ । उनले पौडेल पक्षमा विभाजन ल्याउन सके ठूलो सफलता हासिल गर्न सक्छन् । त्यो सम्भावना नभएको होइन र पौडेल पक्षमा उनीसहित, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु एकजुट बनेमा परिस्थित फरक हुन सक्छ । देउवालाई महाधिवेशन निकै कठिन बन्छ । तर, पार्टीभित्र आफ्ना विपक्षी समूह विभाजित भएमा देउवाले बाजी मार्नेछन् ।
देउवाको ठूलो भरोसा विजयकुमार गच्छेदार र सुनिलबहादुर थापा पनि हुन् । गच्छेदारको पार्टी काँग्रेसमा विलय भएर ठूलो संख्यामा प्रतिनिधि बनेका छन् । थापा पक्षधर पनि ठूलो संख्यामा क्रियाशील र प्रतिनिधि बनेका छन् । उनीहरुले साथ दिनेमा देउवा पक्ष ढुक्क छन् । तर, गच्छेदार पछिल्लो समय मौनप्रायः छन् । अख्तियारले मुद्दा दायर गरेपनि उनी समस्यामा परे । उनी अझै खुलेर कुन पक्षलाई साथ दिने खुलेका छैनन् । गच्छेदारको साथ पाएमा देउवा केही ढुक्क हुने अवस्था हुनसक्छ ।
पार्टीभित्र देउवाको शक्तिको परीक्षण अधिवेशनमा मात्र हुन्छ । उनका पक्षधर नेताहरुले गुट परिवर्तन नगरे र पौडेल पक्षका केही नेता तान्न सकेमा भने बलिया हुन्छन् । तर, काँग्रेसभित्र अधिकांश हस्तीहरु देउवा इतर समूहमा छन् । हेभिवेटहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत देउवाको पक्षमा छैनन् । विमलेन्द्रले साथ छाडिसके । काँग्रेसमा बलियो पकड भएका गगन थापा र प्रदीप पौडेल पनि देउवाको साथ छैनन् । चन्द्र भण्डारी, धनराज गुरुङ, रञ्जीत कर्ण जस्ता पछिल्लो पुस्ताका नेताहरु पनि देउवाविरोधी खेमामा छन् ।
अन्तर्राष्ट्रिय परिस्थिति देउवाको अनुकूल भएकाले नै प्रधानमन्त्री भएका हुन् । उनलाई पश्चिमाहरुको बलियो साथ रहेको चर्चा छ । तर, उत्तरी छिमेकी चीनको साथ देखिदैन । भारतीय पक्ष पनि पर्ख र हेरमा छ । देउवालाई बाह्य शक्तिले दिने साथले पनि उनको शक्तिमा फरक पर्न सक्छ ।
अहिले देउवाले एमाले र जसपा फुटेकाले काँग्रेसवृत्तमा प्रभावशाली बन्ने विषय पाएका छन् । उनकै रणनीतिमा यो सफल भएको सन्देश प्रवाह गराइरहेका छन् । तर, देउवा प्रधानमन्त्री बन्न तयार हुन समय लगाएको र ओलीसँग भित्री गठबन्धन लामो समयसम्म गरेको आरोप पौडेल पक्षको छ । पौडेल पक्षले पछिल्लो राजनीतिक घटनाक्रममा जस लिन खोजिरहेको छ । यसले पनि देउवाको शक्तिमा निकै तलमाथि पार्न सक्छ ।