Logo

आउँदो आमनिर्वाचनमा काँग्रेसको बहुमत आउला ?



काठमाडौं, १३ भदौ । नेपाली काँग्रेसको नेतृत्व यतिबेला निकै उत्साही छ । काँग्रेस जनतामाझ लोकप्रीय भएर जनताको भरोसा बढेरभन्दा पनि कम्युनिस्ट र मधेश केन्द्रित दलहरु फुटेर काँग्रेस नेताहरु उत्साही भएका हुन् । उनीहरु आउँदो आमनिर्वाचनमा बहुमत आउने दाबी समेत गर्न थालेका छन् ।

विगतमा पनि कम्युनिस्ट र मधेश केन्द्रित दलहरु विभाजित हुँदा काँग्रेसको स्थिति सुदृढ भएको थियो । यसपटक पनि त्यही इतिहास दोहोरिने आशामा काँग्रेस नेताहरुको बढी आशावादी देखिएका हुन् ।

गत चुनावमा कम्युनिस्टहरु एकजुट हुँदा काँग्रेसले निकै कमजोर चुनावी प्रदर्शन गरेको थियो । काँग्रेसको सुदृढ संगठन रहेको मधेशमा झन् कमजोर बन्न पुग्यो । अब स्थिति फरक हुनेमा नेताहरु आशावादी छन् । तर, काँग्रेसलाई अबको चुनाव झन् चुनौतीपूर्ण हुनसक्छ ।

नेकपा एमाले विभाजित भएपनि माधवकुमार नेपालले प्रभावशाली नेताहरुको साथ पाएनन् । सुदूरपश्चिममा प्रभावशाली भीम रावल, लुम्बिनीमा प्रभावशाली गोकर्ण बिष्ट, बागमतीमा प्रभावशाली अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेको नै साथ छुट्यो । स्वयं माधव नेपाल आफूलाई साथ दिनेहरुको अनुहार हेरेर खुशी छैनन् ।

२०५४ सालमा एमाले फुट्दा बामदेव गौतमको साथमा झण्डै ५० प्रतिशत केन्द्रीय सदस्य र त्यति नै संख्याका सांसद थिए । तर, माधव नेपालको साथमा २५ प्रतिशत सांसद मात्र रहे । केन्द्रीय सदस्य पनि ३० प्रतिशत मात्र छन् ।

ओलीसँग एमालेको बलियो संगठन सुरक्षित देखिएको छ । उनीसँग ३ वर्ष बहुमतको सरकारमा बसेको ऊर्जा छ । अर्कोतर्फ, नयाँ नयाँ एजेन्डा ल्याउन सक्ने र रणनीति बनाउनसक्ने खुबी ओलीमा छ । उनी अध्यक्ष भएर लडेको चुनावमा निकै सफलता हासिल गरेको रेकर्ड छ । ओलीले अबको चुनावमा धर्मको मुद्दासँगै मधेश केन्द्रित दल र राप्रपासँग गठबन्धन गर्न सक्ने सम्भावना छ । यो काँग्रेसका लागि ठूलो चुनौती बन्न सक्छ ।

मधेश केन्द्रित दलहरु विभाजित हुँदा उपेन्द्र यादवसँग मधेशबाट चुनाव लडेर प्रत्यक्षतर्फ जितेकाहरुको कम साथ देखिन्छ । विशेषगरी यादव समुदाय उनको साथमा छन् । अबको चुनावसम्म यादवलाई मधेशमा प्रभाव बनाएका नेताहरुको साथ जोगाउन मुश्किल देखिन्छ । अर्कोतर्फ, मधेशसँग नजिकको साइनो रहेको भारतीय पक्षले उपेन्द्र यादवलाई सिधै बेवास्ता गरेको छ । भाजपा विदेश विभाग प्रमुखले सबै दलका नेतालाई भेट्दा उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेनन् । यसले जनता समाजवादी पार्टीको राजनीति तरंगित भएको छ । मधेश केन्द्रित दलको नेतृत्व महन्थ ठाकुरले गर्ने संकेतहरु देखिएको छ । यो अवस्था रहेर मधेशका नेताहरु एकजुट भएमा काँग्रेसलाई ठूलो धक्का पर्न सक्छ ।

महन्थ ठाकुरको गठबन्धन केपी शर्मा ओलीसँग बन्न सक्छ । यसले सबैभन्दा ठूलो चुनौती काँग्रेसलाई पर्न सक्छ । त्यसैले काँग्रेस नेताहरुले भनेजस्तो कम्युनिस्ट र मधेश केन्द्रित दल फुटेकाले बहुमत आइहाल्न कठिन छ । काँग्रेस आफ्नो संगठन मजबुत बनाउन र गाउँ र नगरका वडासम्म बलियो बन्न नलागी अन्य दल र समूहको कमजोरीबाट फाइदा लिन हौसिदैमा चुनावमा सफलता हासिल गर्न सक्दैन । अर्कोतर्फ, पछिल्ला दुई दशकहरुमा काँग्रेस नेताहरु दुरदराजका जनताको भावना के हो भन्नेबारे अनविज्ञ जस्तै छन् । त्यसैले उनीहरुको एजेन्डा र नीति जनताको चाहनासँग मेल खाइरहेको देखिदैन । अर्को महत्वपूर्ण विषय काँग्रेससँग खास मुद्दा छैन जसले जनता उसलाई मत दिन आतुर होउन् ।



प्रतिक्रिया दिनुहोस्