काठमाडौं, भदौ १४ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले वाम–लोकतान्त्रिक गठबन्धनमा मन्त्रिपरिषद् विस्तारै हुन नसक्ने तहको जटिलता नरहेको दाबी गरेका छन् । आफ्नो पार्टीमा मन्त्री बनाउन कुनै समस्या नरहेको पनि उनले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “वाम–लोकतान्त्रिक गठबन्धनको आपसी सहमतिमै मन्त्रिपरिषद् विस्तार हुन्छ । जति विलम्ब भयो भयो, तर अब एक-दुई दिनभित्रै विस्तार हुन्छ । बाहिर हल्ला चलेजस्तो विस्तारै हुन नसक्ने जटिलता छैन । अड्किने तहको समस्या पनि छैन ।”
नेता गुरुङले पार्टीभित्र मन्त्रीका आकांक्षी थुप्रै भए पनि त्यसलाई मापदण्डका आधारमा व्यवस्थित गरिने बताए । उनले भने, “स्थायी समिति बैठकमा मन्त्री बन्ने मापदण्ड बनेका छन् । तिनै आधारमा बनाउने भन्ने छ । हामीले कति सिट पाउँछौं, त्यस आधारमा सकेसम्म सबै प्रदेशलाई समेट्ने, समानुपातिक र समावेशी बनाउने र नयाँ साथीलाई पनि प्राथमिकता दिने भन्ने छ । तर यसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि कम्फर्टेवल हुनुपर्यो । त्यसलाई विचार गरेर काम हुन्छ ।”
आज बेपत्ता दिवस भएको सन्दर्भ निकाल्दै पत्रकार धमलाले संक्रमणकालीन न्यायका कुरा कहाँ पुग्यो भनी सोधेको प्रश्नमा उनले विगतमा प्रधानमन्त्री रहेका केपी ओली शान्ति प्रक्रियामा इमानदार नदेखिँदा समस्या आएको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोगका क्षेत्राधिकारका विषयमा अलमल हुँदा पनि शान्ति प्रक्रियाका मुद्दा टुंगिन नसकेको दाबी गरे । उनले भने, “सैद्धान्तिक र नीतिगत रुपमा केही काम भएका छन् । तर कानुन मस्यौदामा ओली पोजेटिभ हुन नसक्दा अड्केको अड्क्यै भयो । अब नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका दलहरुबीचको सहमतिमै सबै कुरा टुंग्याउने प्रयासमा छौं ।”