Logo

७० वर्षको मापदण्ड सम्झाउँदै झलनाथ खनालले भनेः म पालना गर्छु, अन्य नेताले पनि ध्यान दिनुहोस्



काठमाडौं, १४ भदौ । नेकपा एकीकृत समाजवादीका संस्थापक नेता झलनाथ खनालले ७० वर्ष नाघेकाले कार्यकारी पदको दाबी नगर्ने अठोट सुनाएका छन् । स्वास्थ्योपचारपछि आज स्वदेश फर्किएका उनले विमानस्थलमा पत्रकारमाझ बोल्दै आफैले ७० वर्षको मापदण्ड ल्याएकाले त्यसको पालना गर्ने बताए ।

बारम्बार आफू ७० कटेको सुनाएका खनालले भने, ‘मलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार छैन ।’ तर, पार्टीले जिम्मेवारी दिएमा ठाउँ राखेको बताए ।

खनालले भने, पार्टीले के दिन्छ र गर भन्छ गर्छ भन्छ के जिम्मेवारी दिन्छ ठाउँ राखेको छु । आफूले नवौं महाधिवेशन आयोजना गर्दा नेकपा एमालेको अध्यक्षका रुपमा विधानमै ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पद र नेतृत्वमा नरहने मापदण्ड पारित गराएको स्मरण गराए । विधानमा मापदण्ड पास गर्ने मुख्य नेता आफै नै भएको बताउँदै भने, ‘म त्यो मापदण्ड दृढतापूर्वक पालना गरेर जान्छु ।’

७० नाघेका नेतालाई पनि मापदण्ड पालना गर्न आग्रह गरे । उनको स्पष्ट संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ थियो । उनले भने, ‘अन्य नेतालाई पनि यो कुरा ध्यानमा राख्नुहोस् भन्छु ।’

 



प्रतिक्रिया दिनुहोस्