काठमाडौं, १६ भदौ । आक्रामक रणनीतिका कारण विपक्षीमाथि हाबी हुनेगरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला ठूलो चुनौती भोगिरहेका छन् । उनले पाँच पूर्वप्रधानमन्त्री र पाँचवटा दलको एकसाथ सामना गरिरहेका छन् ।
आफूविरुद्ध विरोधी आक्रामक बनेपछि ओलीले प्रधानमन्त्री पद गुमाए । त्यसअघि गण्डकी प्रदेशमा उनीनिकट पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढल्यो । ओली सरकार ढलेको एक महिनामै शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो ।
अहिले एमाले विभाजन भई बनेको नेकपा एसका कारण बागमती प्रदेश र प्रदेश नं १ मा सरकार ढल्दैछ । जताततै एमाले नेतृत्वको सरकार ढलेपछि ओली नयाँ रणनीतिका साथ विरोधीसँग भिड्न बढेका छन् ।
ओलीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । वारेसनामामार्फत् दायर रिटमा निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटाल र नेकपा एसलाई विपक्षी बनाइएको छ । एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध, कारबाही गरिएका १४ सांसदको सनाखतबाट एमाले विभाजनलाई सदर गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र ती सांसदको नाम लिएर दल दर्ता गरेको भन्दै नेकपा एसविरुद्ध निवेदन दर्ता गरेको हो । रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ ।
यसअघि नै एमालेले लुम्बिनी प्रदेशका २ सांसदविरुद्ध रिट दायर गरेको थियो । जसमा विमलाकुमारी खत्री वली र अजय शाही सुर्य चिन्हबाट उम्मेदवार बनेर दल त्याग गरेकाले कारबाही गरी लेखी पठाउँदा लुम्बिनी प्रदेशसभाले सदर नगरेको उल्लेख छ । उनीहरुलाई सांसदबाट पदमुक्त गर्न माग गरिएको छ ।
नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली अदालत बढ्दै गर्दा धेरैले विगतको स्मरण गर्न थालेका छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा उनी र निकटस्थ मुख्यमन्त्रीहरुले चालेको कदमले विपक्षी अदालत पुगेका थिए । अहिले सत्तापक्षमा तीनै विपक्षी देखिएका छन् । ओली विपक्षमा पुगेपछि अदालततिर बढेका छन् ।
यसैगरी, सत्ता गठबन्धन भत्काउने गरी ओलीले नयाँ रणनीति बनाएका छन् । गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका लागि वाध्यकारी अवस्था सृजना गरी आफूसँग मिल्नैपर्ने बनाउन खोजेका छन् । त्यसमा ओली सफल हुनसक्ने पनि देखिदै गएको छ । ओलीले फेरि नयाँ रणनीतिमार्फत् विरोधीलाई अप्ठ्यारोमा पारिरहेका छन् ।