Logo

कांग्रेसमा लेबी उठाउनै समस्या



काठमाडौं, भदौ १८ । सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो।

परिपत्रमार्फत तत्काल लेबी बुझाउन ताकेता गरिएको थियो। परिपत्रमा लेबी नबुझाएको व्यक्ति पार्टीको १४औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार हुन नसक्नेसमेत उल्लेख गरिएको छ। लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

‘लेबी नुबझाउने व्यक्तिले पार्टीको कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था नियमावलीले गरेको छ। हामीले पनि पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि अझैसम्म पूरा लेबी उठ्न सकेको छैन।’ कति संख्यामा लेबी उठ्न सकेन भन्नेबारे हिसाब हुन बाँकी रहेको पनि उनले बताए। ‘कुनकुनबाट लेबी उठ्यो, कहाँबाट उठेन, त्यो हिसाब गर्न बाँकी छ। तर उठ्नुपर्ने लेबी उठ्न सकेको छैन,’ उनले भने। नेपाली कांग्रेस रोल्पा जिल्ला समितिका अध्यक्ष अमर पुनले लेबी उठ्नै नसकेको बताए। उनले भने, ‘अहिलेसम्म रोल्पाबाट एक रूपैयाँ पनि लेबी उठेको छैन।’

कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७६ असार २९ गते बसेको बैठकले नियमावली पारित गरेको थियो। उक्त नियमावली २०७६ साउन १ गतेबाट लागु भएको थियो। नियमावलीमा सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनीत वा नियुक्त भएका पार्टीसम्बद्ध व्यक्तिले मासिक शुल्क ९लेबी० बुझाउनुपर्ने व्यवस्था गरिएको छ। नियमावली पास भएपछि केन्द्रीय कार्यालयले पहिलोपटक २०७७ माघ २० गते ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो। त्यसपछि पनि लेबीका लागि पटकपटक ताकेता गरिएको जनाइएको छ। नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्