Logo

“सीमा विवाद अध्ययन कार्यदल बनाउने बित्तिकै दुई देशबीच दरार आयो भन्ने नेताहरु हुम्ला आउनोस्”



काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीनसँग सीमा विवाद सम्बन्धमा अध्ययन कार्यदल बनाउने बित्तिकै दुई देशबीच दरार आयो भन्ने नेताहरुलाई हुम्ला आएर अवलोकन गर्न आग्रह गरेका छन् । ठूला मुलुकले जे गरे पनि स्वीकानुपर्छ भन्नु दास मानसिकता भएको उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहीले भने, “हुन त मलाई दक्षिण र अमेरिकाको इसारामा चीनको सीमा विवाद उचालेको आरोप पनि लगाइरहेका छन् । चीन हाम्रो सबैभन्दा नजिकको छिमेकी हो । हामी पुर्खादेखि यहाँ बसिरहेका छौं । मेरो चुनाव क्षेत्र पनि यही हो । देशको पूर्वमन्त्री, कर्णाली प्रदेशको प्रतिपक्षी दलको नेता पनि रहिसकेको मानिसले त्यत्तिकै बोल्न मिल्छ र ? तर सीमा मिचिएको टुलुटुलु हेर्न सकिन्न । मैले मित्रराष्ट्रले अनावश्यक लान्छना लगाएको रहेछु या गल्ती गरेको रहेछु भने म जुनसुकै सजाय भोग्न तयार छु । तर म एक थोपा रगत रहेसम्म आफ्नो भूमिका निम्ति लडिरहन्छु ।”
उनले बेइजिङ वा काठमाडौंमा बसेर हुम्लाको सिमानाको कुरा थाहा नहुने पनि बताए । कार्यदल बनेपछि चीनसँगको सम्बन्ध चिसिँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “हामीले यथार्थ प्रतिवेदन दिँदा पनि सरकारले वास्ता पनि गरेन । उल्टै तत्कालीन परराष्ट्रमन्त्रीले कुनै सीमा विवाद नभएको हचुवामै बताए । सीमा विवाद अध्ययन कार्यदल बन्ने बित्तिकै विवाद सिर्जना गर्ने होइन, सत्य तथ्य प्रमाणित हुने हो । कुनै पनि देशका विषयमा बोल्नै हुन्न, समस्या समाधान हुनैहुन्न भन्नु त दास मानसिकता हो ।”
प्रत्येक १०-१० वर्षमा हुनुपर्ने सीमा पुनरावलोकन नभएकाले पनि समस्या आएको उनले बताए । उनले भने, “कार्यदल बन्नु भनेको त समस्या समाधान गर्ने प्रयत्न हो । सत्य तथ्य कुरा आउँदा दरार होइन, दुई देशको सम्बन्ध सुमधुर हुन्छ । के कति कमीकमजोरी भएको छ भन्ने थाहा हुन्छ । म चीनसँग सीमा विवाद छैन भन्ने नेताहरुलाई हुम्लाको लिमी आउन अनुरोध गर्दछु । बरु हेलिकोप्टरको व्यवस्था मै गर्छु । यही ठाउँमा आउनुस्, हेर्नोस् तर हचुवामा वक्तव्यवाजी नगर्नोस् ।”
नेता शाहीले कार्यदल बनाएकामा सरकारलाई धन्यवाद पनि दिए । उनले थपे, “यो मेरो व्यक्तिगत मागभन्दा पनि जनताको माग हो । यसबारे तत्कालीन सरकारलाई ज्ञापनपत्र बुझाएका थियौं । यसले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनुको साथै  आगामी दिनमा त्यस्ता समस्या नआउने विश्वास लिएको छु ।”

कार्यक्रममा उनले आफू जिल्ला विकास समितिको सभापति हुँदा खनेको दुई किलोमिटर बाटो, दस मिटर क्षेत्रका कतिपय पिलर चीनतिर परेको र १२ नम्बर पिलर एकपक्षीय रुपमा बनाएको सुनाए । उनले भने, “हाम्रो तर्फको सडक उता परेको छ । कतिपय ठाउँमा तारबार लगाएको छ । यो मेरो नांगो आँखाले देखेका कुरा हुन् । नभएको कुरालाई बनाएको होइन ।”



प्रतिक्रिया दिनुहोस्