Logo

माधव नेपालसँग बामदेव यसकारण रुष्ट



काठमाडौं, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तर साथ र सहयोग दिदे आए । अहिलेसम्म नेकपा एसमा प्रवेश नगरेपनि गौतम उक्त पार्टी निर्माण गर्दाका एक योजनाकार पनि हुन् ।

माधव नेपालले चालेको कदमहरुलाई पछिल्लो समय साथ दिने क्रममा गौतमले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा बोले । उनले आफूनिकट सांसदहरुलाई मत दिने अवस्था पनि बनाए ।

एकता अभियानमा रहेका आफ्ना निकटस्थमाझ उनले बोल्दै माधव नेपालको पक्षमा जाने घोषणा पनि गरे । उनी माधव नेपाल पक्षमा जान ठिक्क परिसक्दा अहिले रोकिएका छन् । नेपालसँग गौतमको विभिन्न चरणमा कुराकानी भएपनि सहमतिको साटो विमति बढ्न थालेको छ ।

नेकपा एसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादको साथै जनताको बहुदलीय जनवाद हुनुपर्छ भन्ने शर्त गौतमले राखेका छन् । नेकपा एसले समाजवादलाई मार्गदर्शक सिद्धान्त बनाएको छ । गौतमले जबजमा अडान लिएका छन् । यही विषयमा गौतम माधव नेपालसँग रुष्ट बनेका छन् । नेपालले जबज छाडेको उनको निष्कर्ष छ । त्यसैले नेकपा एसमा गौतम नजाने लगभग निश्चित भएको छ ।

नेकपा एसमा जान मागदर्शन सिद्धान्त जबज हुनुपर्ने शर्तबारे गौतमले सचिवालयमार्फत् स्पष्ट पारेका छन् । त्यसबाहेक सरकारमा सहभागिताको विषय पनि उठेको छ । तर, गौतमले यसको खण्डन गर्दै शक्तिका बारे अन्य शर्त नराखेको बताएका छन् । उनले सहअध्यक्षका अलावा उपप्रधानमन्त्री मागेको विषय प्रचारमा आएको छ । विकल्पमा आफूनिकटस्थहरुलाई मन्त्री बनाउने सम्मको शर्त राखेको विषय पनि आएको छ । तर, गौतमले त्यसको खण्डन गरेका छन् ।

पछिल्लो समय माधव नेपालसँग रुष्ट भएका गौतम एमालेमै रहने सम्भावना बढेको छ । तर, उनी ओली अध्यक्ष होउञ्जेल बैठकमा समेत नजाने रणनीति बनाएर बस्ने बुझिएको छ । माधव नेपालसँग जबजको विषयमा कुरा मिलेमा भने उनी नेकपा एसमा जाने सम्भावना छ । तर, जबजबाट नेपाल अगाडि बढिसकेका छन् । झलनाथ खनालले पनि स्पष्ट रुपमा समाजवाद लक्ष्य भनी एयरपोर्टमै बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्