काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले तीनचार दिनभित्र सबै जिल्लामा वडा अधिवेशन सम्पन्न हुने दाबी गरेका छन् । महाधिवेशनको प्रक्रिया सुरु भएकाले देशभरिका कार्यकर्तामा उत्साह छाएको उनले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै वरिष्ठ अधिवक्ता घिमिरेले भने, “भदौ २७ गतेको पालिकास्तर निर्वाचन छ । त्यसभन्दा अघि सबै विवाद मिलाएर वडा अधिवेशन सम्पन्न हुन्छ भन्ने हामीलाई विश्वास छ ।”
उनका अनुसार केन्द्रीय समितिले कांग्रेसका ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली निर्वाचन समितिलाई दिएको छ । हिजो ४० जिल्लामा वडा अधिवेशन भएको छ भने आज मुस्ताङ र झापामा वडा अधिवेशन छ । २१ गते १२ जिल्लामा हुने तालिका छ ।
बाँकी २१ जिल्लामा रहेका झीनामसिना विवाद केही दिनमै किनारा लाग्ने घिमिरेले बताए । निर्वाचन समितिले निष्पक्षतापूर्वक काम गर्ने र त्यसमा चित्त नबुझे उजुरीका आधारमा छानबिन हुने पनि उनको भनाइ छ ।