Logo

के ईश्वरको अतीत हुन्छ !



डा. पद्म देवकोटा : हाम्रो ईश्वरको अवधारणाले गर्दा ऊ छ भन्न मिल्छ । ऊ थियो भन्न मिल्दैन । ऊ हुनेछ भन्न पनि मिल्दैन । ऊ र हुनुको बीचमा करोडौं विशेषण थुपारे पनि वर्तमानबाट उसलाई हटाउनासाथ उसको अस्तित्व रहँदैन ।

स्वभावैले नयाँ नयाँ संभावना खोज्दै हिंड्ने कल्पनाले जब नयाँ विश्व रच्न थाल्छ तब असंभव संभव हुन थाल्छ, ईश्वरको पनि अतीत र भविष्य निर्माण हुन थाल्छ । तब त सबैले भन्ने मौका पाएका छन्, “ईश्वर कल्पनाको अंश हो ।”

यो पनि यौटा सत्य बन्न गएको छ । अनि अस्पष्टता पैदा हुन्छ । ईश्वर यौटै छ भनेको त दुईवटा रहेछन् । यौटा जो छ, अर्को जो थियो र हुनेछ । यो दोस्रो ईश्वर मानव कल्पनाको आडमा स्थापित छ ।

पहिलोलाई कुनै विशेषणले छुनासाथ परिवर्तित रूप लिने भएकोले निराकार भनेर दोस्रोलाई साकार भनेको हुनुपर्छ । यौटाको इतिहास छैन, अर्कोको कथा छ । दोस्रोले मानवसंसारमा आएर नाटक गर्छ वा आफ्नै लोकमा बसेर घटना संपादन गर्छ । प्रकट हुन्छ र “तथास्तु” भन्छ, रिसाउँछ, खुसाउँछ, सेवा गर्छ, सेवा माग्छ । यसैका बारेमा ठुला ठुला ग्रन्थ रचिन्छन् । अनि ती रचिएका ग्रन्थ इतिहास हुन् भनेर मानव भूगोलमा निर्मित प्रमाण भोलिका पुस्ताहरूका लागि छाडिन्छन् जसले गर्दा ती आगामी पुस्ताले आस्था नगुमाउन् ।

हामीलाई लाग्छ, धार्मिक इतिहासको सिलसिलामा पुर्खाले झुट बोल्न वा गल्ती गर्न सक्दैन, तर त्यही पुर्खाले राजनीतिक, सामाजिक, साहित्यिक वा अन्य इतिहासमा गल्ती गर्न सक्छ । यस्तो कसरी हुन्छ र भनेर हामीले प्रश्न गर्न मिल्दैन । त्यसैले हामी पुर्खाका धार्मिक अभिव्यक्तिप्रति विश्वस्त छौं किनभने हामीलाई यस क्षेत्रमा प्रश्न नगर्न सिकाइएको छ । अथवा गरे पनि शास्त्रअनुरूपका निष्कर्ष निकाले मात्र हाम्रो सोच ठीक हो भनेर ठम्याउने बहुसंख्याका बीचमा उभिएका छौं ।

उनीहरूले बताए अनुसार साकार ईश्वरको अतीत पनि छ र वर्तमान र भविष्यमा पनि स्थान निश्चित छ । ऊ अब समयभन्दा पर नरहेर मयभित्र टुक्रिएर आउँछ र हामी त्यस रूपलाई अवतार भनेर पूजा गर्छौं । हामी जसलाई पूजा गर्छौं त्यो हाम्रै कल्पनाको उपज हो । हामी जो छ भन्छौ, त्यसका बारेमा हामीलाई केही पनि थाहा छैन ।

तर अमरत्व अवधारणागत हिसावले अपरिवर्तनीय छ भन्ने मेरो बुझाइलाई शास्त्रका पन्नापन्नाबाट शंखनाद उठ्छ । त्यस ध्वनिसँगै प्रतिप्रश्न गुञ्जिन्छ, “ईश्वरको इच्छाले के संभव छैन ?” हो, निराकार साकार बन्न सक्छ भने ईश्वरको पनि अतीत संभव छ । तर निराकारलाई साकार बन्न पर्ने आवश्यकता केले जन्मायो ? ईश्वरेच्छाले ?  अनि इच्छा आफैंमा कुनै अभावको संकेतक हो कि हैन ? यदि हो भने ईश्वरलाई केको अभाव रहेछ होला ? तर आर्ष कल्पनाको निम्ति के असंभव छ र ?

मेरो कल्पनाको निम्ति पो असंभव कुरा धेरै छन् । जस्तो कि मेरो कल्पनाले मेरो देहलाई चराले जस्तो उड्ने बनाउन सक्दैन । सक्छ त त्यसरी उड्न आवश्यक साधन निर्माण गर्न गणित र भौतिकशास्त्रका आधार लिएर मात्र । म हनुमान हैन वाल्मीकिको कल्पनाले “उड् !” भनेपछि लंका पुग्ने ! म मानिस हूँ जसलाई कल्पनाले विना बाह्य आधार उडाउन सक्दैन, तर जसले आफ्नो कल्पनालाई उडाउन र अनेकौं ठाउँमा पुर्याउन सक्छ ।

यसैले त म सोध्दै छु— के ईश्वरको अतीत हुन्छ ? मान्यताप्राप्त परिभाषा अनुसार ईश्वरको अतीत संभव छैन किनभने ऊ अनन्त छ, अमर छ, अविनाशी छ । अतीत, वर्तमान र भविष्य हुनु टुक्रिनु हो, विनाश हुनु हो । तर हामीलाई त्यस्तै अतीतसहितको ईश्वर चाहिएको छ । ईश्वर मूलपात्र भएको कथा चाहिएको छ जसको कथनले हृदय रसाओस् र विश्वास पलाओस् । हाम्रा पुर्खाले यो कुरा बुझेर हामीलाई उत्कृष्ट कल्पनाका उपज छोडेर गएका छन् जसबाट हाम्रो जीवन र हाम्रो अस्तित्व अविच्छिन्न छ ।

शायद यही नै बेस होला— तर बुझेर मात्र । किनभने ईश्वरको अतीत हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ सबैले आफैंले यौटा टुंगोमा पुर्याउनु अत्यन्तै आवश्यक छ । नत्र कथाका ईश्वरले कथामै जीवन लट्पटाइदिन्छन् । कथाबाहिरको ईश्वरको खोजी मानिसले धर्ममार्फत् मात्र हैन, अन्य सबै ज्ञानका स्रोतका आधार लिएर गर्न सक्छन् ।

धार्मिक ग्रन्थमार्फत् ईश्वर पाएको अनुभव हुन्छ, तर अन्तरात्माको खोजद्वारा बढी सफलता मिल्ने संभावना धेरै ठुलो छ । त्यसैले सनातनले पनि भनिरहेछ— “आफैभित्र खोज ।” हरेकको निष्कर्ष उसकै निम्ति ठीक हो । निराकारको विषयमा भने न हामीलाई केही थाहा छ, न थाहा नै हुनेछ । त्यसैले कि त्यो छ भनेर बसौं, कि छैन भनेर बसौं । कुरा यौटै हो । 



प्रतिक्रिया दिनुहोस्